धनगढीबाट ओलीलाई प्रचण्डको जवाफ : छोरी जवान भएपछि बिहे हुन्छ, ज्वाईं हुन्छन् – Nepal Press

धनगढीबाट ओलीलाई प्रचण्डको जवाफ : छोरी जवान भएपछि बिहे हुन्छ, ज्वाईं हुन्छन्

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका (प्रचण्ड-माधव समूह) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओलीलाई ‘सामन्तका एजेन्ट’ को संज्ञा दिएका छन् । यसैगरी उनले सुदूरपश्चिमका नेता लेखराज भट्टलाई ‘दलालको पनि दलाल’ भन्दै तीव्र कटाक्ष गरे । ओलीले बारम्बार आफ्ना छोराछोरीको विषयमा टिप्पणी गरेको भन्दै उनले दुखेसो पनि गरे ।

आज धनगढीमा आफ्नो समूहद्वारा आयोजित विरोध सभामा प्रचण्डले गरेको भाषणका मुख्य अंश :

हामीले शाहवंशीय राजतन्त्र ढाल्यौं । श्रीपेचलाई झिकेर बुटले हान्यौं । बादशाहलाई घोडाबाट तानेर लात्ता हान्ने हामी नै हो । केपी ओलीले के ठानेको ? उनको षडयन्त्र चुपचाप सहन्छौं ?

केपी ओलीले माधव नेपाललाई यति धेरै ह्यूमिलियट किन गरेको ? झलनाथले हिजो बडो राम्रो बोल्नुभएको थियो । मेरो हिजो वामदेवसँग फोनमा कुरा भयो । मैले उहाँलाई सोधेँ, हामी त सँगै भाषण गर्दै हिंड्नुपर्ने होइन ? उहाँले छिटै आउँछु भन्नुभएको छ । आशा छ आउनुहोला । एकताका लागि अझै बल गर्दै हुनुहुन्छ । बल गर्नुस् । हामी त यो प्रतिक्रान्तिलाई सहन सक्दैनौं ।

केपीलाई के भन्ने ? हुन त एक नम्बर अध्यक्ष होइन उहाँ । महाधिवेशनसम्म बराबरी हैसियत भनिएको थियो । अहिले माधवजी र म बराबरी छौं । अस्तिको बैठक उहाँले अध्यक्षता गर्नुभयो र एक नम्बर हुनुभयो । अर्को बैठक मैले अध्यक्षता गर्छु । म एक नम्बर हुन्छु । यो हो विचार, भावना मिल्ने भनेको । एकले अर्कालाई नहेप्ने । तर केपीले बेइमानी र जालझेल गरे । निर्वाचन आयोगमा नि एक नम्बर भनेको छ । जबकि एक नम्बर भन्ने कहिल्यै भएको छैन ।

मलाई तपाईंहरुले भन्नुहुन्छ, यो प्रचण्ड पनि के भा हो । बिहान पनि बालुवाटार, बेलुका पनि बालुवाटार । तपाईंहरुलाई नि वाक्क लागेको थियो होला । बालुवा पेलेर तेल निस्किने त होइन । बालुवाटार जाने क्रममा मैले केपीलाई राम्रोसँग चिनेँ । केपी बैठकमा नआउने । हामी बैठक बस्दिनुपर्याे भनेर पाँच जना लिखित प्रस्ताव लिएर बैठकमा जाँदा नआउने । तोक आदेश लगाउने । स्थायी समितिमा आलोचना सुरु भयो भने उठेर हिंड्ने ।

मैले हुर्काएका एकजना नेता छन् नि । मैले पटकपटक मन्त्री बनाएको मान्छे । तिनी त अहिले त कता हो कता, सोच्नै नसक्ने गरी गए । मलाई डर थियो, सुदूरपश्चिमको ठूलो नेता यही हो है भनेको थिएँ । अब उनी केपीको वरिपरि घुम्ने भए । केपीको दलाल भए । केपी आफैं दलाल हुन्, दलालको पनि दलाल ।

पत्याइनसक्नु भयो । दुईचार रात त टेन्सनै भएको थियो । तर ९५ प्रतिशत सुदूरपश्चिमका जनता हिलेका छैनन् । उनीहरुले दलालको भण्डाफोर गरेका छन् । गर्वले मेरो छाती फुलेको छ । तपाईंहरुलाई धन्यवाद । मरो छाती चौडा बनाइदिनुभयो ।

केपी ओलीले बारम्बार मेरा छोराछोरीको कुरा गर्नुहुन्छ । मैले हिजो आफ्ना छोराछोरीलाई क्रान्तिको मैदानमा लगेँ । जसले बन्दूक बोक्न सक्थे बोके । अरुले भूमिगत रुपमा काम गरेँ । अरु नेताजस्तो विदेशमा छोराछोरी पढाउन सकिनँ । सँगै आन्दोलनमा लैजानु मेरो गल्ति हो ? जहिले पनि छोराछोरीको कुरा गर्ने ?

के म निसन्तान भइनँ, मेरा सन्तान भए, मेरो गल्ति हो ? मलाई दोष दिन मिल्छ ? छोराछोरी भए पनि कोही आन्दोलनमा लागे, जेल बसे । आन्दोलनको बेला रोल्पा रुकुमका पाखा–पखेरामा बन्दूक बोकर हिंड्थे । छोरी जवान भएपछि बिहे हुन्छ । बिहे भएपछि ज्वाईं हुन्छन् । छोराको बिहे भएपछि बुहारी हुन्छन् । नातिनातिना हुन्छन् । मेरो दोष हो ?


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर