कांग्रेसको खण्डनकारिताः भ्रम निवारण भन्दै एकपछि अर्को स्पष्टीकरण – Nepal Press

कांग्रेसको खण्डनकारिताः भ्रम निवारण भन्दै एकपछि अर्को स्पष्टीकरण

काठमाडौं । नेपाली कांग्रेस संसद विघटनविरुद्ध आन्दोलित छ । संसद विघटनको कदमलाई ‘असंवैधानिक र अलोकतान्त्रिक’ ठहर गरे पनि अबको राजनीतिक निकास आन्दोलनबाट वा अदालतबाट ? भन्नेमा कांग्रेसको अलमल सकिएको छैन ।

३६ दिन लामो कांग्रेस केन्द्रीय समिति बैठकले कांग्रेसको अबको कार्यदिशाबारे ठोस निष्कर्ष दिन सकेन । सभापति शेरबहादुर देउवा संसद विघटनबारे अदालतको आदेश जे आउँछ त्यो नै स्वीकार्य हुने पक्षमा छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष भने संसद विघटन असंवैधानिक भनिएकोले संसद पुनःस्थापनाकै लागि आन्दोलन गर्नुपर्नेमा अडिग छन् ।

कांग्रेसभित्रको यही आन्तरिक असमझदारीको असर उसको मिडिया ह्यान्डलिङमा पनि देखिन्छ । दुई पक्षका नेताहरुले आ–आफ्नो अनुकूलता अनुसार मिडियामा सूचना दिइरहेका छन् । एउटा पक्ष खुशी हुने समाचारले अर्को पक्षलाई दुखी बनाउँछ । कांग्रेस प्रवक्तादेखि मुख्यसचिव सम्मलाई मिडियामा आएका समाचारबारे स्पष्टीकरण दिंदैमा फुर्सद छैन । पछिल्लो एक महिनामा मात्रै कांग्रेसले भ्रम निवारणका नाममा मिडियामा आएको तीन वटा समाचारको खण्डन गर्न भ्याएको छ ।

गत पुस १९ मा बसेको कांग्रेस केन्द्रीय समितिको बैठकले पार्टीभित्र दुई खाले धारणा नरहेको भन्दै सञ्चारमाध्यममा आएका समाचारहरुको खण्डन मात्र गरेन, खेद प्रकट समेत गर्यो । पार्टीभित्र आन्दोलन चर्काउने वा अदालतको निर्णय पर्खने भन्नेमा फरक–फरक मत व्यक्त भए पनि कांग्रेसले आन्दोलनका कार्यक्रमहरु घोषणा गरिरहेकै थियो । आन्दोलन घोषणा पनि सभापति देउवा आन्दोलनको पक्षमा नरहेको सन्देश गएपछि कांग्रेसले स्पष्टीकरण दिनुपरेको हो । कांग्रेसले खण्डन गरे पनि मिडियामा आएको कुरा वास्तविकता नै थियो ।

हेर्नुहोस् कांग्रेसको निर्णय नम्बर २ :

‘कांग्रेसले सबैभन्दा पहिले संसद विघटनको विरोध गर्‍यो । तर खासगरी पार्टी सभापतिलाई आन्दोलनको पक्षमा नरहेको भनी प्रचार गरिएकोले स्पष्ट पारिएको हो । केन्द्रीय समितिमै यसबारेमा छलफल भएर स्पष्ट पार्ने निर्णय भएको हो’, सभापति देउवा निकट एक केन्द्रीय सदस्यले भने । ती सदस्यका अनुसार सभापति देउवाप्रति ‘केही पत्रकार र मिडिया’ को पूर्वाग्रही सोच भएकाले बारम्बार प्रष्ट्याइरहन परेको छ ।

आन्दोलनका विषयमा मात्रै होइन बाग्मती प्रदेश र प्रदेश १ मा मुख्यमन्त्रीविरुद्ध परेको अविश्वास प्रस्तावबारे पनि कांग्रेसले स्पष्टीकरण दिनुपर्‍यो । माघ ९ गते कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले प्रेस नोट जारी गरेर सभापति देउवाको अभिव्यक्ति भनेर आएका कतिपय समाचारहरु अस्पष्ट र भ्रमपूर्ण रहेको स्पष्टीकरण दिए । सभापति देउवाले ‘बाग्मती प्रदेशमा जसले मुख्यमन्त्री दिन्छ उसैसँग सहकार्य हुनेछ’ भनी आन्तरिक बैठकमा बोलेको विषयमा आएका समाचारको खण्डन सो विज्ञप्तिमा गरिएको थियो ।

हेर्नुहोस् विज्ञप्ती :

माघ १३ गते सकिएको कांग्रेस केन्द्रीय समितिको बैठकले भ्रातृसंस्था, शुभेच्छुक संस्था र जिल्ला समितिको संयोजनमा प्रदर्शन गर्ने गरी तेस्रो चरणको आन्दोलन घोषणा गर्‍यो । कांग्रेसको गुटगत बैठकहरु बसेर सभापति देउवा र वरिष्ठ नेता पौडेलका बीचमा सहमति जुटेपछि मात्रै केन्द्रीय समिति बैठकमा आन्दोलनको थप कार्यक्रम प्रस्तुत भएको थियो ।

यसबारे आएका समाचारहरुको कांग्रेसले भोलिपल्टै खण्डन गर्‍यो । मुख्यसचिव पौडेलले १४ माघमा विज्ञप्ति जारी गर्दै कांग्रेस ‘सर्वसम्मत निर्णय र सम्पूर्ण एकतासाथ संसद विघटन विरुद्ध आन्दोलनमा रहेको’ स्पष्टीकरण दियो । सो विज्ञप्तिमा पनि कांग्रेसले समसामयिक राजनीति र आन्दोलनबारे कांग्रेसमा विवाद रहेको विषयको खण्डन गरेको छ ।

हेर्नुहोस् विज्ञप्ति :

एकै महिनामा तीन पटक स्पष्टीकरण दिनुपर्ने अवस्था स्वाभाविक होइन । जानकारहरु यसलाई पार्टीको गुट राजनीतिको असर र व्यवस्थापकीय कमजोरीका रुपमा औंल्याउँछन् । कुनै पनि राजनीतिक दलले आफ्नो कुनै नीति र विचारको बारेमा बारम्बार स्पष्टीकरण दिइरहनुको पछाडि त्यो पार्टीको अन्योलग्रस्त धारणा नै प्रमुख कारण हुने वरिष्ठ पत्रकार तारानाथ दाहालको भनाइ छ ।

‘विभिन्न समसामयिक विषयहरुमा स्पष्ट धारणा बनाउने र त्यो धारणाहरु सही रुपमा सञ्चार गराउन सक्ने क्षमता पार्टीले आफैं राख्नुपर्छ । त्यो क्षमता राख्न नसक्दा यस्ता अप्ठ्याराहरु आइलाग्छन् र यसले आफ्नै कमजोरीलाई उजागर गरिदिन्छ’, दाहालले नेपाल प्रेससँग भने । लोकतान्त्रिक पार्टी हुनुको नाताले कांग्रेसले आफ्ना धारणाहरु कुशलतापूर्वक सञ्चार गर्ने क्षमता राख्नुपर्ने दाहालको धारणा छ ।

‘पार्टीभित्र भएका भिन्न मतहरु सञ्चारमाध्यममा प्रकट हुनु स्वाभाविक हो । पार्टी आफैंले बारम्बार समाचारको खण्डन गर्नु कुशल सञ्चार संयन्त्र नहुनको उपज हो’, दाहालले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर