ढोकामा उभिंदा उभिंदै एक्लिएका वामदेव – Nepal Press
विचार

ढोकामा उभिंदा उभिंदै एक्लिएका वामदेव

नेपाल कम्युनिष्ट पार्टीमा अनौपचारिक विभाजन हुँदा पूर्व एमाले समूह पनि एकजुट रहन सकेन । एमाले समूहभित्रै विभाजन आउनुमा धेरै कारण छन् । एकताको नाममा कसरी ध्वंस भइरहेको थियो, भित्रभित्रै भुसको आगो कसरी लगाइएको थियो भन्ने कुरामा कमै मात्र चर्चा भएको पाइन्छ । मुख्यतः केपी शर्मा ओली र माधवकुमार नेपाल दोषी छन् । तर, यहाँ तेस्रो पक्षको भूमिकालाई पनि नजरअन्दाज गर्न सकिन्न ।

ती ‘तेस्रो पक्ष’हुन्, सचिवालय सदस्य वामदेव गौतम । उनले सचिवालयमा कुनै पनि पक्षलाई बहुमत नदिएर अनिर्णयको बन्दी बनाइदिए । झट्ट हेर्दा फुटमा निर्णायक जस्ता नदेखिएका तर एक जिम्मेवार व्यक्ति वामदेव गौतम पनि हुन् भन्ने कुरा कैयौं तथ्यले पुष्टि गर्दछ ।

माधवकुमार नेपालले प्रचण्डसँग मिलेर केपी शर्मा ओलीमाथि विजयी भयौं भनेर जसरी घोषणा गरेका छन्, ढिलोचाँडो माधव नेपाल र उनको समूहले त्यसको मूल्य चुकाउनुपर्नेछ । ओली समूहले पनि फुटको मूल्य चुकाउनुपर्छ । देशको राजनीतिमा एमालेको दोस्रोपटक भएको विभाजनले त्यो पार्टीका नेताहरुलाई धेरै पीडा दिने निश्चित छ । नेकपाको फुटले देशकै राजनीतिमा उथलपुथल ल्याइदिएको छ । यो लेखमा वामदेवको राजनीतिक प्रवृत्तिको बारेमा चर्चा गर्न खोजिएको छ ।

नेपालको राजनीतिमा वामदेव गौतम व्यक्तिमात्रै नभएर प्रवृत्तिकै रूपमा विकास भएको नाम हो । एमाले र माओवादी दुवै समूहका राजनीतिक घटनाक्रम र राजनीतिसँग जोडिएका उनका कैयौं प्रवृत्ति उल्लेखनीय छन् ।

माओवादीको ‘फुटाउ र राज गर’ नीति

संगठनात्मक विधि, पद्धति र बहुदलीय प्रतिस्पर्धाबाट आएको एमाले संसदीय अभ्यासमा संस्थागत हुँदै अगाडि बढेको राजनीतिक पार्टी थियो । माओवादीको नीति २०५२ देखि एमाले भत्काउने थियो र २०७७ सम्म पनि एमाले भत्काउने नै थियो । २०५६ सालमा एमालेबाट फुटेर माले भएका धेरै नेता-कार्यकर्ता माओवादीले एकीकृत गरेको थियो । प्रचण्डको ‘फुटाउ र राज गर’ को नीति बुझ्न नसक्नु नै वामदेव गौतम र माधवकुमार नेपालको ठूलो राजनीतिक भुल रह्यो ।

नेकपा (एमाले) २०५६ मा विभाजन हुँदा सबैभन्दा पीडा एमालेका नेताहरुलाई भएको थियो । त्यसको ठूलो फाइदा भने प्रचण्ड र माओवादी समूहले लिएको थियो । वामदेव गौतम सांसदहरूको झण्डै आधा समूह लिएर फुटे, एमाले फर्कंदा कार्यकर्ताको ठूलो समूह माओवादीसँग गइसकेको थियो, सीपी मैनाली अलग्गै बसे । गौतम सानो समूह लिएर एमालेमा फर्किए ।

इतिहासलाई अर्काे मोहडाबाट दोहोर्‍याउँदै माधव नेपालको सहयोगमा २०७७ मा पनि प्रचण्ड समूहले एमालेको फुटबाट ठूलो फाइदा लिएको छ । यसरी वामदेव गौतम र माधवकुमार नेपाल आफूले निर्माण गरेको पार्टी ध्वंस गरेर माओवादी र प्रचण्डका सहयोगी सावित भएका छन् । सैद्धान्तिक विषयको चर्चा गर्ने हो भने बहुदलीय जनवादलाई त ‘लौरो न हतियार’ बनाइसकेका छन् ।

माओवादीले नेकपा (मसाल) लाई पनि धेरैपटक फुटाउन सफल भएको छ । विभिन्न कालखण्डमा अरु पार्टीहरुलाई फुटाउँदै जम्मा गरेका ‘पुरेतका गाई’हरुले माओवादी पार्टी सञ्चालन गरिरहेका छन् । पुरेतले जतिसुकै गाई जम्मा गरे पनि ती सबै पाल्न सम्भव हुँदैन । किनभने उसको मुख्य पेशा पुरेत्याइँ हो, गाई पाल्नु होइन । प्रचण्ड समूहको मुख्य पेशा अन्य पार्टी फुटाउनु र शक्ति आर्जन गर्नु हो, आफ्नो पार्टी निर्माण गर्नु होइन ।

प्रचण्डले मसाल फुटाएर जम्मा गरेका बाबुराम भट्टराई, टोपबहादुर रायमाझी, मणि थापा, नवराज सुवेदीलगायतका नेताहरु आज माओवादीसँग छैनन् । प्रचण्ड र माओवादीको मुख्य उद्देश्य आफ्नो पार्टी विधि र पद्धतिबाट बलियो बनाउने होइन, अन्य पार्टी फुटाएर राज गर्ने हो । अब प्रचण्डले माधव नेपाल र उनको समूहमाथि राज गर्ने निश्चित छ । उनले जति समय सक्छन्, त्यो समूहमाथि राज गर्छन् ।

गौतमको कमजोर राजनीतिक विश्लेषण

वामदेव गौतमको सबैभन्दा ठूलो समस्या भनेकै राजनीतिक र सांगठनिक विश्लेषण क्षमताको अभाव हो । उनले जुन राजनीतिक र सांगठनिक विश्लेषण गर्ने गर्दछन्, त्यो पार्टीको दीर्घकालीन हित र तत्कालीन राजनीतिक शक्ति सन्तुलनको आधारमा होइन कि पार्टीभित्र आफ्नो भूमिका के रहन्छ भन्नेलाई केन्द्रमा राखेर गर्छन् । उनले आफ्नो स्वार्थको कारण ती विश्लेषण र आफ्नो भूमिका पनि फेरिरहन्छन् ।

वामदेव गौतमलाई पार्टीभित्र बारम्बार भकुण्डो बनाइने गरेको चर्चा नेकपाभित्र भइरहन्छ । उनी किन बारम्बार भकुण्डो भइरहन्छन्, त्यसको विश्लेषण नगरिकन गौतमको भूमिकाको व्याख्या गर्न सकिंदैन । राजनीतिमा एउटा भनाइ छ, ‘डन्ट स्ट्याण्ड अन द डोर’। जब कोही ढोकामा उभिन्छ भने अन्य व्यक्तिहरू ढोकाभित्र जाँदा पनि, भित्रबाट बाहिर निस्कँदा पनि उभिएको मान्छेलाई धकेल्नैपर्ने हुन्छ ।

विगत लामो समयदेखि वामदेव गौतम नेकपाको केन्द्रीय सचिवालयको ढोकामा उभिएका थिए । ओलीतिर ४ जना र प्रचण्डतिर ४ जना भएको अवस्थामा ढोकामा उनी एक्लै थिए । सचिवालयमा ९ जनामध्ये गौतम लगातार केपी ओली समूहमा उभिएका भए ओलीले बहुमतको आधारमा धेरै निर्णय गरेर अगाडि जान सक्थे । गौतमले ओलीलाई बहुमत पनि दिएनन् र प्रचण्डलाई साथ पनि दिएनन् ।

नेकपा सचिवालयको बैठकमा गौतम घडीको पेण्डुलम जस्तै यता र उता हल्लिएर मात्रै सक्रिय भए । वास्तविकता सेकेण्ड सुई नै किन नहोस्, समय दिन काम लाग्छ । तर पेण्डुलम काम लाग्दैन भन्ने कुरा वामदेवले बुझ्न सकेनन् । घडीको पेण्डुलम सुईभन्दा ठूलो हुन्छ तर समय दिन काम लाग्दैन । ठीक त्यस्तै उनी नेकपाको निर्णय प्रक्रियामा काम लाग्ने पात्र बन्न सकेनन् ।

नेपाल कम्युनिष्ट पार्टीभित्र वामदेव गौतमकै कारण कैयौं निर्णय हुन पाएनन् । एउटा कम्युनिष्ट पार्टीले निर्णय गर्न नसक्दा त्यसको असर के हुन सक्छ भन्ने कुरा वामदेवले कहिल्यै ख्याल गर्न सकेको देखिएन । पार्टीलाई अनिर्णयको बन्दी बनाउनको लागि उनले ठूलो भूमिका खेलेका छन् । नेपालका कुनै पनि विश्लेषकले यो कोणबाट विश्लेषण गर्न सकेको देखिएन ।

लामो समयसम्म ढोकामा उभिएपछि उनी दुवै समूहको लागि विश्वासयोग्य बन्न सकेका छैनन् । आफ्नो स्वार्थ कहिले पूरा होला र निर्णय दिउँला भनेर वामदेवको स्वार्थ दुवै समूहले पूरा गरिदिन सक्ने अवस्था थिएन ।

एकताकेन्द्र-मसालको झल्को

प्रतिगमनविरुद्ध आन्दोलनको समय २०६२ मा नेकपा (एकताकेन्द्र-समाल) मा अन्तरविरोध चर्किएको थियो । पार्टीका महामन्त्री मोहनविक्रम सिंह र सहमहामन्त्री नारायणकाजी श्रेष्ठ समूहबीच ‘न सम्बन्ध, न सम्बन्धविच्छेद’ को स्थिति पैदा भएको थियो । पार्टीले कुनै पनि निर्णय गर्न सक्दैन थियो ।

मोहनविक्रम सिंहले नारायणकाजी श्रेष्ठलाई माओवादीको पिछलग्गु घोषणा गरेका थिए । कालान्तरमा श्रेष्ठ माओवादीसँगै मिल्न पुगे । मोहनविक्रम सिंह र चित्रबहादुर केसीले पूर्वमसाल समूह एकजुट हुनुपर्ने र एकता केन्द्रसँग सँगै बस्न नसकिने निष्कर्षका साथ गोरखपुरमा भेलाको आयोजना गरेका थिए । पार्टी फुट्न नदिने भन्दै तेस्रो धारको रुपमा उदाएको रामसिंह श्रीसको समूहले उक्त भेला बहिस्कार गर्‍यो ।

पार्टी एकता कायम राख्न दबाब दिनुपर्ने अभियानको लागि गठन भएको तेस्रो धार अहिले वामदेवको समूहजस्तै दुवैतिर अस्वीकृत भयो । अन्ततः रामसिंह समूह छुट्टै पार्टी गठन हुन पुग्यो । पूर्वमसालको झण्डै आधा शक्ति हुत्याएको समूहले आफूलाई त्यही रुपमा अडाउन सकेन । धेरैजसो माओवादीमा गए । श्रीसको समूह अन्ततः मोहन वैद्यको समूहसँग एकता गरेर बसेको छ ।

अहिले वामदेव गौतमसँग अत्यन्तै सानो समूहमात्रै बाँकी छ । उनले त्यो कुरा स्वीकार गरेका पनि छन् । तर उनी पार्टीभित्र किन त्यसरी एक्लै हुन पुगे ? विचारको लागि उनी एक्लै भएका होइनन् । पदको खोजी गर्दै जाँदा उनी एक्लै हुन पुगेका हुन् । पार्टीमा प्रभाव जमाएर पद प्राप्त गर्ने भन्दा पनि केपी शर्मा ओलीसँग लेनदेनको लागि बार्गेनिङ गरेर आफ्नो समय बर्बाद गरे ।

वामदेवसँग भएका विकल्प

वामदेवले पुनः पार्टी एकता गराएरै छोड्ने घोषणा गरेका छन् र पार्टी एकता गर्नको लागि दबाब समूह गठन गरेका छन् । यदि नेकपा भोलिका दिनमा एकता भएछ भने पनि ओली र प्रचण्ड समूहको आवश्यकताको आधारमा एकता हुनेछ । वामदेव गौतमको दबाबका कारण एकता हुने कुनै पनि आधारहरु छैनन् ।

वामदेवको बल पुग्थ्यो भने पार्टी विभाजन हुने थिएन । वास्तवमा वामदेवसँग पार्टी एकता जोगाउने राजनीतिक, सांगठनिक र नैतिक हैसियत थिएन । आफू पदको लागि मरिहत्ते गर्ने, प्रधानमन्त्री चाहिने, पार्टी अध्यक्ष चाहिने, चुनाव हारेर पनि सांसद चाहिने व्यक्ति सबैको लागि सर्वस्वीकृत हुन सक्दैनन् ।

विगतमा माले र  मार्क्सवादीबीच एकता हुँदा मनमोहन अधिकारी जसरी सर्वस्वीकृत व्यक्तित्वको रुपमा नेतृत्वमा आएका थिए, अहिले वामदेव ओली र प्रचण्ड समूहको सर्वस्वीकृत नेता होइनन् । ती दुवै समूहमा कुनै पनि सर्वस्वीकृत नेता छैनन् । यदि त्यसो हुन्थ्यो भने एमाले र माओवादी एकता हुँदा एउटा मात्रै अध्यक्ष हुने थिए । अब कुनै नयाँ राजनीतिक घटनाक्रम विकास भयो भने र तिनीहरुले पार्टी एकताको आवश्यकता महसुस गरे भने एकता हुन सक्छ । तर वामदेवको आह्वानकै आधारमा पार्टी एकता हुने आधार अहिले छैन ।

वामदेवको राजनीतिक हैसियत झन् पछि झन् कमजोर बन्दै गएको छ । राजनीतिक हैसियत प्राप्त गर्न आफूसँग विचार, राजनीति र संगठित शक्ति हुनुपर्दछ । वामदेवलाई समर्थन गर्ने ठूलो संगठित शक्ति छैन । आफूले अध्यक्ष पाउनुपर्ने दाबीबाहेक अन्य कुनै अवधारणा अगाडि सारेका पनि छैनन् । उनको सानो शक्तिको सुनुवाइ नहुने निश्चित छ । अब उनीसँग तीन वटा विकल्प छन् । एक, केपी शर्मा ओली समूहसँग मिसिने, दुई प्रचण्ड समूहसँग मिसिने, तीन आफ्नै पार्टी बनाउने । तेस्रो विकल्प उनको लागि निकै प्रत्युपादक हुने बुझेको हुँदा पहिलो र दोस्रोमध्ये जे गर्दा आफूलाई उपयुक्त देख्छन्, त्यही गर्नेछन् ।

प्रतिक्रिया

3 thoughts on “ढोकामा उभिंदा उभिंदै एक्लिएका वामदेव

    1. यो लेखमा एउटा वास्तविकता दिउसै रात पार्ने गरि लुकाईएको छ । एमाओवादी र एमालेको एकता एमालेको तर्फबाट कस्ले किन गर्यो ? कुन उदेश्यले एकता गरियो ? के कारण एकता भंग भयो ? त्यो अवस्थाको जिम्मेवारी एमालेमा कस्ले लिन पर्छ ? आजको एमालेमा आएको संकटमा त्यो एकता जिम्मेवार हुन्छ हुदैन ? यि प्रश्नको विष्लेषणात्म उत्तर लुकाएर लेखिएको लेखलाई प्रपोगाण्डा अन्तर्गत कै लेख मान्दा हुन्छ । त्यस्तै मजबुत एमाले भयो रे मुलुकमा त्यो एमालेले मुलुक र जनतालाई डेलिभरि चै दिने के होला ! म त ट्वा !

Leave a Reply

Your email address will not be published. Required fields are marked *