चितवनलाई नमुना शहर बनाउने मेरो सपना साकार हुँदैछ : मन्त्री साह – Nepal Press

चितवनलाई नमुना शहर बनाउने मेरो सपना साकार हुँदैछ : मन्त्री साह

भरतपुर। शहरी विकास मन्त्री प्रभु साहले चितवनलाई नमुना शहर बनाउने आफ्नो सपना साकार हुँदै गएको बताएका छन् ।

शनिवार चितवनको भरतपुरमा नेकपाद्वारा आयोजित वृहत् जनसभालाई सम्बोधन गर्दै नेकपा केन्द्रिय सदस्य एवम् प्रदेश २ का अध्यक्षसमेत रहेका मन्त्री साहले चितवनको विकासका लागि आफू लामो समयदेखि क्रियाशील रहेको बताए ।

चितवनमा शहरी पूर्वाधारको द्रुत निर्माण गरी शैक्षिक, व्यापारिक एवम् पर्यटकीय केन्द्र बनाउने आफ्नो सपना रहेको र सोही बमोजिम कार्यहरु अगाडि बढाइएको मन्त्री साहको भनाई छ ।

शनिवार नै शहरी विकास मन्त्रालयले १ अर्ब २१ करोडमा बनाउन लागेको भरतपुर सिटी हलको शिलान्यास समेत गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा शिलान्यास भएको सिटी हल मन्त्री साहले नै पहिलो कार्यकालको बेला अगाडि बढाएका थिए । चितवनको विकाससंग जोडिएको भरतपुर सिटी हल लामो प्रयास र तयारी पछि अगाडि बढेकोमा मन्त्री साहले खुशी व्यक्त गरे ।

मन्त्री साहले चितवनलाई नेपालकै एक नमुना शहर निर्माणको लागि आफुलाई साथ दिन चितवनवासीलाई आह्वान गरे ।

“मलाई स्मरण छ, म पहिलो पटक शहरी विकास मन्त्री हुँदा चितवनलाई तीव्र विकासको दिशा कार्य अगाडि बढाएको थिएँ । भरतपुरसहित समग्र चितवनलाई नै एउटा नमुना शहर बनाउने आफ्नो त्यो सपना साकार हुँदै गएको देखिरहेको छु ।”

मन्त्री साहले भने, “आज दोस्रो पटक पुनः शहरी विकास मन्त्रीको रुपमा तपाईंहरुको अगाडि छु । यस विचमा चितवनमा अर्बौंको विकास निर्माणको काम भएको छ । उहिले शुरु गरेका योजनाहरुले अहिले कार्यान्वयन हुँदैछ । चितवन एउटा तीव्र विकासको दिशामा अगाडि बढ्दैछ ।”

“आज तपाइँहरुले देख्नुभयो, सम्मानीय प्रधानमन्त्रीज्यूले भरतपुर सिटी हलको शिलान्यास गर्नुभयो । सडक विस्तारको शिलान्यास गर्नुभयो । यो सब चितवनको विकासको लागि छ ।” मन्त्री साहले थपे, “म भन्न चाहन्छु, चितवनको हुँ भन्नेहरूलाई एकपटक सोध्नुस् यहाँ जे जति काम भएको छ त्यो कसले गरेको हो ? त्यो सबै काम प्रभु साहले गरेको हो । र आग्रह गर्न चाहन्छु तपाईं हामी मिलेर मात्र चितवनको विकास गर्न सक्छौं । यसमा मलाई साथ दिनुहोस् ।”

कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा वादल, भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङ, बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेललगायतको उपस्तिथि रहेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *