ओली पक्षको जनसभा नारायणहिटी अगाडि हुने – Nepal Press

ओली पक्षको जनसभा नारायणहिटी अगाडि हुने

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को वागमती प्रदेश कमिटी आउँदो माघ २३ गते काठमाडौँ गर्ने जनसभाको तयारीमा जुटेको छ । सो जनसभा नारायणहिटी दरबारको दक्षिण ढोकातर्फको सडकमा गरिने टुंगो लागेको छ ।

कमिटीले सभामा काठमाडौंका साथै प्रदेशका १३ वटै जिल्लाका कार्यकर्ता र समर्थकलाई सहभागी गराउने भएको छ ।

वागमती कमिटीका अध्यक्ष आनन्दप्रसाद पोखरेलले नारायणहिटीको गेटअघि मञ्‍च बनाएर कार्यक्रम गरिने बताए । उनले नेपालप्रेससँग भने, ‘अरु स्थान साँघुरो भएको र धेरै मान्छे भेला हुन नसक्ने भएकाले हामीले नारायणहिटी अगाडिको सडकलाई रोजेका हौं । नारायणहिटीदेखि घण्टाघरसम्मको सडकमा सभा हुनेछ ।’

कमिटीका सचिव खेमप्रसाद लोहनीले प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओलीलगायत शीर्ष नेताले सभामा सम्बोधन गर्ने जानकारी दिए ।

‘अराजकताको अन्त्य, भौगोलिक अखण्डता, संविधानको रक्षा गर्दै विकास र समृद्धिमार्फत राजनीतिक स्थायित्वका लागि ताजा जनादेश’ भन्ने नाराका साथ हुने सभामा सांस्कृतिक झाँकी, भेषभूषासहित जनसांस्कृतिक महासघबाट सांगीतिक प्रस्तुति दिइनेछ ।

प्रदेश कमिटीको यही माघ ६ गतेको बैठकले कमिटी पुनर्गठन गरी सचिव आनन्दप्रसाद पोखरेललाई अध्यक्ष र निवर्तमान सांसद लोहनीलाई सचिवमा चयन गरेको थियो । सभा सफलतापूर्वक सम्पन्न गर्न नेकपा काठमाडौँ उपत्यका संयोजक कृष्णगोपाल श्रेष्ठको संयोजकत्वमा एक हजार १११ सदस्यीय जनसभा परिचालन कमिटी गठन गरिएको छ ।

यस्तै प्रदेशका सबै पालिकामा ३०१ र वडास्तरमा १०१ सदस्यीय, सम्पर्क समन्वय मञ्चको १०१ सदस्यीय र सबै जनवर्गीय सङ्गठनको यही माघ १५ गतेभित्र ५०१ सदस्यीय जनपरिचालन र कमिटी गठन गरिएको छ । राष्ट्रिय युवा संघ, अनेरास्ववियु र नेपाल खेलकूद महासंघले स्वयम्सेवक परिचालन गर्ने जनाइएको छ ।

सो दिन माइतीघर मण्डला, त्रिपुरेश्वर, जमल, पुतलीसडक, घण्टाघरलगायत स्थानबाट कलाकारसहितको सांगीतिक प्रस्तुति लिएर टोली जुलूसमा सहभागी हुने छ । सभाको तयारीका लागि यही माघ २१ गते काठमाडौँमा मोटरसाइकल र्या‍लीसमेत गरिने जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर