पशुपतिमा ११ सयदेखि २५ लाख रुपैयाँसम्मका विशेष पूजा, प्रधानमन्त्रीले गरेको कस्तो हो ? – Nepal Press

पशुपतिमा ११ सयदेखि २५ लाख रुपैयाँसम्मका विशेष पूजा, प्रधानमन्त्रीले गरेको कस्तो हो ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गएको साता पशुपतिनाथको मन्दिरमा ‘विशेष पूजा’ गरेको विषय निकै चर्चामा रह्यो । गणतन्त्रपछि प्रधानमन्त्री ओलीले पशुपति मन्दिरमा गएर पहिलोपटक यसरी पूजाआजा गरेका थिए । यद्यपि ओलीले गरेको पूजा व्यक्तिगत स्तरमा हो ।

प्रधानमन्त्री संलग्न भएकाले चर्चामा आए पनि पशुपतिमा ‘विशेष पूजा’ को प्रचलन नौलो होइन । यहाँ सर्वसाधारणले पनि निश्चित शुल्क तिरेर विभिन्न थरीका पूजाआजा गर्न सक्ने व्यवस्था छ । पशुपति विकास कोषका अधिकारीहरूका अनुसार पशुपतिमा ११ सयदेखि २५ लाख रुपैयाँसम्म तिरेर विशेष प्रकारका पूजा गर्न सकिन्छ ।

विशेष पूजाका विभिन्न श्रेणी अनुसार भक्तजनले फरक-फरक शुल्क तिर्नुपर्छ । शुल्क तिरेर गरिने संकल्प पूजा नै विशेष पूजा हो । पशुपतिमा सबैभन्दा धेरै ११ हजार, २१ हजार, २७ हजार र ५६ हजार रुपैयाँ शुल्क तिरेर विशेष पूजा गरिन्छ ।

कोरोनाअघि पशुपतिमा र वासुकीमा १५ प्रकारको विशेष पूजा हुने गरेका थिए । कोरोनाकालमा ती सबै पूजा रोकिए । चैतदेखि गत मंसीरसम्म पशुपति मन्दिर नै पूर्णरूपमा बन्द थियो । पुसबाट मन्दिर खुले पनि विशेष पूजा शुरू भएको थिएन । प्रधानमन्त्रीले कोरोनापछि पहिलोपटक विशेष पूजा गरेका हुन् ।

यस्ता छन् पूजाका प्रकार

कोषका अनुसार सबैभन्दा कम शुल्कमा गराइने सामान्य पञ्चामृत पूजा हो । यसका लागि ११०० रुपैयाँ तोकिएको छ । यस्तै, २१०० रुपैयाँमा बालभोगसहित पञ्चामृत पूजा, ५१०० मा रुद्राभिषेक र बालभोगसहित पञ्चामृत पूजा, ११ हजार रुपैयाँमा लघुरुद्राभिषेक, पूरा भोगसहित पञ्चामृत विशेष पूजा हुन्छ ।

२७ हजारभन्दा बढी रकमको विशेष पूजामा लाखबत्ती बाल्न पाइने व्यवस्था छ । यस्तै रुद्राभिषेक, पूरा भोग, हवन, सवा लाख बत्तीद्वारा आरती र पञ्चामृत पूजा २७ हजारमा गर्न पाइन्छ । लघुरुद्राभिषेक, पूराभोग, हवन, सवालाख बत्तीद्वारा आरती र पञ्चामृत पूजा गर्दा ५६ हजार तिर्नुपर्ने हुन्छ ।

भक्तजनको सहभागिता हुने नित्यभोगसहित दिनभरको पूजा गर्न १ लाख ५६ हजार रुपैयाँ तिर्नुपर्छ । यसैगरी एक दिवसीय महारुद्री गर्न २ लाख ५१ हजार शुल्क लाग्छ । एकादश दिवसीय महारुद्री गर्नका लागि ८ लाख १ रुपैयाँ तिर्नुपर्छ ।

पशुपतिमा गरिने सबैभन्दा महँगो पूजा भनेको २५ लाख रुपैयाँको हो । यसमा ११ दिवसीय अतिरुद्री पर्दछ । हालसम्म यो पूजा निकै कमले लगाएका छन् । पशुपति मन्दिर परिसरमा मात्रै १० वटा ठूलो रकमको विशेष पूजा हुने कोषले जनाएको छ । यसैगरी २५५ रुपैयाँको दुग्धार्पण, ५०५ रुपैयाँको बेलपत्र, नैवेद्य एवं दुग्धार्पण, ११०० रुपैयाँको पञ्चामृत पूजा, २१०० रुपैयाँको विशेष पूजा र ५१०० रुपैयाँको विशेष पूजा वासुकीनाथको मन्दिरमा गरिन्छ ।

पूजाका लागि रकम तिरिसकेपछि कोषले आवश्यक सबै सामान किनेर तयार गरिदिन्छ । सम्बन्धित व्यक्ति पूजाको लागि मन्दिरमा उपस्थित हुनेबाहेक केही गर्नु नपर्ने कोषका कर्मचारीले बताए ।

‘यो दिन हामी यस्तो पूजा गर्छौं भनेर बिल काटेपछि कोषले सबै सामग्री तयार गर्छ । व्यक्ति पूजामा सहभागी मात्र हुने हो ।’

आफूले गर्न चाहेको पूजाको रकम तिर्न मन्दिरसँगै रहेको एसबीआई बैंकमा रकम बुझाएको रसिद कोषलाई बुझाउनुपर्छ । सो दिनका लागि सामग्रीदेखि सबै व्यवस्था गरिएको हुन्छ । उक्त रकमबाटै पूजाका लागि आवश्यक सामग्री, भट्टको खर्च, ब्राह्मणको दक्षिणासमेत जोहो हुन्छ ।

प्रधानमन्त्रीले गरेको पूजा

प्रधानमन्त्री ओलीले रुद्राभिषेक, पूरा भोग, हवन, सवा लाख बत्तीद्वारा आरती र पञ्चामृतसहितको विशेष पूजा गरेको मन्दिरका पुजारीले जानकारी दिए । यसको पूजा खर्च २७ हजार रुपैयाँ रहेको छ ।

मन्दिरका एक कर्मचारीका अनुसार प्रधानमन्त्री ओलीले पशुपतिमा मात्र नभई वासुकी मन्दिरमा पनि पूजा गरेका थिए । उनले झण्डै ५० हजार बराबर खर्च गरेको ती कर्मचारीको भनाइ छ । प्रधानमन्त्रीले ५२ लाख रुपैयाँको पूजा गरेको कुरा निराधार भएको पनि उनले बताए ।

मन्दिर व्यवस्थापक अरुणकुमार श्रेष्ठले प्रधानमन्त्रीले जुन पूजा गरे पनि राष्ट्र कल्याणकै लागि हुने बताए ।

उनले भने, ‘हाम्रो यहाँ ५२ लाखको पूजाको व्यवस्था नै छैन । २५ लाखसम्मको मात्रै हो ।’

श्रेष्ठका अनुसार फूलमालादेखि हरेक मन्दिरमा छुट्टाछुट्टै पूजा हुन्छ । प्रधानमन्त्रीले वासुकी र पशुपतिमा पञ्चामृत चढाएको उनले बताए ।

उनी भन्छन्, ‘प्रधानमन्त्रीलाई विशेष पूजा निःशुल्क हुँदैन । उहाँले रकम राखेर गर्नुभएको होला । पूजा राष्ट्र कल्याणको लागि गरेको हुनाले राज्यकोषबाट नै भुक्तानी हुन सक्छ । राष्ट्रप्रमुखले गर्दा पनि उहाँको नामबाट आउँछ । आखिर सशुल्क भने पनि त्यो रकम जाने भनेको राज्यकोषमा नै हो । संस्थालाई बजेट पनि राज्यबाट नै आउने हो ।’

पशुपति विकास कोषले भने प्रधानमन्त्री ओलीले गरेको पूजालाई ‘विशेष पूजा’ भनिरहन आवश्यक नभएको बताएको छ ।

कोषका निर्देशक डा. घनश्याम खतिवडा भन्छन्, ‘प्रधानमन्त्रीले गराएको पूजा मात्र हो । त्यसलाई विशेष पूजा भनिरहन आवश्यक छैन । त्यो संकल्प पूजा हो । कोषको संरक्षक हुनुहुन्छ उहाँ । उहाँले छुट्टै गर्नुपर्ने कारण नै छैन । उहाँहरू आउनुभयो, हामीले पूजा गरायौं ।’

जन्मदिनमा विशेष पूजा गर्ने ट्रेण्ड

सामान्यतया मन्दिरमा विभिन्न भाकलहरू पूरा गर्नका लागि विशेष पूजा गरिन्छ । तर पछिल्लो ट्रेण्ड हेर्ने हो भने पशुपतिमा जन्मदिनमा पनि विशेष पूजा गराउने चलन बढ्न थालेको कोषका कर्मचारीहरू बताउँछन् ।

कोष कर्मचारीका अनुसार अहिलेका युवा धेरैजसो जन्मदिनमा विशेष पूजा गराउन आउँछन् । यो अहिलेको नयाँ ट्रेण्ड नै हो ।

यसअघि खासै जन्मदिनमा विशेष पूजा गराउने चलन थिएन । त्यति मात्र होइन परीक्षा सफल होस्, विदेश यात्रा फलदायी बनोस्, रोग निको होस् भन्ने जस्ता कामनाले पनि विशेष पूजा गर्ने चलन बढ्दो छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर