सेरेमोनियल होइन, देशलाई सुधारक तानाशाह राजाको खाँचो छ (भिडियोसहित) – Nepal Press
सन्दर्भः माघ १९

सेरेमोनियल होइन, देशलाई सुधारक तानाशाह राजाको खाँचो छ (भिडियोसहित)

२०६१ साल माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले शेरबहादुर देउवा नेतृत्वको सरकार विघटन गरी आफ्नै अध्यक्षतामा मन्त्रिमण्डल बनाए । जसलाई नेपालको राजनीतिक इतिहासमा ‘शाही कु’को रुपमा हेरिन्छ, बुझिन्छ ।

त्यतिबेलाको मन्त्रिमण्डलमा शिक्षामन्त्री भए, ‘वाम नेता’ राधाकृष्ण मैनाली । २०२८ सालको झापा विद्रोहदेखि कम्युनिष्ट राजनीतिमा सक्रिय मैनाली राजाको मन्त्रिमण्डलमा सहभागी हुँदा निकै आलोचित भए । मुलुकमा गणतन्त्र आएपछि प्रचण्ड नेतृत्वको माओवादीमा गएका उनी त्यसपछि नेकपा एमालेमै फर्किए । अहिले उनी राजनीतिबाट बाहिर छन् । उनीसँग तत्कालीन राजाको मन्त्रिमण्डलमा रहँदाको अनुभव र पूर्वराजा ज्ञानेन्द्रको कदमका पृष्ठभूमिबारे माघ १९ को सन्दर्भमा नेपाल प्रेस का समर्पण श्री ले गरेको कुराकानी, नेपाल टक मा ।

तपाईं वामपन्थी पृष्ठभूमिका नेता । तत्कालीन राजाले गठन गरेको मन्त्रीमण्डलमा किन जानु परेको ?

राजाको कुरा पत्याएर गइयो । देशमा द्वन्द्व थियो । माओवादी जनयुद्धको नाममा जथाभावी हिंसाको दुरुपयोग गर्दै थियो । त्यसलाई नियन्त्रण गर्ने नाममा सत्ता पनि उन्मादका साथ अगाडि बढिरहेको थियो ।

दैनिक दर्जनौं मानिसको हत्या भइरहेको थियो । पार्टीको सरकारले त्यसलाई नियन्त्रण गर्न सकिरहेको थिएन । । त्यो प्रसंगमा राजाले सत्ता आफ्नो हातमा लिए । राजाले द्वन्द्वलाई अन्त्य गर्ने र शान्ति कायम गर्ने भन्ने मनसायका साथ सत्ता हातमा लिएको बताए ।

द्वन्द्व समाधान नगर्ने हो भने स्थिति झन् भयावह हुने र निर्वाचनपछि पार्टीलाई नै सरकारको जिम्मा लगाउने भनेपछि मैले राजाको कुरा पत्याएँ ।

माओवादी द्वन्द्वमा राजनीति मिसिएको छ । यो आतंक मात्र थिएन । त्यसलाई वार्तामार्फत समाधान गर्नुपर्छ भन्ने थियो । राजनीतिक वार्ताका लागि राजनीतिक मान्छे चाहियो भनेर राजाले मलाई फकाए । म फकिएँ अर्थात् उनको कुरा पत्याएँ । जुन मेरो गल्ती थियो ।

राजाले जे भने त्यो गरेनन् । मैले द्वन्द्व समाधान गर्ने उद्देश्यले नै राजालाई समर्थन गरेको थिएँ ।

राजाले सुधारक भएर द्वन्द्व समाधान गर्न सक्थे । तर उनी शासक भएर निस्किए । माओवादी द्वन्द्व समाधान गर्ने भन्दा पनि माओवादीलगायत दललाई सिध्याएर आफू शासक हुने खालको शैली राजामा आएपछि द्वन्द्व झन् चर्चियो । विदेशी चलखेल बढ्योे । परिणाम ठीक भएन ।

पार्टीको कारबाहीमा परेपछि राजाको शरणमा जानुभएको भन्ने पनि छ नि, हो ?

त्यतिबेला राजालाई कसरी डिलिङ गर्ने भन्दा पनि सरकारमै जाने माधवजीहरूको चाहना थियो । सरकारमा जाने हैन, माओवादी, सरकार र राजाबीच समन्वय गरौं भनेर म बीचमै उभिएँ । यहीबीचमा माधव–ओली मिलेर मलाई पार्टीबाट साधारण सदस्य समेत नरहने गरी कारबाही गरे ।

पार्टीबाट निकालेको एक वर्ष पछाडि म राजाको क्याबिनेटमा पुगेको हुँ । म स्वतन्त्र नागरिक भएपछि नै गएको हुँ । म पार्टी कार्यकर्ता भएर त्यहाँ गएको होइन । राजासँग माघ १९ गते बेलुका मेरो कुरा भएको हो ।

लामो समय राजतन्त्रविरुद्ध लड्नुभएको एउटा कम्युनिष्ट नेताले राजाको आश्वासनलाई कति सजिलै विश्वास गर्नुभएको त !

देशमा समस्या आउँदा विभिन्न ठाउँमा निरंकुशतावादी शक्तिहरूले पनि धेरै समस्या समाधान गर्दै अगाडि गएका थिए । जस्तैः सिंगापुरकै कुरा गरौं वा मलेसिया । कम्बोडियाकै कुरा गरौं । देशमा परम्परागत शक्तिहरूले नै समस्याको समाधान गरेका छन् ।

एउटा समस्याको समाधान भनेको त्यो देशको राष्ट्रिय जीवनको अन्त्यसम्म समाधान हुन्छ भन्ने कुरा त होइन । कुनै एक बेला समस्या समाधान हुन सक्थ्यो । त्यही समाधान होला भनेर त्यहाँ गएको हुँ म । म पार्टीमा भएको भए छलफल हुन्थ्यो होला, पार्टीको छलफलले मेरो वा पार्टीको फरक दृष्टिकोण हुन्थ्यो । म स्वतन्त्र नागरिक थिएँ । त्यतिबेला मैले जे सोचें त्यो मेरो निर्णय भयो ।

तपाईं र राजाको पहिलो भेट कहिले भएको थियो ?

दरबार हत्याकाण्डपछि ज्ञानेन्द्र शाह राजा हुनुभयो । राजा भएपछि धेरै राजनीतिक नेताहरूसँग उहाँको कुराकानी भयो । त्यही सिलसिलामा मैले पनि पहिलोपटक राजालाई भेटेको थिएँ । त्यही भेटघाट बढ्दै गएर माघ १९ गते राजासँग वार्ता भएको हो ।

राजाले माघ १९ को कदम चाल्नुको कारण वा यसको पृष्ठभूमि के थियो ? यसका डिजाइनरहरू को–को थिए ?

डिजाइनरहरू त को थिए म भन्न सक्दिनँ । देशको समस्या सामान्य थिएन । राजाले समाधान गर्छु भनेर भन्नु पनि कुनै अनौठो कुरा थिएन । जस्तै अहिले ओलीको सरकार आयो । समस्या समाधान गर्छ भनेर जनताले पत्याएर भोट पनि दिए । तर उनले समस्या समाधान नगरी समस्या बल्झिन थाल्यो । त्यस्तै राजा ज्ञानेन्द्रले सत्ता लिंदा तीन महिना जति देशमा राजाको छवि सकारात्मक थियो । राजाले केही गर्छन् भन्ने ठान्ने मानिसको संख्या ठूलो थियो ।

माघ १९ गते बिहान राजाले सत्ता हातमा लिएका थिए । बेलुका भेट भएको थियो । मलाई अघिल्लो दिन पशुपति महर्जनले भोलि राजाले दर्शन भेट दिने कुरा भएको छ छिट्टै गरेर आउनुहोला भनेर साँझ ५ बजेको लागि बोलाएका थिए ।

त्यसदिन काठमाडौं सुनसान थियो । सेना बाहिर निस्किएका थिए । म बेलुका राजाकाे दर्शन भेटका लागि आउँदा १० जना जति मान्छेको टीम थियो । राजाले के गर्ने भनेर सानादेखि ठूलासम्म छलफल गर्ने रहेछन् भन्ने सोचें । टंक ढकाल, रमेश पाण्डे, दानबहादुरलगायत मान्छे थिए ।

राजासँग पारस पनि बसिरहेका रहेछन् । त्यहाँ लामै कुरा भयो । त्यतिखेरको कुराकानीमा राजाले मलाई मख्खै पारे । दशेको द्वन्द्वको विषयमा कुरा गर्ने क्रममा यो द्वन्द्व समाधान गर्नुपर्छ, द्वन्द्व समाधान गरेर चुनाव गर्ने, जसले चुनाव जित्छ उसलाई सरकार हस्तान्तरण गर्ने भनेर भन्नुभयो । दलका नेताहरूले द्वन्द्व समाधान गर्न सकेनन्, त्यसकारण मैले यो कदम चाल्नुपर्यो त्यसैले मलाई सहयोग गर्नुपर्यो भनेर पनि भन्नुभयो ।

उहाँले मलाई क्याबिनेटमा आउनुपर्छ भन्नुभयो । मैले आउँदिन भनें । निकै जोड गरेपछि म राजी भएँ । मलाई शिक्षा मन्त्रालय दिइयो । तर पछि सबै मन्त्री देखेपछि झसङ्ग भएँ ।

राजाले मसँग जे कुरा गरेका थिए त्यो लागू गरेका भए राजाको लागि दुर्दशा हुने थिएन । राजाले वार्ताको कुरा सुन्न छाडे । पछि राजालाई छाडेर हिंडूँ दलहरू मेरो विरुद्ध लागिसके । यहीं बसेर राजालाई कन्भिन्स गर्छु लागेको थियो तर सकिनँ ।

समस्याको समाधानतिर नगएर दमनतिर मात्र जाँदा विदेशी खेल बढ्यो । विदेशीहरूले एकातिर माओवादीलाई उकासे अर्कोतिर राजालाई । दुई वटै खेल चर्किंदा वार्ता गरेर शासकीय अधिकारलाई बाँडफाँट गरेर जानुभन्दा जम्मै सत्ता आफ्नो हातमा लिने चाहना राजामा धेरै भयो । उहाँमा त्यो चिन्तन कसरी आयो मलाई थाहा भएन ।

राजाले तपाईंलाई नै किन रोजेको होला ?

त्यो त राजालाई सोध्नुपर्छ, मलाई थाहा छैन ।

राजाको मन्त्रिमण्डलमा जाँदा कसैसित केही सल्लाह नै गर्नु भएन ?

कोसँग सल्लाह गर्नु ? राजनीतिक सल्लाह भएन । मेरो मनमा जे थियो त्यही सोचेर गएँ । भाइ (सीपी मैनाली) र म पनि राजनीतिक रुपमा अलग–अलग थियौं । मैले सल्लाह गरिनँ भाइसँग पनि ।

मन्त्रिपरिषद् बैठकमा राजाको प्रस्तुतिचाहिं कस्तो हुन्थ्यो ?

त्यो सामान्य कुरातिर नजाऔं । सुरु सुरुमा ठिकठिकै थियो । पछि तुलसी गिरी, कीर्तिनिधि विष्टलाई उपाध्यक्ष बनाइसकेपछि राजाको बेसी नजिक मसँग भन्दा तुलसी गिरीसँग हुन थाल्यो ।

तुलसी गिरी देशमा एकमात्र शक्ति राजा हो, राजालाई खुसी पारेपछि जे पनि हुन्छ भन्ने मान्यतामा बस्थे । राजा पनि त्यही मान्यतामै रमाउन थालेपछि समस्या समाधान हुने भन्दा चर्किनेतिर अगाडि गयो ।

तपाईंले एकपटक राजा ज्ञानेन्द्र खाजाको विषयमा ‘लोभी राजा’ भन्नुभएको थियो । खास के कारण त्यस्तो भन्नुभएको ?

दरबारियाहरूले अरु नागरिकलाई महत्वपूर्ण अर्थात् सामान्य मान्छेलाई देशका जिम्मेवार मान्छे नठान्ने रहेछन् । सबै आफू मात्र हुँ भठान्ने । त्यतिबेला उनीहरू अरुको भन्दा पनि चासो आफ्नै मात्र राख्ने गर्थे ।

हुन त अहिले राजनीतिमा पनि त्यही कुरा हाबी हुँदै आइरहेको छ । आम मान्छेको अस्तित्वलाई महत्वको साथ नहेर्ने । हामीलाई वरिपरि घुम्ने झिंगा फट्यांग्रा हुन् भन्ने दरबारियाहरूको सोचाइ थियो । जो धेरै सेवक छन् त्यसलाई आफ्नो नजिकका ठान्ने । अनि अरु व्यवहार पनि त्यस्तै गर्ने । त्यहीं भएर मैले लोभी राजा भनेको हो ।

अहिले तपाईंलाई पछुतो लाग्दैन ?

पछुतो छैन । किनभने म एउटा उद्देश्यका साथ समस्या समाधानका लागि गएको थिएँ । म मन्त्री नै हुन नपाएर राजाकोमा गएको होइन । घरमा खानै नभएर जागिर खान गएको पनि होइन । म गणतन्त्रवादी चिन्तन गलत तथा राजावादी चिन्तन राम्रो हो भनेर पनि गएको होइन । म मेरै ठाउँमा बसेर पनि यो समस्या समाधान गर्न सकिन्छ कि भन्ने आशाले त्यहाँ गएँ । त्यो सकिएन । त्यसको कारक तत्व म थिइनँ, राजा नै थिए । राजाले समस्या समाधानमा आफ्नो दृष्टिकोण डाइभर्ट गरेपछि मबाट समाधान हुन सक्ने थिएन ।

मलाई अहिले पछुतो एउटा कुरामा छ । राजाले त्यतिबेला सकारात्मक ढंगले समस्या समाधान गर्ने कुरातिर सोचेनन् । नसोचेकै कारण मेरो प्रयास असफल भयो । असफल भएपछि देशमा अर्को ठूलो समस्या पैदा भयो । राजा गए, देशमा गणतन्त्र आयो । समस्या समाधन भएन । अहिले पनि देशमा अस्थिरता छ । त्यो समस्यामा राजाको कुनै भूमिका छैन भन्नेहरू पनि छन् । मचाहिं राजाले त्यतिबेला गलत दृष्टिकोण राखेकै कारण अहिलेका समस्या जोडिएका हुन् । यसमा राजाको पनि जिम्मेवारी छ ।

त्यतिबेला मन्त्री भएर देशका लागि केही सकारात्मक भूमिका निर्वाह गरे जस्तो लाग्छ कि लाग्दैन ?

मैले अन्तिमसम्म वार्ताको लागि प्रयास गर्दै आएको हुँ । २०६२ साल चैत्र १८ गते मैले राजा ज्ञानेन्द्रसँग पोखरामा तीन घण्टा कुराकानी गरेको थिएँ । त्यहाँ पनि मैले कि इण्डियासँग कि माओवादीसँग वार्ता गरौं भनेको थिएँ । त्यसको पर्सिपल्ट म मन्त्रालयको कामले अष्ट्रेलिया जानु थियो । ‘बरु विदेश जान्नँ, वार्तामा जाऔं’ भन्दा राजाले ‘तिमी आफ्नो काममा जाऊ, म सुल्झाउँछु’ भने । वार्तामा जाने कुरा पनि गरे । तर वार्ताको निम्ति तयार भएनन् ।

अष्ट्रेलियाबाट फर्केर आउँदा देशमा खपिसक्नु स्थिति नै थिएन । मैले अन्तिमसम्म प्रयास गरेको हुँ । अहिलेको दुर्दशा नआओस् भन्ने लागेको थियो । २०४६ सालपछि देशमा बहुदलीय व्यवस्था आइसकेपछि पनि कांग्रेस कम्युनिष्टका धेरै नेता पतित भइसकेका थिए । सबै पैसाको पछि दौडिरहेका थिए । देशमा ग्रुपिजम भइरहेको थियो । खासमा मेरो सोचाइ अनुकूल राजाले भूमिका नखेलेर स्थिति भड्कियो ।

तर, त्यसपछि तपाईंको राजनीतिक जीवन त निरन्तर ओरालो लाग्यो नि !

त्यस्तो होइन । राजाको कुरा पत्याउँदा असर गर्यो नै । भविष्य कस्तो हुन्छ, कसलाई थाहा छ र !

पूर्वराजा वीरेन्द्र र ज्ञानेन्द्रलाई कसरी तुलना गर्नु गर्नुहुन्छ ?

वीरेन्द्र राजा सोझो र भावुक मान्छे । राज्यको आम्दानीमा कन्जुस्याइँ नगर्ने । बाहिर जाँदा पनि होटलमा भन्दा एम्बेसीमा बस्न रुचाउने खालको स्वभाव । मैले भेट्दा पनि राजा वीरेन्द्र शिष्ट शैलीका थिए । बारबार कुरा गर्दा पनि २०४७ को संविधान सन्तुलित भएन भन्ने कुरा भएको थियो ।

राजा ज्ञानेन्द्र अझ उन्नत खालको होलान् सोचेको थिएँ । नयाँ दृष्टिकोण होला सोचेको थिएँ । देशलाई अगाडि बढाउन निजी र बाैद्धिक क्षेत्रको समेत ज्ञान छ जस्तो लागेको थियो । तर, त्यस्तो होइन रहेछ । त्यति विश्लेषणात्मक क्षमता कम र सत्ताको महत्वाकांक्षा धेरै भएको राजा रहेछन् भन्ने पछि थाहा भयो ।

अहिले पूर्वराजासँग तपाईंको कुराकानी हुन्छ कि हुँदैन ?

त्यतिधेरै चासो राजाले पनि राखेका छैनन् । मैले पनि राखेको छैन । चासो राख्यो भने भेट हुन नसक्ने कुरा त होइन । म स्वतन्त्र नागरिक हुँ । राजा पनि देशको स्वतन्त्र नागरिक हुन् । यस नातामा भेट हुनु अपराध हुन्छ जस्तो लाग्दैन । भेट भएर हिजोको समीक्षा हुनु, देश कता जान्छ भनेर राजनीतिक विमर्श हुनु स्वाभाविक हो ।

अहिले पनि भूतपूर्व प्रधानमन्त्रीसँग बसेर राजनीतिक छलफल गर्ने, कुनै नेतासँग राजनीतिक छलफल गरेर देशका समस्याबारे विचार विमर्श गरे जस्तै राजा पनि देशको हिजोको शासक हुन् । अहिले पनि देशको प्रबुद्ध नागरिक । देशको ऐन कानूनमा बसेको व्यक्तित्वसँग छलफल गर्न पाइन्छ ।

गल्ती गरेको अनुभूति गरेर अघि बढे राजाप्रतिको आम दृष्टिकोण बदलिन सक्छ ।

अचेल त्यसबेलाका मन्त्रीहरूसँग पनि भेटघाट हुन्छ कि हुँदैन ?

हुँदैन । त्यसपछि तुलसी गिरी बिरामी हुनुभयो । एक दुई पटक भेट्न गएको थिएँ । कीर्तिनिधि विष्ट पनि बिरामी हुनुभयो । दुई पटक भेट्न गएको थिएँ । अलि राजनीतिक सोच तुलसी गिरीमै थियो । निरकंशु राजा बनाउने सोच त उनको हो । त्यति भए पनि उनी राजनीतिक प्राणी थिए । अरु जो मन्त्री थिए ती राजनीतिक थिएनन् । त्यसकारण राजाको चाकडी गरेर जागिर खानेहरूसँग पछि राजनीतिक छलफल भएन ।

अहिलेको नेकपाको विवाद तथा विभाजनलाई कसरी विश्लेषण गर्नुहुन्छ ?

अहिलेको पपुलर धार प्रचण्ड–माधव नेपालको हो । केपी शर्मा ओलीको अहिलेको कदम असंवैधानिक भनेर कांग्रेस सभापति शेरबहादुरले पनि भने । त्यसकारण ओलीको धार कमजोर भएको कुरा स्पष्ट छ ।

अहिलेको संविधान मिच्नु दक्षिणपन्थी धार हो । उहाँ आफू बलियो भनेर हिजो दुई तिहाइको सरकारको धाक लगाए, आज थर्थराएका छन् । डरले गर्दा पशुपतिमा पूजा गर्न गएका छन् । वास्तवमा त्यो पूजा आन्तरिक त्रासको पूजा हो । उनमा सन्त्रास सुरु भइसकेको छ ।

अदालतले संसद पुनःस्थापना गरेन भने ठूलै आन्दोलन हुने स्थिति छ । आन्दोलन भयो भने वैशाखमा चुनाव हुँदैन । ओलीको पार्टी नेकपा हुने हो कि प्रचण्डको पार्टी नेकपा हुने हो ? सूर्य चिह्न कसको हुने हो टुंगो लागेको छैन । टुंगो लगाउने अदालत हो । असारसम्म चुनाव भएन भने ओली स्वतः असंवैधानिक प्रधानमन्त्री हुन्छन् ।

उनी मात्रै संकटमा परेनन्, देशलाई द्वन्द्वमा फसाए । वामपन्थी नेताको झगडाले देशमा वामपन्थी निकास दिन सक्दैन । यो खेलमा ओली सकिन्छन् । त्यसपछि दक्षिणपन्थी कहरको रुपमा छिमेकीहरू सबैको सहमतिमा फेरि राजा फर्किन सक्ने अवस्था आउँछ कि ? हिजो राजा हटाउने काममा छिमेकीहरू लागेका थिए, राजा फर्काउने काममा उनीहरू त्यसरी नै लाग्दैनन् भन्ने के ग्यारेन्टी र !

भनेपछि राजतन्त्र फर्कने सम्भावना प्रबल देख्नुहुन्छ ?

सम्भावना छ । दलले चलाउन नसक्ने भएपछि राजा फर्कने सम्भावना त भैहाल्छ नि । एकदलीय शासन पनि नहुने, नेकपाले शासन गर्न पनि नसक्ने अनि चुनाव पनि हुन नसक्ने भएपछि राजतन्त्रै फर्कन सक्ने स्थिति हुन्छ ।

हिजो वामपन्थी शक्ति एक थियो, नाटकीय वैरभाव देखा परेको थिएन । उनीहरु आफ्नो हाँडी नफुटाइ जाने सोचमा थिए । अब हाँडी नै फुटाउने स्थिति आयो । हाँडी फुटाएपछि खाने ठाउँ छैन । प्रतिपक्षी कांग्रेसको मुख्य भूमिका हुन सकेको छैन । यस्तोबेला अन्तर्राष्ट्रिय शक्तिले चलखेल पनि गर्छन् । अनि, परिणाम जस्तो पनि आउन सक्छ ।

अहिले यति नराम्ररी नेकपा फुट्ला भनेर सोचेको थिएन । निर्वाचन आयोगले हिजोको पार्टीलाई पार्टी मानेन । चुनाव नै नहुने स्थिति आएपछि ओली पनि गैर–संवैधानिक हुने स्थिति आउँछ ।

देशमा राजाको पक्षमा हिजोभन्दा जनमत बढेको छ । हिजो पृथ्वीनारायण शाहको सालिकमा माला चढाउने दुई जना मान्छे हुँदैनथे, अहिले दशौं हजारले चढाइरहेछन् । यसले पनि एउटा संकेत गर्छ ।

छिमेकी देशलाई नेपालका गणतन्त्रकालका शासकसँग विश्वास छैन । व्यवस्थामा पनि विश्वास छैन । इण्डियाले यसलाई हितकर ठानेको छैन । हिजो जसरी राजालाई घिसारेर बाहिर लगिएको थियो, त्यसैगरी धकेलेर भित्र ल्याउने पो हुन् कि ! अहिले नेपालमा राजतन्त्र नेपालीलाई भन्दा छिमेकी देशलाई बढी चाहिएको छ ।

कुरा यो हो कि, राजा आएर पनि समस्याको समाधान हुन्छ कि हुँदैन ? राजा हिजोकै शैलीमा आए भने देश संकटमै जान्छ । अब आउने राजा भनेको आम जनताको सुधारक हुँदै भष्टाचार नियन्त्रण गर्ने, सामाजिक विकृतिलाई नियन्त्रण गर्ने, पेशागत निष्ठालाई विकास गर्ने किसिमबाट आउँदा बेटर हुन्छ ।

भनेपछि तपाईं पनि राजतन्त्रकै पक्ष हुनुहुन्छ ?

यहाँ नेताहरू सुध्रिने अवस्था नै छैन । राजा आउँदा पनि ‘बेबी किङ’ आएर समस्या समाधान हुँदैन । सेरेमोनियल राजाको काम छैन । साँच्चिकै सुधारक तानाशाह राजाको खाँचो छ देशलाई ।

यहाँका राजनीनिक नेताहरूलाई कारबाही गर्नुपर्याे, राजनीतिक पार्टीलाई सिस्टममा ल्याउनुपर्यो । यहाँका कर्मचारीलाई कर्मचारीजस्तो बनाउनुपर्यो । वकिलहरूलाई कर तिर्ने बनाउनुपर्यो । यो अवस्थाबाट राज्यलाई मुक्त गर्न नियन्त्रित व्यवस्था भएन भने सम्भव छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर