परिणाम देखिने गरी काम गर्छौँ : वरिष्ठ उपाध्यक्ष ढकाल – Nepal Press

परिणाम देखिने गरी काम गर्छौँ : वरिष्ठ उपाध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघको नयाँ नेतृत्वले परिणाम देखिने गरी काम गर्ने बताएका छन् ।

धादिङ्ग उद्योग वाणिज्य संघको २७ औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै ढकालले महासंघको नयाँ नेतृत्व युवा र केही गरौं भन्ने हुटहुटीसहितको भएको र परिणाम देखिने गरी काम गर्ने बताए ।

‘नयाँ नेतृत्व आइसकेपछि नेतृत्वको पूर्णताका लागि अहिले विभिन्न विषयगत समितिहरु बन्ने क्रममा छन् । समितिहरुले पूर्णता पाएसँगै तपाईं हामीले महसुस गर्ने गरी काम हुनेछन् । हामीले परिणाम देखिने गरी काम गर्ने छौं’, ढकालले भने ।

जिल्ला नगरका समस्याहरु लगभग एकै प्रकारका हुने बताउँदै उनले ति समस्याको समाधानमा महासंघको नेतृत्व जिम्मेवार भएर लाग्ने बताए ।

देशभित्रै रोजगारी सृजना गर्न र बढीभन्दा बढी राजस्व संकलनका लागि तीनतहको सरकारको तर्फबाट व्यवसाय र व्यवसायीलाई सहजीकरण गर्नुपर्ने बताउँदै उनले रोजगारी र राजस्वाको पहिलो लाभग्राही स्थानिय तहहरु भएकोले स्थानिय तहले लगानी मैत्री वातावरण बनाउन विशेष पहल गर्नुपर्ने उल्लेख गरे ।

ग्लोबल आइएमई बैंकका अध्यक्ष समेत रहेका ढकालले महासंघको तर्फबाट मात्र नभई एउटा बैंकको अध्यक्षको हैसियतमा पनि आफूले स्थानिय कृषकहरुलाई बिना धितो कर्जा प्रवाह गर्न बैंक तयार रहेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *