कमलाको इजलासबाट ‘रेकर्ड ब्रेक’- एकै दिन २४३ थान मुद्दाको फैसला – Nepal Press

कमलाको इजलासबाट ‘रेकर्ड ब्रेक’- एकै दिन २४३ थान मुद्दाको फैसला

काठमाडौं । नेपालको न्यायिक इतिहासमै एकैदिन २४३ थान मुद्दाको फैसला गरेर भक्तपुर जिल्ला अदालतकी न्यायाधीश कमला पौडेलले अहिलेसम्मको ‘रेकर्ड ब्रेक’ गरेकी छन् । माघ १६ गते शुक्रवार न्यायाधीश पौडेलको इजलासबाट यति ठूलो संख्यामा लगाउ भएका मुद्दा किनारा लागेका हुन् ।

वादी भक्तिलिला झा प्रतिवादी सुनिलगोपाल झा भएको अंश चलन मुद्दा २०६३ देखि पुनरावेदन हुँदै सर्वोच्च अदालत र सर्वोच्चबाट पुनः जिल्ला अदालतमा फर्किएको थियाो । त्यसपछि पटक पटक निर्णय बदर,हक कमायम र जालजासी समेतका मुद्दा थपिदै जाँदा १४ वर्षमा २४३ वटा लगाउ मुद्दा भएका थिए ।

नेपालको न्यायिक इतिहासमै यति धेरै मुद्दा एकैपटक फैसला भएको सम्भवतः पहिलो रहेको भक्तपुर जिल्लाका सूचना अधिकारी विमल पराजुलीले नेपालप्रेसलाई बताए । उनका अनुसार मुद्दाहरु थपिदै जाँदा २४३ वटा दर्ता भएकोमा सबै मुद्दाहरु २ वर्ष नाघिसकेका थिए ।

पराजुलीले भने, ‘यसअघि पटक-पटक अन्य श्रीमानहरुबाट हेरिदै आएकोमा यही माघ १६ गते कमला पौडेल श्रीमानको इजलासबाट ती सबै २४३ थान मुद्दाहरु एकैपटक फैसला भएका छन् । नेपालको न्यायिक इतिहासमै यति धेरै संख्यामा लगाउ भएका मुद्दाहरु फैसला एकैपटक फैसला भएको सायद पहिलो होला ।’

के थियो मुद्दाको जालो ?

भक्तिलिला झा र सुनिलगोपाल झाको अंश मुद्दा भक्तपुर जिल्ला अदालतमा २०६३ मा दर्ता भएको थियो । २०६५ साउन २२ मा अंश नपाउने गरी भक्तपुर जिल्ला अदालतबाट फैसला भयो ।

सोही फैसाललाई तत्कालीन पुनरावेदन अदालत पाटनबाट २०६६ असोजमा सदर भएपछि सोउपर सर्वोच्च अदालतमा पुनः मुद्दा दर्ता भएको थियो । सर्वोच्च अदालतले २०७३ वैशाख १२ गते जिल्ला र पुनरावेदनको फैसला उल्टिने भनी पुनः इन्साफ गर्न मिसिल फिर्ता पठायो ।

सर्वोच्चको आदेश बमोजिम २०७३ माघ १७ मा भक्तपुर जिल्ला अदालतमा फेरि सोही अंश मुद्दा दर्ता हुन आएको पराजुलीले बताए । त्यसपछि पटक-पटक त्यसै मुद्दासित सम्बन्धित भएर निर्णय बदर र हक कायम र जालसाजीका समेतका मुद्दाहरु थपिदै जाँदा जिल्ला अदालतमा २४३ थान लगाउ मुद्दा पुगेका थिए । जिल्लाले अंश पाउने नै ठहर गरेको छ ।

न्याय सेवा आयोगले जिल्ला न्यायाधीशहरू खुला प्रतिस्पर्धाबाट लिने प्रणाली थालेपछि पहिलो खुला प्रतिस्पर्धाबाट न्यायाधीशमा नाम निकालेकी पौडेलले यसअघि रुपन्देही र रामेछाप जिल्ला अदालतको पनि नेतृत्व गरिसकेकी छन् । उनको न्यायिक क्षमता देखिएरै धेरै मुद्दाको चाप हुने भक्तपुरमा लगिएको थियो ।


प्रतिक्रिया

2 thoughts on “कमलाको इजलासबाट ‘रेकर्ड ब्रेक’- एकै दिन २४३ थान मुद्दाको फैसला

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर