मेस्सीको ६ सय ५० औं क्लब गोल, बार्सिलोना विजयी – Nepal Press

मेस्सीको ६ सय ५० औं क्लब गोल, बार्सिलोना विजयी

एजेन्सी । लियोनल मेस्सीले शानदार फ्रि–किकमार्फत क्लबका लागि ६ सय ५० औं गोल गरेपछि बार्सिलोनाले स्पेनिस ला लिगामा एथ्लेटिक विल्बाओलाई पराजित गरी अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

बक्सको ठीक बाहिरबाट प्रहार भएको फ्रि–किकका लागि एथ्लेटिकले ५ जनाको वाल राखेको थियो । त्यसको पछाडि एकजना र पोष्ट नजिकै अर्का एक खेलाडी थिए । र, पनि मेस्सीले टप कर्नरबाट गोल गर्न सफल रहे । क्लबका लागि उनको यो ४९ औं फ्रि–किक गोल हो ।

पहिलो हाफमा अग्रता बनाए पनि दोस्रो हाफको सुरुमै जोर्डी अल्बाको आत्मघाती गोलका कारण एथ्लेटिकले खेल बराबरीमा ल्यायो ।

तर ७४ औं मिनेटमा एन्टोइन ग्रिजम्यानले ओस्कार मिनगुएजाको पासलाई सदुपयोग गरी विजयी गोल गरे ।

बार्सिलोनाले रियल मड्रिडलाई गोलअन्तरमा पछि पार्दै दोस्रो स्थानमा उक्लिएको छ । तर यी दुवै चीर प्रतिस्पर्धी एट्लेटिको मड्रिडभन्दा १० अंकले पछाडि छन् ।

बार्सिलोना र रियलको २० खेलबाट ४० अंक छ । एक खेल कम खेलेको एट्लेटिकोको ५० अंक छ । उसले शनिबार मात्रै कार्डिजमाथि जित हासिल गरेको थियो ।

सिजनको निकै नै कमजोर सुरुआत गरेको बार्सिलोनाले पछिल्ला खेलहरुमा लय समाउन थालेको छ । पछिल्लो १० खेलमा उसले ८ जित र २ बराबरी खेलेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *