ज्ञानेन्द्रले बलपूर्वक सत्ता हातमा लिए, तर शालीनतापूर्वक छोडे – Nepal Press
सन्दर्भः माघ १९

ज्ञानेन्द्रले बलपूर्वक सत्ता हातमा लिए, तर शालीनतापूर्वक छोडे

यसकारण प्रतिगमन आधा सच्चियो भन्यौं

माघ १९ को शाही कु हुँदा म मन्त्री पदमा थिएँ । राजाले शक्ति हातमा लिएपछि मलाई चाहिं थुनेनन् । पछि आन्दोलन गर्ने क्रममा एक महिना थुनिएको हुँ ।

शाही कदमपछि कतिपय नेताहरू थुनामा रहनुभयो । ईश्वर पोखरेल, प्रकाशमान सिंहलगायतलाई थुनियो । शेरबहादुर देउवालाई थुनेको होइन, तर घरमै नजरबन्दमा राखियो ।

सरकारमा छँदा हामीले माओवादीसँग वार्ता गर्न खोजेका थियौं । तर उनीहरू राजनीतिक पार्टीसँग वार्ता गर्न तयार भएनन् । मालिकसँग गर्छौं, नोकरसँग गर्दैनौं भने । माओवादीले राजनीतिक पार्टीसँग गरेर केही पार लाग्दैन, सीधै राजासँग गर्छौं भनेपछि हाम्रो जुन मूल उपादेयता थियो त्यो पूरा नहुने भयो । राजाले तिमीहरूले वार्ता गर्न पनि सकेनौ, चुनाव गर्न पनि सकेनौ, असफल भयौ भनेर शक्ति आफ्नो हातमा लिए ।

ज्ञानेन्द्रले त्यसबेला शक्ति हातमा नलिएको भए राजतन्त्र यति छिट्टै नजान सक्थ्यो । आफूमाथि अधिकार केन्द्रित गर्ने उनको महत्वाकांक्षाले पनि गणतन्त्र ल्याउनमा नकारात्मक योगदान दिएको हो । सबै अधिकार आफ्नो हातमा आउँछ भन्दा जम्मै गयो ।

०००

त्यतिबेला पनि अहिलेजस्तै संसद विघटनको विवाद थियो । शेरबहादुर देउवाले संसद विघटन गरेपछि चुनावमा जाने स्थिति पनि बनेन । चुनाव पनि नहुने, संसद पनि नभएको अवस्था रह्यो । एक हिसाबले अन्यौल थियो । संसद कायमै रहेको भए राजालाई प्रतिगमन गर्न गाह्रो पनि हुन्थ्यो । राजाले सीधै संसद विघटन गर्ने कुनै व्यवस्था पनि थिएन ।

प्रधानमन्त्रीले विघटन गर्न त पाउँथे तर अर्को सरकार बन्ने अवस्था त्यति बेला पनि थियो । त्यति बेलाको सरकारले त्यो नगरेको भए हुन्थ्यो । विघटन गर्न पाउने अधिकार त संविधानमा थियो तर त्यति बेलको राजनीतिक परिवेशलाई हेर्नुपर्थ्यो ।

नगर्नुपर्ने संसद विघटन सरकारले गरिहाल्यो । चुनाव हुन पनि सकेन । चुनाव नभएपछि ज्ञानेन्द्रलाई ताक परेको हो । संसद नरहेको अवस्थामा मुलुकलाई अन्यौलतामा लैजान देशी-विदेशी शक्तिहरूले चलखेल गर्छन् । राजनीतिक पार्टीहरू असफल भए र लोकतन्त्र नेपालमा चल्दैन भन्ने भाष्य स्थापित गर्ने काम भयो ।

त्यतिबेला राजाले मुलुक एक्लै चलाउने र राजनीतिक दलहरूलाई किनारा लगाउने सम्भावना बढ्दै गएको थियो । पछि राजनीतिक पार्टीहरूले नै सरकार चलाउने भन्ने भयो । त्यो बेला कांग्रेस फुटेको थियो । कांग्रेस फुटे पनि गिरिजाप्रसाद कोइराला र तत्कालीन नेकपा एमालेलगायतका ७ दलले आफ्नो किसिमले आन्दोलन चलाइरहेका थिए । शेरबहादुर देउवाले नेतृत्व गरेको तत्कालीन नेपाली कांग्रेस प्रजातान्त्रिकले पनि आफ्नै ढंगले आन्दोलन गरिरहेको थियो । राजाले देश चलाउने होइन, राजा संविधानको मातहत बस्नुपर्छ भन्ने भाव आन्दोलनको थियो ।

कतिपय अवस्थामा राजतन्त्र गएपछि निर्वाचित भएर आउने शासकहरू तानाशाह बनेका उदाहरण पनि छन् । हिटलर निर्वाचित भएर आएको हो । उनी पछि भयंकर ‘फासिस्ट’ बने । जनताबाट चुनिएको मान्छे, संसारकै सम्राट बन्ने सपना देख्यो ।

राजाले विस्तारै-विस्तारै शक्ति आफ्नो हातमा लिन थाले । पछि त उनले पार्टीमाथि प्रतिबन्ध नै लगाएर सबै अधिकार आफूमै केन्द्रित गरे । पहिले राजाले त्यो अधिकार लिए, जुन संविधानमा व्यवस्थै थिएन ।

राजाले आफैं सरकार चलाउने हुन् कि भन्ने विभिन्न घटनाक्रमबाट आशंका थियो । राजाले आफ्नै हातमा नलिउन् र राजनीतिक दलहरूले नै देश चलाउने हो भन्नेमा थियौं हामी । उपयुक्त परिस्थिति तयार पारेर चुनावमा जाने लक्ष्य हाम्रो थियो ।

राजाले शक्ति हातमा लिनु हुँदैन भनेर आन्दोलन गरिरहेका थियौं । आन्दोलन अलि सशक्त तरिकाले अघि बढेको अवस्थामा राजाले राजनीतिक पार्टीहरूलाई सरकार चलाउन दिने भन्दै प्रधानमन्त्रीको नाम लिएर आउन भने । त्यसो भनेपछि गिरिजाप्रसाद कोइराला हुने कि माधव नेपाल हुने भन्ने आन्तरिक विवाद थियो । गिरिजाले माधव नेपालको नाम सिफारिस गर्ने आशा पनि थियो तर गरेनन् ।

उता, शेरबहादुरले सरकार म चलाउँछु भन्न थाले । कम्युनिष्टलाई कांग्रेसले प्रधानमन्त्री बनाउन साथ नदिने भए । राजालाई छोडिदिने कि राजनीतिक पार्टीले सरकार चलाउने भन्ने प्रश्न आयो । कि त राजालाई सबै छोडिदिएर के गर्छौ गर भन्नुपर्‍यो । कि राजनीतिक पार्टीले सरकार चलाएर माओवादीसँग शान्ति वार्ता गर्नुपर्‍यो ।

माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने योजना थियो हाम्रो । माओवादी द्वन्द्व ठूलो समस्या थियो । त्यसो हुनाले राजनीतिक पार्टीको सरकार बन्यो भने माओवादीसँग वार्ता गर्ने र आवश्यक परे संविधानसभामा जाने सोचेका थियौं । संविधान संसोधन गरेर हुन्छ, या संविधानसभामा गएर हुन्छ द्वन्द्व समाधान गर्ने विषयमा खुला भएर छलफल गरौं भन्ने हाम्रो पार्टीको धारणा थियो ।

अन्ततः राजनीतिक पार्टी मिलेर सरकार बनाउने, माओवादीसँग वार्ता गर्ने र शेरबहादुरसँग मिलेर जाने निधो भयो । शेरबहादुरको नेतृत्वमा सबै राजनीतिक पार्टीको सरकार बनाउने तथा माओवादीसँग वार्ता गरेर मुलुकलाई एउटा सकारात्मक दिसामा लैजाने भन्ने सोचका साथ प्रतिगमन आधा सच्चियो भनिएको हो । राजाले आफूले चलाउन छोडेर म राजनीतिक पार्टीलाई चलाउन दिन्छु, आउनुहोस् भनेर भनेपछि त्यतिबेला हामीले विश्लेषण गर्‍यौं- प्रतिगमन पूरै राजाले फिर्ता लिएको होइन । तर, आंशिक रूपमा सच्चिएको हो ।

त्यो बेला ज्ञानेन्द्रले जस्तै अहिले केपीले पनि सबै अधिकार आफ्नै हातमा केन्द्रित गर्न खोजेका छन् । पहिलेदेखि जम्मै अधिकार केन्द्रित गर्दै गएर अहिले संसद नै विघटन गरेर एक्लै सरकार चलाइरहेका छन् । संसद पनि छैन, केही पनि छैन । केपीले सरकार चलाइरहेका छन् ।

पछि हामी सरकारमा गयौं । म पनि मन्त्री भएको थिएँ । तर, केही समयमै त्यो सरकार भंग गरेर राजाले पूरै शासन आफ्नो हातमा लिए । पछि पूरै प्रतिगमन भयो ।

०००

ज्ञानेन्द्रले सबै अधिकार आफ्नो हातमा लिएर निरंकुश कदम चाले । त्यसको अन्त्य गर्नैपर्थ्यो र भयो पनि । तर, त्यस्तो राजपाठ चलाएको मान्छे, छोड्ने बेला उनमा त्यस्तो कुनै हिनताबोध या आक्रोश देखिएन । उनमा जे शालीनता देखियो, त्यो एउटा गजबको कुरा हो । राजनीतिकरूपमा उनी निरंकुश हुन् । हटाउनै पथ्र्यो । फाल्नै पर्थ्यो । फालियो । राजनीतिकरूपमा त्यो ठीक थियो ।

तर, व्यक्तिगत एउटा संस्कार हुन्छ । ज्ञानेन्द्र त वंशाणुगत राजा हो । केपी ओली प्रधानमन्त्री भए जस्तो होइन । शान्तिपूर्ण रुपमा राजाले सहजै छोड्दिए । त्यति ठूलो दमन भएको पनि होइन । अलि-अलि आन्दोलनमा मान्छे मर्नु एउटा कुरा हो । शान्तिपूर्ण शक्ति हस्तान्तरण भयो । यो दुनियाँका लागि पनि महत्वूर्ण घटना हो ।

ज्ञानेन्द्रले भद्र तरिकाले छोडिदिए । बरु अहिले केपी म छोड्दै छोड्दिनँ भन्छन् । जो परम्परागत राजा थियो, उसले सरक्कै छोडिदियो । यी जनताबाट चुनिएर आएका मान्छेले म छोड्दै छोड्दिनँ भन्छन् । कतिपय अवस्थामा राजतन्त्र गएपछि निर्वाचित भएर आउने शासकहरू तानाशाह बनेका उदाहरण पनि छन् । हिटलर निर्वाचित भएर आएको हो । उनी पछि भयंकर ‘फासिस्ट’ बने । जनताबाट चुनिएको मान्छे, संसारकै सम्राट बन्ने सपना देख्यो ।

०००

त्यो बेला ज्ञानेन्द्रले जस्तै अहिले केपीले पनि सबै अधिकार आफ्नै हातमा केन्द्रित गर्न खोजेका छन् । पहिलेदेखि जम्मै अधिकार केन्द्रित गर्दै गएर अहिले संसद नै विघटन गरेर एक्लै सरकार चलाइरहेका छन् । संसद पनि छैन, केही पनि छैन । केपीले सरकार चलाइरहेका छन् ।

अहिलेको लडाइँ खासै जटिल छैन । केपी ओलीको केही तागत पनि छैन । केही समय ट्याउँ-ट्याउँ गर्छन् । यीनलाई कसले साथ दिन्छ अन्तिममा ? उनको गुटका मान्छे खानका लागि दौडिरहेका छन् । दौडिनेहरू पनि कति समय टिक्न सक्लान् ? न लक्ष्य छ । न उद्देश्य छ । न सिद्धान्त छ । न पार्टी छ । न त्यो पार्टी बैधानिक हुन्छ । उनलाई ट्याउँ-ट्याउँ किन आइरहेको छ भने अहिले सत्तामा छन् । पैसा आइरहेको छ । वरिपरी सेना, पुलिस देखेका छन् । आफू शक्तिशाली छु भन्ने उनलाई लागेको छ । तर, भित्र-भित्र उनी कुइएको फर्सी जस्तो भइसकेका छन् ।

अहिले केपीले जुन विघटन गरे, त्यो अधिकारै थिएन । पहिले ज्ञानेन्द्रले संविधान मिचे, अहिले केपी ओलीले संविधान मिचे । प्रसंग फरक हो तर चरित्र उस्तै उस्तै हो । राजा भएको र नभएको परिस्थिति फरक भैहाल्यो तर संविधान मिच्ने काम दुवैले गरे ।

केपी ओली जसरी अधिकार केन्द्रित गरेर शक्तिशाली बन्न खोजिरहेका छन्, त्यति नै कमजोर बन्दै गइरहेका छन् । राजनीतिक रुपमा उनी खिइदै गएका छन् । उनको विरोधमा जनमत बढ्दै गएको छ ।

यद्यपि उनको एउटा गुट छ । त्यो गुटमा केही कार्यकर्ता पनि छन् । केही जनता पनि भ्रममा परेको हुनाले भेलाहरू गरिरहेका छन् । मान्छेको स्वभाव के हुन्छ भने जसको शक्ति छ, त्यसलाई सितिमिति छोड्दैन । मान्छेको स्वार्थ हुन्छ । सत्ताले स्वार्थ पूरा गर्छ । हामीसँग जनताको स्वार्थ पूरा गर्ने कुनै हतियार अहिले छैन । उनीसँग सत्ता छ । सत्तासँग स्वार्थ भएको हुनाले स्वार्थ पूरा गर्नका लागि उनीसित मान्छेहरू टाँसिइरहेका छन् । सत्ता रहुन्जेल केही मान्छे टाँसिइरहन्छन् ।

(ज्ञवालीसँग गरिएको कुराकानीमा आधारित)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित खवर