म्यानमारमा सेनाद्वारा सत्ता कब्जाः यस्तो छ अन्तरकथा – Nepal Press

म्यानमारमा सेनाद्वारा सत्ता कब्जाः यस्तो छ अन्तरकथा

नेतृ आङ सान सु ची लगायत उच्च पदस्थलाई गिरफ्तार गर्र्दै म्यानमार सेनाले सत्ता कब्जा गरेको छ । सेनाका कमाण्डर इन चिफ वरिष्ठ जनरल मिन आङ हलिङले आफूलाई कार्यकारी घोषणा गरेका छन् । साथै, एक वर्षका लागि सेनाले देशमा संकटकाल लगाएको छ ।

म्यानमारमा झण्डै पाँच दशक शासन गरेको आर्मी र सरकारबीच गत नोभेम्बरमा भएको चुनावमा अनियमितता भएको विषयलाई लिएर पछिल्ला केही सातादेखि तनाव जारी थियो । सु की को नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) पार्टील सहज जित हात पारेको चुनावी नतिजामा सेना सन्तुष्ट थिएन । गत साता सेनाले चुनावमा अनियमितता भएको दावीलाई स्थापित गर्न सत्ता कब्जा गर्ने मनशाय देखाएको थियो ।

सोमबार झिसमिसेमै सु की र राष्ट्रपनि विन मिन्टलाई गिरफ्तार गरेर हिरासतमा राखिएको एनएलडीका प्रवक्ता म्यो न्योन्टले एएफपीलाई बताएका छन् । चुनावपछि पहिलोपटकका लागि संसद वैठक बस्नुभन्दा केही घन्टा अगाडि सेनाले कु गरेको हो ।

‘हामीले सुन्यौं कि उहाँहरुलाई सेनाले नियन्त्रणमा लिएको छ । घटनाक्रमलाई हेर्दा सेनाले कु गरेको जस्तो देखिन्छ,’ न्योन्टले भनेका छन् ।

सेनाले आफ्नै टेलिभिजन च्यानलमार्फत एक वर्षका लागि संकटकाल घोषणा गरेको छ । म्यानमारको व्यापारिक केन्द्रका रुपमा रहेको पुरानो राजधानी याङ्गुनमा बाक्लो संख्या सैनिक तैनाथि गरिएको एएफपीले जनाएको छ । त्यहाँ रहेको सिटी हललाई सेनाले नियन्त्रणमा लिइसकेको छ । म्यानमारमा अहिले सञ्चार प्रणाली नियन्त्रित गरिएको छ । धेरै मोबाइल फोनमा नेटवर्क चलेको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *