सुर्खेतमा बढ्यो चोरी, नियन्त्रणमा प्रहरी असफल भएको गुनासो – Nepal Press

सुर्खेतमा बढ्यो चोरी, नियन्त्रणमा प्रहरी असफल भएको गुनासो

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा दैनिक चोरीका घटना बढेपनि नियन्त्रण गर्न प्रहरी असफल भएको गुनासो बढ्न थालेको छ ।

गएराति वीरेन्द्रनगरको मुटुमा रहेको बुद्धपथमा ट्रष्ट एजुकेशन सेन्टरमा चोरी भयो । हरि कंडेलले सञ्चालन गरेको उक्त इन्ष्टिच्यूट नगर प्रहरी कार्यालयको करिब ५ सय मिटर दूरीमा छ । कंडेलको इन्ष्टिच्यूटबाट चोरले दुईवटा ल्यापटप, ५० हजारभन्दा बढी रकम र कागजात लगेका छन् । ‘बजारमा राखिएको सीसी क्यामेरा नै विग्रिएको थियो । प्रहरीमा निवेदन भने दिएको छु ।’बुद्धपथमा नै रहेको एक कुरियर सर्भिसको पसलमा पनि चोरी भएको छ ।

एक महिनाअघि वीरेन्द्रनगर-७ इत्रामको भानुचोकमा प्रदेश सभा सदस्य कौशिल्यावती खत्री बस्ने कोठामा दराज फोडेर सामान बेवारिसे पारेको अवस्थामा खत्रीले भेटिन् । ‘मेरो कोठाको निरीक्षण गर्न प्रहरी डिआइजीसमेत आएका थिए । अहिलेसम्म चोर पत्ता लागेको छैन’, उनले भनिन् ।

२ महिनाअघि पनि अर्का प्रदेश सभा सदस्य एवम् विधायन समितिका अध्यक्ष दानसिंह परियारको कोठाबाट ल्यापटप, कागजात, केही नगद, भाँडाकुँडा, कपडा गरेर ६ लाखको भन्दा बढी चोरी भएको थियो । ‘कम्तीमा बजारमा भइरहेको चोरी आतंकलाई प्रहरीले निस्तेज पार्न पहल गर्नुपर्थ्यो ’, परियारले भने ।

वीरेन्द्रनगर ६ कै शनिहल लाईनमा तीन महिनाअघि एउटा किराना पसलमा एक लाखभन्दा बढी नगद, तेल तथा अन्य सामानहरू चोरी भयो ।

‘प्रहरी कार्यालयकै नजिक भइरहेका चोरी नियन्त्रण तथा चोर पक्राउमा प्रहरी पूर्ण असफल भएको छ’, वीरेन्द्रनगर नगरपालिका- ६ की रीता शाही भन्छिन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतले तीन दिनअघि उपलब्ध गराएको विवरण अनुसार गत साउनयता १६ वटा चोरीका मुद्दा दर्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीका अनुसार आर्थिक वर्ष २०७४/७५ मा ६ वटा मात्रै चोरीका घटना भएको थियो । यस्तै आर्थिक वर्ष २०७५/७६ मा ४७ र २०७६/७७ मा ३३ घटना भएको थियो ।

डीएसपी घर्तीले दर्ता भएका चोरीका मुद्दाको मात्र जानकारी दिए । पत्रकार परेका चोरको संख्याबारे उल्लेख गरेनन् ।

प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक एवम् सूचना अधिकारी माधवप्रसाद श्रेष्ठले चोरी नियन्त्रण गर्न जिल्ला प्रहरीमा निर्देशन दिएको बताए । उनले भने, ‘यदि प्रहरीबाट कमजोरी भएको छ भने हामी कारबाही गर्छौं ।’

चोरी घटनामा तत्काल कारवाही गर्न समस्या हुने बताउँदै उनले भने, ‘सामानसहित पक्राउ पर्नेको संख्या कम हुने गर्छ । चोर भनेर सामानसहित फेला नपरेकालाई कारबाही गर्न मिल्दैन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *