कमलपोखरी वरिपरिका कंक्रिट संरचना महानगरपालिकाले डोजर लगाएर भत्कायो – Nepal Press

कमलपोखरी वरिपरिका कंक्रिट संरचना महानगरपालिकाले डोजर लगाएर भत्कायो

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कमलपोखरी विस्तार योजनाअनुसार महानगरीय प्रहरी वृत्त कमलपोखरीको कार्यालय, कमलपोखरी स्पोर्टस् क्लबको भवन र राधे–राधेको सत्संग भवन भत्काएको छ । आज साँझ काठमाडौँ महानगरपालिकाले डोजर लगाएर ती भवन भत्काएको हो ।

काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले कमलपोखरीको गुरुयोजना अनुसार कमलपोखरी पुनर्निर्माणका लागि ती कंक्रिट संरचना भत्काएको जानकारी दिए ।

‘कलपोखरी वरिपरि महानगरीय प्रहरी वृत्त कमलपोखरीको कार्यालय, कमलपोखरी स्पोर्टस् क्लबको भवन र राधे–राधेको सत्संग क्लब भवनलगायतका संरचना थिए’ उनले भने, ‘हामीले पूर्व योजना अनुसार नै ती संरचना भत्काएका हौँ ।’ ज्ञवालीले योजना अनुसारको काम अघि बढाउने र त्यहाँ सुन्दर पोखरी निर्माण गर्ने बताए ।

‘हामीले पोखरी क्षेत्रभित्रै रहेको महानगरीय प्रहरी वृत्तको भवन पनि भत्काएका छौँ’ उनले भने, ‘अब चारैतिरका कुनामा काठको कलात्मक मण्डप बनाउने योजना छ । त्यहाँ कंक्रिटको प्रयोग गर्दैनौं । सामान्य रुपमा सिमेन्टको प्रयोग भने हुन्छ ।’ ज्ञवालीले अहिले चर्चा गरे जस्तो पोखरीमा कंक्रिट संरचना प्रयोग गर्ने कुनै योजना नरहेको पनि दाबी गरे ।

पछिल्लाे समय विघटित प्रतिनिधिसभाका सदस्य गगन थापाले कमलपोखरीमा अनावश्यक बखेडा झिकेको भन्दै महानगरपालिकाले पुनर्निर्माणको काम नरोक्ने चेतावनी दिएको छ । प्रमुख शाक्यले केही दिनभित्रै कमलपोखरी पुनर्निर्माणबारे पत्रकार सम्मेलन नै गरेर जानकारी दिने बताउँदै आएका छन् । कंक्रिट संरचना भत्काउँदा सम्पदाप्रेमी सुशन वैद्यलगायत पनि कमलपोखरी पुगेका थिए। उनीहरुले ती संरचना विना जानकारी भत्काएको भन्दै अवरोध गर्न खोज्दा केहीबेर प्रहरीसँग ठेलमठेल पनि भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर