१५ वर्षमा ५४ हजार हेक्टर खेत मासियो, भान्सामा भारतीय चामल – Nepal Press
शहरीकरणको प्रभाव

१५ वर्षमा ५४ हजार हेक्टर खेत मासियो, भान्सामा भारतीय चामल

विराटनगर । प्रदेश–१ मा पछिल्लो समय खेतीयोग्य जमीन बाँझो राख्ने, जथाभावी प्लटिङ र आवास निर्माण गर्नाले धानखेती हुने जमीनको क्षेत्रफल खुम्चिंदै गएको छ । जसका कारण धानको उत्पादनमा पनि प्रत्येक वर्ष कमी आउन थालेको छ ।

सन् २००५ मा प्रदेश–१ अन्तर्गतका १४ जिल्लामा ३ लाख ६६ हजार हेक्टरमा धानखेती हुँदै आएको थियो । धानको वार्षिक उत्पादन पनि १६ लाख ४७ हजार मेट्रिक टन थियो ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार १५ वर्षको अवधिमा ५४ हजार हेक्टर धानखेत मासिएर ३ लाख १२ हजार हेक्टरमा खुम्चिएको छ ।

साथै यो अवधिमा प्रदेश–१ का १४ जिल्लामा धानको उत्पादन घटेर ११ लाख ९८ हजार ७४१ मेट्रिक टनमा सीमित भएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको तथ्यांक छ ।

बर्खे र चैते धान गरी प्रदेश–१ मा ११ लाख ९८ हजार ७४१ टन धान उत्पादन हुने गरेको छ । तर अधिकांश प्रदेश–१ वासीले भारतबाट आयात गरिएको चामल उपभोग गर्ने गरेका छन् । जसका कारण वर्षेनि धान–चामल खरीदका लागि मात्रै करोडौं नेपाली रुपैयाँ विदेशिने गरेको छ ।

प्रदेश–१ का १४ वटै जिल्लामा धानखेती हुने गर्दछ । प्रदेश–१ ले अहिले पनि कुल धान उत्पादनमध्ये आफ्नो प्रदेशमा खपत गरेर बाँकी रहेको ३ हजार मेट्रिक टन धान हरेक वर्ष अन्यत्र निर्यात गर्दै आएको छ ।

प्रदेश–१ को कुल गार्हस्थ्य उत्पादनमा समग्र कृषि क्षेत्रको योगदान ३६ प्रतिशत छ । धानको मात्रै योगदान १९ प्रतिशत छ । प्रदेश–१ अन्न भण्डारका रूपमा पनि परिचित छ । प्रदेश–१ मा उत्पादन भएको धानले यस प्रदेशलाई बचाएर अन्य प्रदेशमा पनि निर्यात गर्दै आएको थियो ।

धानखेती हुँदै आएको जमीन मासिंदै जाँदा त्यस क्षेत्रमा लगाइँदै आएको धान पनि घट्दै गएको हो । विशेषगरी बसोबास क्षेत्रका लागि प्लटिङ गरेर खेतीयोग्य जमीन खण्डीकरण भइरहेको छ । त्यसका अलावा धानखेती मासेर तरकारी खेती, माछा पोखरी निर्माण गर्ने कार्य भएको छ ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता डा. राजेन्द्र उप्रतीले विशेषगरी बसोबास क्षेत्रका लागि प्लटिङ गरेर खेतीयोग्य जमीन खण्डीकरण भइरहेकाले ५४ हजार हेक्टर धान खेतीको क्षेत्रफल गुमेको बताए ।

उनले यो अवधिमा खासगरी तराईका धान खेतीको पकेट क्षेत्रका रूपमा रहेका जिल्ला सुनसरी, मोरङ र झापामा धानखेत मासिएर सबैभन्दा बढी मानवबस्ती विस्तार भएको बताए ।

मन्त्रालयको तथ्यांक अनुसार यो अवधिमा सुनसरी जिल्लामा सबैभन्दा बढी २७ प्रतिशत धानखेत मासिएको छ । १५ वर्षअघि सुनसरीमा ६१ हजार हेक्टरमा धान खेती हुँदै आएकोमा हाल ४५ हजार हेक्टरमा सीमित भएको छ ।
मोरङ जिल्लामा ९८ हजार हेक्टरमा हुँदै आएको धान खेती अहिले ८२ हजार हेक्टरमा सीमित भएको छ ।

त्यसैगरी झापामा ९२ हजार हेक्टरमा हुँदै आएको धान खेती घटेर ८३ हजार हेक्टरमा सीमित भएको छ । अन्य जिल्लाहरूमा पनि धान खेती हुने जग्गा मासिएको तथ्यांकले देखाएको छ ।

प्रदेश–१ का १४ वटै जिल्लामा धान खेती हुने गरेको छ ।

प्रदेशवासीको भान्सासम्म भारतीय चामल

अन्नभण्डारको रूपमा चिनिने प्रदेश–१ का अधिकांश प्रदेशवासीको भान्सामा भारतबाट आयात गरिएको चामल पाक्ने गरेको छ । धान–चामल खरीदका लागि वर्षेनि करोडौं रुपैयाँ बाहिरिने गरेको छ ।

प्रदेश–१ मा चालु आर्थिक वर्षको ६ महीनामै पूर्वी नेपालका मुख्य दुई नाका काँकडभिट्टा र रानीबाट १ अर्ब ५३ करोड २२ लाख १८ हजार ६७२ रुपैयाँको ३ करोड ५२ लाख ९१ हजार ६७४ केजी चामल नेपाल भित्रिएको छ ।
गएको आर्थिक वर्ष सो दुई नाकाबाट २ अर्ब ५० करोड बढी मूल्यको धान–चामल भारतबाट भित्रिएको थियो ।

मेची भन्सारबाट यो ६ महिनाको अवधिमा २० करोड ७२ लाख ३८ हजार ९५५ रुपैयाँको ४३ लाख ९० हजार १३९ केजी चामल नेपाल आयात भएको छ । भन्सार प्रमुख धु्रव विश्वकर्माले गएको आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको ६ महिनाको चामल नेपाल आयातको मात्रा बढेको बताए ।

त्यसैगरी रानी नाकाबाट चालु आर्थिक वर्षको ६ महीनामा १ अर्ब ३२ करोड ५९ लाख ७९ हजार ७१७ रुपैयाँको ३ करोड ९० लाख १५ हजार ३५ केजी चामल आयात भएको छ ।

गएको आर्थिक वर्षमा प्रदेश–१ का मुख्य दुई नाका काँकडभिट्टा र विराटनगरको रानीबाट ६ करोड ६३ लाख केजी धान–चामल भित्रिएको थियो ।

रानी नाकाबाट २ अर्ब २४ करोड मूल्यको ५ करोड केजी धान–चामल प्रदेश–१ मा भित्रिएको थियो । त्यसैगरी काँकडभिट्टा नाकाबाट सोही अवधिमा ५४ करोड २ लाख ४० हजार मूल्यको १ करोड ६३ लाख केजी धान–चामल भित्रिएको

भन्सार कार्यालयको तथ्यांक छ । कार्यालयका अनुसार यसबाहेक मकैै, कोदो र फापर पनि भित्रिएको छ ।

प्रदेश–१ को कुल गार्हस्थ्य उत्पादनमा धानको योगदान १९ प्रतिशत रहेको छ । समग्र कृषिले प्रदेश–१ को कुल गार्हस्थ्य उत्पादनमा ३६ प्रतिशत योगदान दिएको तथ्यांक छ ।

प्रदेश–१ मा प्रतिव्यक्ति वार्षिक १९१ केजी खाद्यान्न खपत हुने गरेको तथ्यांक छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *