म्यानमारमा सैनिक ‘कू’को सम्भावना, सर्वोच्च नेता सू ची गिरफ्तार – Nepal Press

म्यानमारमा सैनिक ‘कू’को सम्भावना, सर्वोच्च नेता सू ची गिरफ्तार

एजेन्सी । म्यानमारको सत्ताधारी नेशनल लिग फर डेमोक्रेसी (एनएलडी)की सर्वोच्च नेता आङ सान सुचीलाई सेनाले गिरफ्तार गरेको छ । यहाँ सैनिक ‘कु’ को आशंका गरिएको छ किनभने पछिल्ला केही महिनायता नागरिक सरकार र सैनिक नेतृत्वबीच टकराव थियो ।

नोभेम्बर महिनामा सम्पन्न चुनावमा एनएलडीले सरकार बनाउनका लागि पर्याप्त सिट जितेको थियो । तर म्यानमारको सेनाले भनेको छ कि ती मतहरु सबै फर्जी थिए ।

बर्माको नामबाट पनि परिचित म्यानमारमा सन् २०११ सम्म सैनिक शासन थियो । त्यतिबेलासम्म प्रजातन्त्रवादी नेतृ सुचीलाई घरमै नजरबन्द गरिएको थियो ।

नवनिर्वाचित प्रतिनिधिसभाको बैठक सोमबार (आज)का लागि बोलाइए पनि सेनाले बैठक सार्नका लागि दवाव दिइरहेको थियो । त्यसकै परिणाम सैनिक कु हुनसक्ने आकलन गरिएको छ । म्यानमारको राजधानी नेपिताव र मुख्य शहर याङगोनका सडकमा सेनाको बाक्लो उपस्थिति देख्न सकिन्छ ।

मुख्य शहरहरुमा मोबाइल इन्टरनेट तथा केही कम्पनीका टेलिफोन सेवा पनि बन्द भएका छन् । राज्यको मुख्य टेलिभिजन एमआरटिभीले प्राविधिक समस्या भन्दै प्रशारण बन्द गरेको छ ।

बीबीसीका अनुसार म्यानमारमा सत्ता संकट गहिरिएको छ । तर सेनाले गत सातामात्रै संविधान पलना गर्ने प्रतिबद्धता व्यक्त गरेको थियो ।

संविधानअनुसार देशमा संकटकालको घोषणा गर्न सेनालाई अधिकार छ । तर सू ची जस्ता नेताहरुलाई हिरासतमा लिने कदमको देशभित्र र बाहिर पनि ठूलो विरोध हुन सक्छ ।

एनएलडीका प्रवक्ता म्यो न्यून्तले समाचार संस्था रोएटर्सलाई टेलिफोनमार्फत नेता सू ची र राष्ट्रपति विन मिन्टलाई आज बिहानै पक्राउृ गरिएको जानकारी दिएका थिए ।

‘हामी हाम्रा नागरिकलाई बताउन चाहन्छौं कि उनीहरु हतारमा कुनै प्रतिक्रिया नदिउन् । हामीले कानूनअनुसार काम गर्नुपर्छ,’ उनले भनेका छन् । राज्यका सबै मुख्यमन्त्रीहरुलाई पनि गिरफ्तार गरी अज्ञात स्थानमा लगिएको परिवारका सदस्यहरुले जानकारी दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *