राष्ट्रपतिमाथि ‘अमर्यादित’ टिप्पणीले रामकुमारी झाँक्री विवादमा – Nepal Press

राष्ट्रपतिमाथि ‘अमर्यादित’ टिप्पणीले रामकुमारी झाँक्री विवादमा

निसानामा विद्या भण्डारीदेखि इन्दु सुब्बासम्म

काठमाडौं । नेकपा विभाजनपछि दुई पक्षका नेताहरुबीच आपसमा गालीगलौजको श्रृंखला लम्बिंदै गएको छ । तर, शीर्ष नेताहरूको बाझाबाझलाई समेत ओझेलमा पार्दै सामाजिक सञ्जालमा भाइरल भइरहेकी छन् प्रचण्ड-माधव पक्षकी युवा नेतृ रामकुमारी झाँक्री ।

अरु नेताहरुले इतर समूहमाथि आरोप-प्रत्यारोप गरिरहँदा झाँक्री चाहिं राष्ट्रपति विद्यादेवी भण्डारीमाथि आक्रमण केन्द्रित गरेर विवादमा तानिएकी हुन् । उनले राष्ट्रपतिमाथि गरेका केही टिप्पणी अमर्यादित मात्र नभएर ‘महिलाविरोधी’ समेत रहेको आरोप लागेको छ ।

झाँक्रीको भाइरल एउटा भिडियोमा उनले राष्ट्रपतिलाई ‘बडामहारानी’को संज्ञा दिएकी छन् । भिडियोमा उनी यस्तो सुनिन्छिन् :-

‘राष्ट्रपतिका कुरा त के गर्नु, बडामहारानीले चुनाव हुन्छ भन्नुभएछ अस्ति निर्वाचन आयोगको प्रतिवेदन बुझ्दै । म बडामहारानीलाई सन्देश दिन चाहन्छु, निर्वाचनको तयारीका लागि कारगेट छोडेर सुख, सुविधा ऐसआराम शीतलनिवास छोडेर पहिला कोटेश्वरमा आउनुस् । चाबहिल कि बानेश्वरतिर कता बसाइ छ भन्ने सुन्या थेँ । होइन भने बालकोटै गए पनि हुन्छ ।’

उनी थप्छिन्ः

‘नेपालको कुन जिल्लाबाट चुनाव लड्ने हो त्यसको तयारी गरेर सन्देश पठाउनुस् । तपाईंसँग म पनि अलि भारी हुन्छु होला, (औंलो तेस्याउँदै) यही रेखा लोप्चनलाई चुनाव लडाउँछौं र हराउँछौं । त्यसकारण बडामहारानीले हामीले ल्याएका अधिकारहरूमाथि गिद्देदृष्टि लगाएर खास गुटको मान्छेको तुष्टि फेर्नका लागि गरिएका असंवैधानिक कदम स्वीकार्य छैन । त्यसकारण यो नेकपा एमालेले २०५० सालमा गरेको भूल थियो । यहाँ अन्यथा नहोस् । तमाम दिदी-बहिनी शहीद परिवारलाई भनेको होइन । मदन भण्डारीको हत्यापछि सेतो सारी लगाएर जुन शक्ति आर्जन गर्ने गलत सांस्कृतिक अभ्यास गरेको थियो नेकपा एमालेले, त्यसको प्रत्युत्पादन हो विद्या भण्डारी । आज यो संविधानको चीरहरण गर्ने कारण बनेको छ । त्यसकारण संस्कृति पनि सही हुनुपर्ने रहेछ ।’

धरानमा मेयर बितेपछि उनकी पत्नीलाई टिकट नदिंदा चुनाव हारेको पनि उनले बताएकी छन् । धरानका मेयर तारा सुब्बाको निधनपछि भएको उपचुनावमा ताराकी पत्नी इन्दुले टिकट दाबी गर्दै निवेदन दिएकी थिइन् ।

झाँक्रीको अभिव्यक्तिमा आएका दुईवटा विषय विवादित बनेका हुन् । उनले राष्ट्रपतिलाई ‘शीतलनिवास छोडेर बालकोट जान’ सुझाव दिनुले एकल महिलाको चरित्रहत्या भएको टिप्पणी सामाजिक सञ्जालमा गरिएको छ । यसैगरी, ‘सेतो सारी’ का विषयमा उनले गरेको सांस्कृतिक टिप्पणीलाई पनि आपत्तिजनक मानिएको छ ।

शहीदकी छोरीको कटाक्ष

सामाजिक संजालमा झाँक्रीको विवादित अभिव्यक्तिको धेरैले विरोध गरेका छन् । तीमध्ये शहीद ऋषि देवकोटा आजादकी छोरी जोशिला देवकोटाको टिप्पणी मार्मिक छ । उनी विद्यार्थी राजनीतिमा रामकुमारी झाँक्रीसँगै थिइन् ।

जोशिला लेख्छिन्, ‘उहिले मान्छेहरुले मेरी आमाको पनि कुरा काट्थे । सिन्दूर मेटिएकी मेरी आमालाई पनि विभिन्न लाञ्छना लगाउने तर खुसुक्क मात्रै । झाँक्री दिदीजस्तो मञ्‍चमा चढेर राष्ट्रपतिलाई कोसँग कता जानु भन्दै कसैले कुर्लिएनन् । त्यो बेला सडकका नारामा मेरी आमाको पोइ चुनिएनन् । हाम्री आमाहरूको आन्दोलनले रामकुमारी झाँक्रीजस्ता महिलाले ३३ प्रतिशतको कोटा लिएर संसदमा पुगे पनि । महिलाको नैतिकतामा औंला उठाएर उसलाई पछार्ने तँछाड मछाड गर्ने फोहोरी रोगीहरू माइक समाउन पाए पनि । आज मन्चबाटै हाम्री आमा,कार्कीहरूको पोइ खोजिदिने भए ।’

झाँक्रीको पछिल्लो अभिव्यक्तिप्रति प्रचण्ड-माधव पक्षधर नेकपाका आन्दोलन परिचालन कमिटी सचिव डा. विजय पौडेलले समेत विमति जनाएका छन् । त्यस्तै माओवादी जनयुद्ध समेत लडेकी र हाल झाँक्री आबद्ध नेकपामै रहेकी पत्रकार संचारकर्मी आस्था केसी, मानवअधिकार आयोगकी पूर्व सदस्य मोहना अन्सारीले पनि झाँक्रीको अभिव्यक्तिलाई गलत भनेका छन् ।

सामाजिक सञ्जालमा आएका केही प्रतिक्रियाहरू हेरौंः

पहिलेदेखि माधव नेपालको गुटमा रहेकी नेतृ झाँक्री पार्टी एक छँदा नै अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको कटु आलोचक थिइन् । ओली समर्थकबाट सामाजिक सञ्जालमा सर्वाधिक आलोचना खेप्नेमा उनी पर्थिन् । पार्टी विभाजनपछि उनले ओलीलाई मात्र नभएर राष्ट्रपतिलाई पनि निशाना बनाइरहेकी छन् । अहिले उनीमाथि ओली पक्षकाले मात्र नभएर ‘न्यूट्रल’मानिसहरूले पनि उनको आलोचना गर्न थालेका छन् । महिलावादीहरुले झाँक्रीको अभिव्यक्ति आपत्तिजनक बताएका छन् ।

‘यस्तालाई राजनीतिक बहिष्कार गर्नुपर्छ’

निर्मला शर्मा, महिला अभियन्ता

हामीले राजनीतिलगायतका हरेक क्षेत्रमा महिलाको सहभागिता बढाउनुपर्छ भनेर लविङ गरिरहेको वर्षौं भयो । तर, हिजो रामकुमारी झाँक्रीजीको भिडियो क्लीप मैले हेरेँ । औधी दु:ख लागेको छ ।

शुरूमा त उहाँले ‘बालकोट गए हुन्छ’भनेर अपमानजनक टिप्पणी गर्नुभयाे। ठीक छ त्यो आवेशमा आएर भन्नुभयो रे । तर, फेरि अगाडि बढेर उहाँले सेतो सारीको विषयलाई जोडेरसमेत आलोचना गर्नुभयो । यो समग्र एकल महिलाकै अपमान हो ।

नेपालमा महिलालाई हरेक क्षेत्रमा गाह्रो छ । त्यसमाथि एकल महिलालाई झन् गाह्रो छ । देशको राष्ट्रपतिमाथि त यस्तो तुच्छ आक्रमण हुन्छ भने अरु एकल महिलाको अवस्था के होला भन्ने सहज अनुमान लगाउन सकिन्छ । मलाई अझै धेरै दु:ख यसकारण लाग्यो कि यो अभिव्यक्ति पनि एक महिला नेतृबाटै आएको थियो । उहाँले राष्ट्रपतिको कदमको विरोध गर्न अरु राजनीतिक कुरा गरेको भए हुन्थ्यो । तर, व्यक्तिगतस्तरमै लाञ्छित गर्ने खालको उक्त टिप्पणी अत्यन्तै निन्दनीय छ । यसले वर्षौंदेखिको संघर्षबाट महिलाका क्षेत्रमा प्राप्त उपलब्धि र बनेका कानूनको समेत अवमूल्यन भएको जस्तो लाग्छ । एक महिलाका हिसाबले मलाई लज्जाबोध भएको छ ।

विद्यादेवी भण्डारी एउटा महिलाभन्दा पहिले देशकाे राष्ट्रपति हो । एउटा सम्मानित ओहाेदामा रहेको महिलामाथि यसरी अनर्गल टिप्पणी २१ औं शताब्दीमा निन्दनीय छ । यस्ता नेतृलाई राजनीतिक रुपमा बहिष्कार गर्नुपर्छ ।


प्रतिक्रिया

3 thoughts on “राष्ट्रपतिमाथि ‘अमर्यादित’ टिप्पणीले रामकुमारी झाँक्री विवादमा

  1. जनताकै लागि राजनीति गरेको छु भन्नेले समाजको संवेदनशीलतालाई पनि बुझ्नु पर्छ । आवेशमा आएर व्यक्तिगत लांछना लगाउने गरी गरिएका टिप्पणीलाई सदा घृणा गरिनु पर्छ त्यो जोसुकैले बोले पनि ।

Leave a Reply to Kailash Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर