कांग्रेसले मोही माग्ने ढुङ्ग्रो लुकाउने गर्नहुँदैन: रामचन्द्र पौडेल – Nepal Press

कांग्रेसले मोही माग्ने ढुङ्ग्रो लुकाउने गर्नहुँदैन: रामचन्द्र पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीले मोही माग्ने ढुङ्ग्रो लुकाउने गर्न नहुने बताएका छन् ।

कांग्रेसका विभिन्न भातृ संस्थाद्वारा आज यहाँ आयोजित सभालाई सम्बोधन गर्दै उनले संसद् विघटनको घटनामा कांग्रेसले एकढिक्का भएर विरोधका आवाज राख्नुपर्छ बताए ।

‘संसद् विघटन असंवैधानिक छ भनेर कांग्रेसले भनिसकेकाले यसको उपचार पनि कांग्रेसले खुलेर भन्नुपर्छ, मोही माग्ने ढुङ्ग्रो लुकाउने गर्न हुदैन ’, उनले भने ‘प्रतिनिधिसभाको पुनःस्थापना भएर मात्रै लोकतन्त्र र संविधान सही गतिमा आउँछ ।’

जनताले प्रतिनिधिसभालाई पाँच वर्षका लागि चुनेकाले प्रतिनिधिसभाको म्याद पाँच वर्ष नै हुनुपर्ने पौडेलले जिकिर गरे । ‘प्रतिनिधिसभा पुनःस्थापन भएपछि मात्रै कांग्रेसको मन्तव्य र गन्तव्य प्रष्ट हुन्छ’ उनले भने , ‘कांग्रेसको मन्तव्य यो कार्य अवैधानिक हो भनेर भन्ने र गन्तव्य भनेको वैधानिक बनाउने नै हो’,

वरिष्ठ नेता पौडेलले सर्वोच्च अदालतबाट संसद् पुनःस्थापना हुने विश्वास व्यक्त गरे । ‘सर्वोच्च अदालतले न्यायका पक्षमा फैसला गर्ने हुनाले कांग्रेस निर्णायक सङ्घर्षमा पुगेको छैन, हामी निर्णायक सङ्घर्षमा पुग्न नपरोस्’, उनले भने ‘अदालतप्रति आशा र विश्वास छ ।’

लोकतन्त्रको सिद्धान्तमाथि पटकपटक आक्रमण भइरहेको चर्चा गर्दै उनले नेताहरुको महत्वाकाङ्क्षाका कारण संसद् भङ्ग हुने गरेको इतिहास रहेको दाबी गरे।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर