संकटग्रस्त उद्योगलाई कोरोनाले अर्को बज्रपात, १५ हजारले रोजगारी गुमाए – Nepal Press
सुनसरी–मोरङ औद्योगिक करिडाेर

संकटग्रस्त उद्योगलाई कोरोनाले अर्को बज्रपात, १५ हजारले रोजगारी गुमाए

विराटनगर । चालीसको दशकसम्म सुनसरी–मोरङ औद्योगिक क्षेत्रमा उद्योगहरू गुल्जार थिए । सञ्चालनमा रहेका उद्योगहरूमा रोजगारीको अवसर प्रसस्त थियो । उद्योगबाट उत्पादित वस्तु ५० प्रतिशतभन्दा बढी निर्यात हुन्थ्यो ।

५० को दशक शुरू भएसँगै उद्योगहरू बन्द हुन थाल्यो । सशस्त्र माओवादी द्वन्द्व र त्यसपछि लोडसेडिङका कारण धेरै उद्योगहरू बन्द हुन पुगेको हो । प्रजातन्त्र पुनःस्थापनापछिका तीन दशकको अवधिमा यो क्षेत्रका नयाँ लगानीका उद्योगहरू खुल्ने भन्दा पनि बन्द हुने क्रम बढेको छ ।

पूर्वी नेपालमै ठूलो क्षेत्रफलमा फैलिएको सुनसरी–मोरङ औद्योगिक क्षेत्रमा तीन दशकको अवधिमा सञ्चालन भएका १ सय ७ वटा ठूला उद्योगहरू बन्द भएका छन् ।

वि.सं. २०४६ सालसम्म यस औद्योगिक करिडोर क्षेत्रमा निर्यातमुखी ठूला उद्योगको संख्या १ सय ५० वटा रहेकोमा अहिले जम्मा ४३ वटा मात्रै छन् । वैदेशिक लगानी रहेको वंशल नेपाल, क्रिस्टेन, लिगश नेपाल र सूर्य नेपाल जस्ता नाम चलेका एक दर्जन उद्योगहरु गणतन्त्रको उदयसँगै बन्द भएका छन् । बन्द भएका ती एउटै उद्योगमा १ अर्ब रुपैयाँभन्दा बढी लगानी थियो ।

उद्योग विभागको तथ्यांकअनुसार सुनसरी–मोरङ औद्योगिक करिडोर लगायत आसपासका क्षेत्रमा अहिले साना ठूला गरी ६६५ उद्योग सञ्चालनमा छन् । जसमध्ये ठूला र मझौला गरी १५० र बाँकी साना उद्योग मात्र सञ्चालनमा छन् । करिडोर क्षेत्रमा सञ्चालनमा रहेको उद्योगहरूमध्ये १९ प्रतिशतले मात्र अहिले उत्पादित मालबस्तु विदेशसम्म निर्यात गर्ने गरेका छन् ।

उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले मुख्यतः ४० बढी निर्यातमुखी उद्योगहरू र अन्य जुट उद्योग, गार्मेन्ट, कपुर, वनस्पति घ्यू, मैनबत्ती उत्पादन गर्ने ठूला क्षमताका उद्योगसमेत बन्द हुने अवस्थामा पुगेको जनाए । यसअघि बन्द भएका उद्योगहरूमा मात्रै कम्तिमा २३ अर्ब रुपैयाँ लगानी थियो ।

अशोक टेक्सटायल, प्रभात टेक्सटायल लगायत आधा दर्जनभन्दा बढी टेक्सटायल उद्योगहरू बन्द भइसकेका छन् । मोरङ–सुनसरीमा मात्र ११ वटा ठूला जुट उद्योगहरू सञ्चालनमा थिए । अहिले चारवटा मात्र सञ्चालनमा छन् ।

त्यसैगरी हेटौंडा र स्वदेशी आइरनजस्ता फलाम उद्योग, कर्कट पाता र पाइप उद्योगहरू पनि बन्द भइसकेका छन् । करोडौंको लगानी गरी दुहवीमा स्थापना भएको वंशल इण्डष्ट्रिज नामको पाइप उद्योग उत्पादन सुरु नभई बन्द भएको छ ।

अम्बे, सांग्रिला इन्टरनेशनल, अमी, जेडी, इजी वेयर, फेसन फेब्रिकजस्ता तयारी पोशाकका ठूला उद्योग र दर्जनौं साना उद्योगहरू यस बीचमा बन्द भएका हुन् ।

बंशल, क्रिस्टेनले कर्कट पाता र जिआइपी पाइप उत्पादन गरी भारत लगायतका मुलुकमा निर्यात गर्ने गरेको थियो । सूर्य नेपालले पनि विभिन्न मुलुकमा निर्यात गर्ने गरेको थियो । उद्योगी–व्यवसायीका अनुसार राजनीतिक अस्थिरतासँगै त्यसैको प्रभावस्वरुप बन्द–हड्ताल, श्रमिक आन्दोलन, विद्युत् अभाव, यातायात अवरोधसँगै सरकारी नीतिका कारण यी उद्योगहरू सदाका लागि बन्द हुन पुगेका हुन् । ठूला स्वदेशी लगानीका पशुपति सावुन, अन्नपूर्ण सप, नेशनल पाइप लगायतका दर्जन बढी नाम चलेका उद्योगहरू पनि यही अवधिमा बन्द भएका छन् ।

ठूला उद्योग सञ्चालन गर्न खर्च पनि ठूलो हुने र लगानी सुरक्षा समेत नहुने हुँदा नयाँ उद्योग सञ्चालनमा नआएको उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले बताए ।

‘अहिले अवस्थामा सरकारको आर्थिक नीति उद्योगलाई दोहन गर्नतर्फ मात्र केन्द्रित देखिन्छ,’ अध्यक्ष घिमिरेले भने, ‘उद्योगको संरक्षण नहुने, संघीयताको नाममा विभिन्न खालको करको चपेटामा पार्नेजस्ता काम भएका छन् । यस्तो अवस्थामा नयाँ लगानीमा उद्योग खोल्ने कुरा त कल्पनापनि गर्न सकिन्न, जेनतेन सञ्चालनमा रहेका उद्योगहरू पनि समस्याग्रस्त छन् ।’ पछिलो समय कोरोनाको महामारी शुरू भएपछि खुलेका उद्योग जोगाउन पनि गाह्रो भएको उद्योगीहरूको गुनासो छ ।

आकाशियो जग्गाको मूल्य

व्यवसायीहरूले जग्गाको मूल्य बढेकाले पनि नयाँ उद्योग सञ्चालन गर्न नसकेको बताउने गरेका छन् । उद्योगमा लगानी गर्ने रकम जग्गामा लगानी गर्नुपर्ने भएकोले समस्या भएको उनीहरूको भनाइ छ । उद्योगी व्यवसायीका अनुसार नयाँ उद्योग खोल्नुभन्दा पनि भएका उद्योगहरूको क्षमता विस्तारमा उद्योगी व्यवसायी लागेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य राजेन्द्र राउतले नयाँ उद्योग स्थापनाका लागि बाहिर क्षेत्रबाट लगानीकर्ता आउने वातावरण नहुँदा ठूला उद्योग स्थापनामा कठिनाई भएको बताए ।

‘मोरङ–सुनसरी औद्योगिक क्षेत्रमा जग्गा अभाव र अत्यधिक मूल्य वृद्धिका कारण लगानीकर्ताले उद्योग स्थापना गर्न सकेका छैनन्,’ उनले भने ।

उद्योगी व्यवसायीका अनुसार पछिल्लो समय प्रदेश–१ को राजधानी विराटनगर भएसँगै कोशी राजमार्गको करिडोर क्षेत्र विराटनगरको प्रवेशद्वार उत्तर इटहरीसम्मको क्षेत्रमा जग्गाको मूल्य अत्यधिक बढेको छ ।

मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले विराटनगर–इटहरी सडकखण्ड छेउछाउमा जग्गा खाली नभएको बताए । भएको जग्गा पनि अत्यन्तै महंगिएको उनको भनाइ छ ।

‘अधिकांश उद्योग यही क्षेत्रमा सञ्चालनमा छन्, कोसी राजमार्ग छेउछाउ प्रति कठ्ठा जग्गाको मूल्य कम्तिमा ३०–४० लाख रुपैयाँसम्म पर्छ,’उनले भने, ‘एउटा उद्योग स्थापनाका लागि चार–पाँच बिघा जग्गा आवश्यक पर्छ । जग्गा खरीदमै १०–११ करोड खर्चिनुपर्ने अवस्था छ ।’

आफूहरूसँग भएको र बैंकबाट लिएको ऋण जग्गा खरिदमै खर्च हुने स्थिति रहेको भन्दै उनले उद्योग क्षेत्रबाट लगानी बाहिरिने सम्भावना भएको बताए ।

रोजगारी गुम्दै

उद्योग विभागका अनुसार सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योगमा अहिले पाँच अर्ब रुपैयाँ लगानीका उद्योगहरु सन्चालनमा छन् । पछिल्ला वर्षहरुमा उद्योगहरु एकपछि अर्को बन्द हुन थालेपछि ठूलो संख्यामा मजदूरहरुले रोजगारी गुमाउनुपरेको छ ।

उद्योग संगठन मोरङका अनुसार सुनसरी–मोरङ औद्योगिक करिडोर क्षेत्रमा सञ्चालन भएका उद्योगमा अहिले ५० हजार मजदुरले काम पाएका छन् । दुई वर्ष अघिसम्म त्यहाँ ८० हजार कार्यरत थिए ।

हाल मोरङ–सुनसरी औद्योगिक करिडोरका उद्योगले जुट, चाउचाउ, बिस्कुट, तेल, मैदा, रिफाइनरी तेल, छाला, जुत्ता, चप्पल, धागो, साबुन, वायर, रड, स्टील, कर्कट पाता, प्लाष्टिकका सामान, सिमेन्ट, दाना, बिजुलीको तार, जीआइ पाइप, चामललगायत वस्तु उत्पादन गर्दै आएका छन् ।

औद्योगिक क्षेत्र बनाउन माग

सुनसरी–मोरङ औद्योगिक करिडोर क्षेत्रका उद्योगी व्यवसायीले दुई दशकदेखि औद्योगिक क्षेत्रको स्थापना गर्न माग राख्दै आएका छन् । तर, सरकारले अहिलेसम्म सुनुवाइ गरेको छैन ।

स्वदेशी तथा विदेशी लगानीका उद्योग स्थापनाको वातावरण निर्माणका लागि उद्योगी व्यवसायीले सरकारसँग औद्योगिक क्षेत्र स्थापनाको लागि लामो समयदेखि माग राख्दै आएका हुन् ।

मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्डराले लामो समयदेखि यहाँका उद्योगीले विशेष आर्थिक क्षेत्र (सेज) र औद्योगिक क्षेत्र घोषणाको माग गर्दै आएको बताए । सरकारले विशेष आर्थिक क्षेत्र स्थापना गरे जग्गा खरिद गर्ने पूँजी उद्योगमा लगानी हुने मुन्दडाको भनाइ छ । उद्योगी व्यवसायीले सरकारको स्वामित्वमा रहेको सुनसरीको अमरडुवामा रहेको ६ सय ५० विघामा औद्योगिक क्षेत्र घोषणा गर्न माग राख्दै आएका छन् ।

‘पूर्वका उद्योगी व्यवसायीले दुई दर्शकदेखि औद्योगिक क्षेत्रको स्थापनाका लागि सरकारसँग एउटै माग राखेका छन,’ अध्यक्ष मुन्दाडाले भने, ‘तर सरकारले उद्योगी व्यवसायीको मागलाई सम्बोधन गर्न सकेको छैन, सरकारले अमरडुवाको जग्गामा औद्योगिक क्षेत्र घोषण गरी पानी, बिजुली र सुरक्षा दिन्छ भने उद्योगी उद्योग खोल्न लागि तयार छन् ।’ उद्योगी व्यवसायीले सेज स्थापना भएमा मुलुकको व्यापार घाटा कम गर्न योगदान पुग्ने तर्क गर्दै आएका छन् ।

कोरोनाले थलियो करिडोर

उद्योग सन्चालन दिगो हुन नसकेको समस्याकै बीच एक वर्षदेखि कोरोना महामारीले असर उस्तै देखिएको छ । कोरोना महामारी नियन्त्रणका लागि सरकारले लगाएको लकडाउनयता १५ हजा मजदुरले रोजगारी गुमाएका छन् । कतिपय उद्योगहरु अहिलेसम्म पनि पूर्ण क्षमतामा आउन सकेका छैनन् ।

कोरोना महामारी फैलनुअघि ५० हजार मजदुर कार्यरत रहेकोमा कोरोनाकालमा १५ ले रोजगारी गुमाएको, १४ हजारले आंशिक रोजगारी पाएका छन् । उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेका अनुसार ठूला उद्योगले ३० प्रतिशत उत्पादन कटौती गरेका छन् । ती उद्योगको सञ्चालन अवधि तीन सिफ्टबाट दुुई सिफ्टमा झारिएको छ । साना तथा मझौला उद्योगमा उत्पादन घटेपछि त्यसमा काम गरिरहेका ३० प्रतिशत अदक्ष कामदारहरू पूर्ण बेरोजगार बनेका हुन् ।

सुनसरी–मोरङ औद्योगिक करिडोर भित्रका सबैभन्दा बढी मजदुर कार्यरत अरिहन्त मिल्टफाइवर्स र रघुपति जुट मिलका सञ्चालक राजकुमार गोल्छाले तीन सिफ्ट चलिरहेका दुुवै उद्योगको अहिले एक सिफ्ट बन्द गरिएको बताए । एक सिफ्ट बन्द हुँदा ३० प्रतिशत मजदुर कामविहीन बनेका छन् ।

करिडोरमा रहेका जुट, धागो, चाउचाउ, तेल, चामल, दुध, साबुन, कुकिज, दाना उत्पादन गर्ने उद्योग हाल सञ्चालनमा छन् । सञ्चालित उद्योगहरूले ६० देखि ७० प्रतिशत मात्र उत्पादन गरिरहेका छन् । पछिल्लो समय कोरोना महामारीका बीचमा स्वास्थ्य सामग्री उत्पादन गर्ने केही उद्योग भने थपिएका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.