२ करोड लगानीमा बाख्रा फार्म खोल्दै कर्णालीकी सांसद – Nepal Press

२ करोड लगानीमा बाख्रा फार्म खोल्दै कर्णालीकी सांसद

सुर्खेत । कर्णाली सरकारको कृषि तथा पशुपालनमा आधुनिकीकरणको नीति प्रदेश सांसदले नै कार्यान्वयन गर्न लागेकी छन् । कर्णाली प्रदेशसभा सांसद पद्मा खड्काले अन्य चार साझेदारहरुसँग मिलेर झण्डै २ करोड लगानीमा बाख्रा फार्म सन्चालन गर्न लागेकी छन् ।

४० वर्षीय सांसदको टोलीले वीरेन्द्रनगर नगरपालिका वडा नं. १३ मा रहेको नयाँ गाउँमा १ सय रोपनीभन्दा बढी जग्गा खरिदमै १ करोड २५ लाख रुपैयाँ खर्चिएको छ । फार्मका व्यवस्थापक दुर्गाप्रसाद पौडेलका अनुसार वाख्राको खोर बनाउने कार्य अन्तिम चरणमा पुगेको छ ।

खोरसम्म जानका लागि वडा कार्यालयसँग कम्पनीले साझेदारी गरेर पहुँचमार्ग विस्तार गरेको छ भने वाख्राका लागि पानी ट्यांकी निर्माण भइरहेको छ ।

‘बारीमा डालेघाँसका विरुवा रोपेका छौं । वीस बाख्रा खरिद गरिसकेका छौं । आफ्नो जग्गामा तारबार लगाउने काम सुरु भएको छ भने करिब ६०० वाख्रा अट्ने खोर निर्माण अन्तिम चरणमा पुगेको छ ।’ उनले भने, अब हामीले बोयर, खरी जातका वाख्रा पाल्नेछौं ।’

‘हामीले कृषि क्षेत्रबाट मनग्य आम्दानी पाइरहेको विभिन्न क्षेत्रमा अनुगमनका क्रममा देख्यौं । कृषि तथा पशुपालनबाट आर्थिक समृद्धि हुने देखेकैले फार्म खोल्ने निर्णय गरेका हौं,’ सांसद खड्काले भनिन्, ‘अहिले करिब दुइ करोडको लगानीबाट फर्म सुरु गर्ने तयारी गरेका छौं । दश जना भन्दा बढी युवालाई रोजगारी दिनेछौं ।’

उनले आफूले राजनीतिलाई सेवाको रुपमा लिइरहेको बताइन । ‘म राजनीतिलाई सेवाको रुपमा लिन्छु । आर्थिक उपार्जनका लागि व्यवसाय सुरु गरेका हौं । सबैको लगानीबाट साझा रुपमा कम्पनी सञ्चालन गरेर त्यसबाट भएको आम्दानी समाजसेवामै खर्च हुनेछ,’ उनले थपिन्, ‘राज्यबाट नै सबै सेवा पाउनुपर्छ भन्ने मान्यता मेरो छैन । राज्यलाई म के दिन सक्छु भन्नेमा म लागिरहेको छु ।’

उनले टिमुर खेती, कागती खेतीको योजना पनि बनिरहेको दावी गरिन् । ‘हामीले थप जग्गा खरिद गरेर टिमुर र कागती खेती गर्ने योजना बनाएका छौं,’ आफूले खरिद गरेको बारी देखाउँदै सांसद खड्काले नेपाल प्रेसलाई भनिन्, ‘सबैको सहकार्यमा काम गरेको खण्डमा कसो सफलता नमिल्ला र ?’ नेपालमा कृषि क्षेत्रमा अपार सम्भावना भएको आफूले देखेको बताउँदै कृषि क्षेत्रको व्यावसायीकरणबाट मात्रै कर्णालीलाई समृद्ध बनाउन सकिने धारणा राखिन ।

‘हामीले यहाँ छरेको खेती पर्याप्त हुन्छ । गोडमेल गरेर व्यवस्थित रुपमा लगाए झन कति फल्ला ?,’ उनले भनिन्, ‘त्यसैले लगानी जुटाएर यो व्यवसायमा हात हालेका छौं । यसबाट मनगय आम्दानी हुनेमा कुनै द्विविधा छैन ।’ उनले फर्ममा दक्ष जनशक्ति राख्ने बताइन । थपिन्, ‘वाख्राका लागि आवश्यक पर्ने सबै सामाग्री तथा जनशत्तिःको व्यवस्था गरिसकेका छौं । त्यसबाट यस क्षेत्रमा रहेका अन्य नागरिकलाई पनि सेवा प्रदान गर्ने खालको योजना बनाएका छौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर