१९ औं आहा रारा गोल्डकप फुटबल चैत १७ देखि – Nepal Press

१९ औं आहा रारा गोल्डकप फुटबल चैत १७ देखि

पोखरा –मोफसलकै ठूलो फुटबल प्रतियोगिता मानिने आहा रारा गोल्डकपको १९ औं संस्करण चैतमा हुने भएको छ । चैत १७ देखि सुरु हुने प्रतियोगिता २८ गते सकिने आयोजक सहारा क्लबले शनिबार पत्रकार सम्मलेनमार्फत जानकारी दिएको हो ।

प्रतियोगिताका लागि समय तालिका सार्वजनिक गरेसँगै कोभिड–१९ लकडाउनपछि मोफसलस्तरबाट राष्ट्रियस्तरको फुटबल प्रतियोगिता गर्ने पहिलो क्लब बनेको छ । ‘क्रिकेट लगायत अन्य खेलहरु सञ्चालन भइरहेका छन् । त्यस्तो अवस्थामा हामीले एन्फासँग अनुमति माग्यौं र स्वीकृत भयो,’ क्लबका अध्यक्ष केशव थापाले भने ।

१२ दिनसम्म चल्ने प्रतियोगितको यस संस्करणमा कम्तिमा १२ टिम सहभागी गराउने गरी योजना बनाइरहेको क्लबका अध्यक्ष केशव थापाले जानकारी दिए । ‘कोभिड महामारी सकिएको छैन । अघिल्ला संस्करणमा विदेशी टिम पनि ल्याउँथ्यौं । यसपालि चुनौति थपिएको छ,’ उनले भने ।

१६ हजार दर्शक अटाउन सक्ने पोखरा रंगशालाको हालको क्षमता छ । तर, अखिल नेपाल फुटबल संघ (एन्फा)ले आधा दर्शकमात्रै राखेर प्रतियोगिता सञ्चालन गर्न भनेकाले आफूहरुले सोही अनुसार तयारी गरिरहेको अध्यक्ष थापाले सुनाए । ‘गत वर्ष पनि कोरोना महामारीका कारण १० दिनमा सीमित गरेका थियौं । यस पटक पनि सरकारले निश्चित मापदण्ड तोकेर खेल सञ्चालन गर्न पत्राचार गरेको छ,’ उनले भने, ‘यस वर्ष आधा दर्शकमात्रै राखेर प्रतियोगिता गर्न अनुमति लिएका छौं ।’

प्रतियोगिता सञ्चालन गर्न १ करोड ३० लाख आम्दानी र १ करोड १ लाख रुपैयाँ खर्च लाग्ने आयोजकको अनुमान छ । क्लबले पुरस्कार रकम भने सार्वजनिक गरेको छैन । प्रतियोगितामा विदेशी टिम, विभागीय टिम, ए डिभिजन क्लब, मोफसलका क्लब र आयोजक सहारा क्बलको टिम सहभागी हुने क्लबका महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिए ।

सहारा क्लबले सञ्चालन गरिरहेको सहारा फुटबल एकेडेमीमा हाल १४ जिल्लाका २४ जना बालबालिका आश्रित छन् । ‘७ वर्षदेखि उनीहरु क्लबसँग आबद्ध रहेर निशुल्क रुपमा फुटबल प्रशिक्षण लिइरहेका छन्,’ महासचिव अधिकारीले भने । क्बलले पोखरा–१७ दोबिल्लामा फुटबल एकेडेमी स्थापना गरेको छ ।

प्रतियोगिताको १८ औं संस्करण मनाङमस्र्याङ्दी क्लबले जितेको थियो । विभागीय टिम नेपाल पुलिस क्लब उपविजेतामा सीमित हुन पुगेको थियो । फागुन २२ देखि चैत २ गतेसम्म भएको उक्त संस्करणपछि कोरोना महामारीका कारण सरकारले सम्पूर्ण खेलहरु स्थगन गरेपछि कोरोना महामारीको अन्तिम प्रतियोगिता बनेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर