कृषि क्षेत्रमा वैदेशिक लगानीको किन हुँदैछ विरोध ? – Nepal Press

कृषि क्षेत्रमा वैदेशिक लगानीको किन हुँदैछ विरोध ?

काठमाडौं । सरकारले कृषि क्षेत्रमा वैदेशिक लगानी खोलेसँगै विरोधका स्वरहरू सुनिएका छन् । केही कृषि उद्योगी तथा किसानहरूले चरणबद्ध आन्दोलनसमेत गरिरहेका छन् जसको सुनुवाइ सरकारले गरेको छैन ।

त्यसो त नेपालको कृषि क्षेत्रमा विदेशी लगानी आउन थालेको २९ वर्ष भयो । दुई वर्ष अगाडि रोकिएको थियो, जुन अहिले खुला गरिएको हो । उद्योग विभागको तथ्यांकअनुसार २९ वर्षमा नेपालको कृषि क्षेत्रमा ३६ देशबाट २९० वटा उद्योगमा साढे ७ अर्ब लगानी भएको छ । अहिले सरकारले कृषिमा ५० करोड रुपैयाँभन्दा बढीका विदेशी लगानी खुला गर्ने निर्णय गरेको हो । सरकारको निर्णयअनुसार नयाँ उद्योगले ७५ प्रतिशत वस्तु निकासी गर्नुपर्नेछ ।

कहाँबाट कति लगानी ?

उद्योग विभागको तथ्यांकअनुसार विश्वभरका विभिन्न ३६ वटा देशबाट कृषि तथा वन पैदावर क्षेत्रमा लगानी भित्रिएका छन् । ती देशबाट साना तथा मझौला उद्योगमा लगानी भित्रिएका हुन् । नेपालको कृषि क्षेत्रमा लगानी गरेका ३६ देशमध्ये सबैभन्दा बढी चीनबाट १०९ वटा उद्योग विभागमा दर्ता भएका छन् । यूरोपका १५ वटा देशबाट उल्लेख्य लगानी आएको छ । ती १५ देशमा फिनल्याण्ड, नर्वे, स्विट्जरल्याण्ड, स्वीडेन, युक्रेन, फ्रान्स, जर्मनी, डेनमार्क, बेलायत, इटाली, रूस, बेल्जियम, स्पेन, नेदरल्याण्ड्स र स्लोभानिया छन् ।

चीन, टर्की, बंगलादेश, इरान, युएई, सिरिया, जापान, भारत, ताइवान, कोरिया, मलेशिया, सिंगापुर, फिलिपिन्स र उज्वेकिस्तानसहित १४ वटा मुलुकबाट लगानी आएको विभागको तथ्यांकमा रहेको छ । त्यस्तै अस्ट्रेलिया, न्यूजिल्याण्ड, अमेरिका, क्यानडा, दक्षिण अफ्रिका, आइसल्याण्ड र अर्जेन्टिनाबाट पनि लगानी आएको छ ।

दक्षिण कोरियाबाट ३० वटा, अमेरिकाबाट २८ वटा, जापानबाट १५ र भारतबाट १२ वटा कृषि तथा वन पैदावार उद्योगमा लगानी आएको छ । त्यस्तै, बेलायतबाट १० वटा, फ्रान्सबाट ९ वटा, जर्मनीबाट ८ वटा, नेदरल्याण्ड्सबाट ७ वटा, क्यानडाबाट ६ वटा, अस्ट्रेलियाबाट ५ वटा र डेनमार्कबाट चार वटा नेपालको कृषि उद्योगमा लगानी भित्रिएको छ । अन्य २२ देशका लगानीकर्ताबाट ४६ वटा कृषि उद्योग दर्ता भएको विभागले जानकारी दिएको छ ।

हालसम्म नेपालमा विभिन्न ३६ वटा देशबाट कुल ७ अर्ब ४३ करोड ८२ लाख रुपैयाँ लगानी आएको उद्योग विभागले जानकारी दिएको छ । २९० वटा उद्योगमा उक्त लगानी आएको हो ।

सबैभन्दा धेरै चीनबाट ४ अर्ब ९७ करोड रुपैयाँको लगानी आएको छ । चीनपछि भारतबाट ५८ करोड ९७ लाख, अमेरिकाबाट २५ करोड ८८ लाख, दक्षिण कोरियाबाट २४ करोड ९४ लाख, जापानबाट १२ करोड ४८ लाख, ताइवानबाट ११ करोड, युएईबाट नौ करोड ५५ लाख, फ्रान्सबाट आठ करोड ९४ लाख तथा डेनमार्कबाट ८ करोड ९० लाख रुपैयाँ बराबरको लगानी आएको छ ।

किन भयो विरोध ?

नेपाल उद्योग वाणिज्य महासंघका सदस्य तथा डेरी उद्योग संघका निवर्तमान अध्यक्ष अरनिको राजभण्डारीले नेपालको कृषि क्षेत्रमा सरकारले छलफलविना नै विदेशी लगानी ल्याउने निर्णय गरेर गल्ती गरेको बताए ।

उनले भने, ‘नेपाल अण्डा, कुखुराको मासु र दुग्धमा आत्मनिर्भर भइसकेको छ । अब माछालगायतका कृषिजन्य वस्तुमा आत्मनिर्भर हुने क्रममा रहेका बेला सरकारले एक्कासी कृषिमा विदेशी लगानी खुला गरेपछि नेपालीको लगानी जोखिममा परेको छ ।’

राजभण्डारीका अनुसार नेपालीहरूले कृषिजन्य उद्योगमा डेढ अर्ब (१ खर्ब ५० अर्ब) लगानी गरिसकेका छन् । नेपालीले गरेको लगानी जोखिममा पर्ने अवस्था आएकोले नेपाली उद्योगीहरूले विरोध गरेको उनले बताए ।

‘संसदले कृषिमा लगानी रोकेको थियो । तर अहिले आएर मन्त्रिपरिषद्ले कृषिमा लगानी खुला गरिदिएको छ । ६०१ जना सांसदले गरेको निर्णय मन्त्रिपरिषदले उल्टाउन मिल्छ ?’ उनले प्रश्न गरे ।

विदेशी लगानी आउँदा नेपालमा प्रविधि र मेसिनको प्रयोग हुन्छ । प्रविधिको बढी प्रयोग हुँदा नेपालमा बेरोजगार संख्या बढ्ने र युवाहरू विदेश पलायन हुनुपर्ने राजभण्डारी बताउँछन् । विदेशी कम्पनी स्थापना हुँदा पनि नेपालको भन्दा विदेशको नै कच्चा पदार्थ प्रयोग गरेर उत्पादन गर्ने भएकाले नेपालको उत्पादनले समेत बजार नपाउने उनको भनाइ छ ।

सरकार भन्छः विदेशी लगानी आवश्यक

कृषि मन्त्रालयका प्रवक्ता डा. श्रीराम घिमिरे भने नेपालको कृषि क्षेत्रमा विदेशी लगानी आवश्यक भएको बताउँछन् । निश्चित मापदण्ड र सीमा तोकेर लगानी खुला गरिएको यसले नकारात्मक प्रभाव नपर्ने उनको भनाइ छ ।

‘विदेशी लगानी खुला हुनु आफैंमा नराम्रो हैन । त्यसका पनि नीति, नियम र निर्देशिकाहरू हुन्छन् । मन्त्रालयले निर्देशिकामार्फत नेपालका साना कृषिलाई समस्यामा नपार्ने र नेपालका कृषि उद्योगहरू सञ्चालन भएको ठाउँमा उद्योग स्थापना गर्न नपाउने नियम बनाउनेछ’, उनले भने ।

नेपाली उद्योगीहरूले कृषिमा गरेको लगानीको संरक्षण गर्दै विदेशी लगानी नेपाल ल्याइने घिमिरे बताउँछन् । कृषिमा विदेशी लगानी आउनासाथ नेपालीले कृषिमा गरेको लगानी जोखिममा नपर्ने उनको भनाइ छ ।

अर्थविद् डा. चन्द्रमणि अधिकारीले नेपालको कृषि क्षेत्रमा लगानी खुला गर्दा कुन-कुन क्षेत्रमा लगानी गर्ने भन्ने प्रष्ट हुनुपर्ने बताए ।
उनले भने, ‘नेपालमा कृषिको कुन-कुन क्षेत्रमा विदेशी लगानी आवश्यक हो भनेर अध्ययन गरी आवश्यक भएको क्षेत्रमा प्रविधिसहित विदेशी लगानी भित्र्याउन सकिन्छ’, उनले भने ।

विश्व बजारलाई पनि हेरेर विदेशी लगानीकर्तालाई कृषि उद्योगमा लगानी गर्न दिनुपर्नेमा अधिकारीको जोड छ ।

‘विदेशीले लगानी गर्ने उद्योगमा नेपाली कृषिको सहभागिता, नेपालमा नयाँ प्रविधिको प्रयोग र कृषिको यो-यो क्षेत्रमा मात्रै लगानी गर्न पाउने भनेर शर्त राख्न आवश्यक छ’, उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर