नेकपा र सूर्य चिह्न दाबी गर्दै प्रचण्ड-माधव निर्वाचन आयोगमा


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र सूर्य चिह्न दाबी गर्दै विभाजित नेकपाका अध्यक्ष प्रचण्ड माधवकुमार नेपालसहितका नेताहरु निर्वाचन आयोग पुगेका छन् ।
प्रचण्ड माधव पक्षको केन्द्रीय कमिटी बैठकले राजनीतिक दल सम्बन्धी ऐनको दफा ४४ बमोजिम दलको मान्यता पाउन पत्रसहित जाने निर्णय गरेको थियो ।
आफूहरुसँग नेकपाको मौजुदा केन्द्रीय कमिटीको दुई तिहाई संख्या रहेकोले आधिकारिकता पाउनुपर्ने जिकिर प्रचण्ड-माधव पक्षको छ ।
आयोगले पुस ५ अघिको केन्द्रीय कमिटीलाई मान्यता दिएकोले सो कमिटीको बहुमत आफ्नो पक्षमा रहेको नेता लिलामणी पोखरेलले बताए ।
ऐनको उक्त दफामा दलको नाम, छाप, झण्डा वा चिह्न सम्बन्धी विवाद टुंगो लगाउनु त्यस्तो आधिकारिकता दाबी गर्ने दलको केन्द्रीय समितिको ४० प्रतिशत सदस्यले विवाद प्रारम्भ भएको ३० दिनभित्र आयोग समक्ष आधार तथा प्रमाण सहित दाबी पेश गर्नुपर्ने व्यवस्था छ ।
सोही व्यवस्थामा टेकेर प्रचण्ड-माधव पक्ष आयोग समक्ष गएको हो । यद्यपी विवाद प्रारम्भ भएको भने डेढ महिना पुगिसकेको छ । यसअघि नेकपाका दुवै पक्षले आ-आफ्नो निर्णय अद्यावधिक गर्न आयोगलाई पत्र पठाएकोमा दुवैको दाबी नपुग्ने निर्णय भएको थियो ।