मतदान स्थल र केन्द्र उपयुक्त स्थानमा बनाउन निर्वाचन आयोगको निर्देशन – Nepal Press

मतदान स्थल र केन्द्र उपयुक्त स्थानमा बनाउन निर्वाचन आयोगको निर्देशन

काठमाडौं । त्रुटि रहीत मतदाता नामावली बनाउन र मतदान स्थल तथा मतदान केन्द्र पुनरावलोकन गर्दा कार्यविधि अनुसार नै उपयुक्त र पायक पर्ने स्थानमा कायम गर्न निर्वाचन आयोगले निर्देशन दिएको छ ।

आगामी बैशाख १७ र २७ गते गरी दुइ चरणमा तोकिएको प्रतिनिधि सभाको निर्वाचनको तयारीका लागि निर्वाचन आयोगले भक्तपुर जिल्लाका सरोकारवालासँग छलफल गर्ने क्रममा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले यस्तो निर्देशन दिएका हुन् ।

निर्वाचन अधिकृतको कार्यालय सम्बन्धित निर्वाचन क्षेत्रमा नै स्थापना गर्ने र आचार संहिता अनुगमन सम्बन्धी समिति स्थानीय तह स्तरमा समेत गठन गर्नेगरी तयारी भइरहेको प्रमुख निर्वाचन आयुक्त थपलियाले बताए ।

निर्वाचन सम्बन्धी तयारी कार्यमा कुनै कमी कमजोरी हुन नदिनेतर्फ सजग र सचेत रही निर्वाचनका गतिविधिमा भक्तपुर जिल्लालाई नमूना जिल्ला बनाउनेतर्फ पहल गर्न समेत प्रमुख निर्वाचन आयुक्तले निर्देशन दिएको आयोगका प्रवक्ता समेत रहेका सहसचिव राजकुमार श्रेष्ठले एक विज्ञप्तीमार्फत जानकारी गराएका हुन् ।

प्रमुख निर्वाचन आयुक्त थपलियाको उपस्थितिमा जिल्ला समन्वय समिति प्रमुख नवराज गेलाल, प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई लगायत सुरक्षा निकायका प्रमुख र जिल्ला निर्वाचन अधिकारी कृष्णबहादुर कुवँरसँग आयोगले छलफल गरेको हो ।

छलफलमा जिल्ला समन्वय समितिका प्रमुखले जिल्लाको राजनीतिक वातावरण सम्बन्धमा र जिल्ला कार्यक्रम तथा अनुगमन समिति एवम् जिल्ला मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिका संयोजक प्रमुख जिल्ला अधिकारीले मतदाता नामावली अद्यावधिक कार्यक्रम तथा मतदान स्थल तथा मतदान केन्द्र पुनरावलोकन कार्यक्रमको प्रगतिका बारेमा जानकारी गराएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर