निर्वाचन आयोगलाई पूर्वप्रमुख आयुक्तहरुको सुझाव: दलको विवाद सुल्झाउँदै निर्वाचनको तयारी गरौं – Nepal Press

निर्वाचन आयोगलाई पूर्वप्रमुख आयुक्तहरुको सुझाव: दलको विवाद सुल्झाउँदै निर्वाचनको तयारी गरौं

काठमाडौं । निर्वाचन तयारीका लागि निर्वाचन आयोगले पूर्वप्रमुख आयुक्तहरुसँग छलफल गरेको छ । आयोगले सोमबार निर्वाचन तयारीको सम्बन्धमा आयोगका पूर्वप्रमुख आयुक्तहरुसँग छलफल गरेको हो ।

छलफलमा पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले अहिले देशमा राजनीतिक मुद्दाले समस्या परेको र त्यसको समाधान राजनीतिक दलहरुसँग नै भएकोले निर्वाचन आयोगलाई कुनै राजनीतिक दलले अप्ठ्यारो पार्नु नहुने बताए । राजनीतिक निकास हुनासाथ चुनाव गर्न निर्वाचन आयोग प्राविधिक रुपमा तयार हुनुपर्ने उनको भनाइ छ ।

पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले राजनीतिक समस्या राजनीतिक दलहरुले सुल्झाउनुपर्ने र आयोगले निर्वाचनको तयारी गर्नुपर्ने बताए । मतपत्रको डिजाइन र पार्टी दर्ता नहुञ्जेलसम्म निर्वाचनको तयारी पूर्ण नहुने भन्दै उनले विभाजित मनस्थितिमा रहेका दल पनि प्रक्रियामा गएर आयोगलाई सघाउनुपर्ने उनको मत छ ।

दलीय समस्या समाधान गरेर चुनावमा जानुपर्नेमा उनले जोड दिए । राजनीतिक दलहरुले आफ्नो मुद्दालाई निर्वाचन आयोगको टाउकोमा हाल्नु नहुने उनको तर्क छ ।

निर्वाचन आयोगका सहायक प्रवक्ता कोमल प्रसाद धमलाले पूर्वप्रमुख निर्वाचन आयुक्तहरुसँग आयोगले अहिलेसम्म गरेको निर्वाचनको तयारीको सम्बन्धमा जानकारी गराएको बताए । सहायक प्रवक्ता धमलाले निर्वाचनको तयारी अघि बढिरहेको बताए ।

मतदाता नामावली अद्यावधिक तथा मतदान केन्द्रको विषयमा काम भइरहेको उहाँको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर