वैदेशिक रोजगारीको ‘साइड इफेक्ट’: स्वदेश फर्कँदा न श्रीमती, न सम्पत्ति – Nepal Press

वैदेशिक रोजगारीको ‘साइड इफेक्ट’: स्वदेश फर्कँदा न श्रीमती, न सम्पत्ति

जनकपुरधाम । सप्तरीको शम्भुनाथ नगरपालिका–१ कनकपट्टी खोक्सरका ३५ वर्षीय किशुन मरिक पाँच वर्षदेखि मलेशियामा थिए । उनी लामो समयदेखि घर नआउँदा श्रीमती शान्ति मरिक सप्तरीकै बोदे बरसाइनका दीपक मरिकसँग प्रेम गर्न थालिन् । गत आइतबार (माघ ११) उनी दीपकसँगै गइन् अर्थात् विहे गरिन् । यो कुरा थाहा पाएपछि अहिले विदेशमा रहेका किशुन चिन्तामा डुबेका छन् ।

१७ वर्ष अगाडि किशुन र शान्तिबीच सामाजिक परम्परा अनुसार विवाह भएको थियो । उनका तीन सन्तान (दुई छोरा र एक छोरी) पनि छन् । तर तीनै सन्तानलाई छाडेर शान्ति फरार भएकी छन् । आमा परपुरुषसँग भागेपछि छोरा–छोरी बिचल्लीमा परेका छन् ।

‘दाइले विदेशमा कमाएको सबै रकम भाउजू शान्तिकै नाममा पठाउनुहुन्थ्यो । त्यो सबै (करीब ७ लाख ४० हजार रुपैयाँ) लिएर भाउजू भागेकी छन् । उनको नाममा तीन कट्ठा १० धुर जग्गा पनि छ’, किशुनका भाइ विशुन मरिक भन्छन्, ‘मोबाइलमै कुरा हुँदा लभ पर्यो रे ! दाइ घर आउनै लागेका थिए । तर लकडाउनका कारण आउन सकेनन् । उन (भाउजू) ले यो कुरा थाहा पाएपछि यसअघि पनि दीपकको घर गइसकेकी थिइन् । तर हामीले सम्झाई–बुझाई ल्याएका थियौं । अहिले फेरि भागिन् ।’

यस्तै विदेशबाट आएको चार महिना नबित्दै धनुषाको गणेशमान चारनाथ नगरपालिका–२ का २७ वर्षीय साकिर हुसैनकी श्रीमती रुबी खातुन पनि चार दिन अगाडि घरबाट एकाएक सम्पर्कविहीन भइन् । माइत र अन्य आफन्तको घरमा खोजतलास गरे पनि उनी फेला परेकी छैनन् । उनी पनि अन्य पुरुषसँग भागेको अनुमान गरिएको छ ।

साकिर भन्छन्, ‘म महेन्द्रनगर बजार गएको थिएँ । उनी (श्रीमती) छिमेकीको बिहेमा गइन् र सम्पर्कविहीन भइन् । म घर आउँदा थाहा पाएँ । त्यसपछि धेरै ठाउँ खोजिसकें । कतै भेटेको छैन ।’ उनले श्रीमतीको खोजतलास गरिदिन प्रहरीमा हुलियासहितको निवेदन दिएको समेत सुनाए ।

रुबी कान्छो छोरा आहिललाई पनि सँगै लिएर गएकी छन् । जेठो छोरोमा अपांगता छ । ‘पोलियोको शिकार भएर जेठो छोराको हातखुट्टा केही चल्दैन’ साकिर भन्छन्, ‘उठबस गर्न पनि सक्दैन । दिनरात ओछ्यानमै हुन्छ । खाना पनि खुवाउनुर्छ । यस्तो अवस्थामा श्रीमती सम्पर्कविहीन भएपछि ठूलो समस्या भयो ।’

हुसैन खाडी मुलुक कतारमा दुई वर्ष विताएर चार महिना अघि घर फर्केका थिए । आफू विदेशमै रहेका बेला श्रीमतीको परपुरुषसँग सम्पर्क भएको हुनसक्ने र अहिले ती पुरुषसँगै भागेको उनको अनुमान छ । तर साकिर भन्छन्, ‘घरमा आएदेखि कहिल्यै झैझगडा भएन । म आएपछि उनी पनि खुशी नै थिइन् । तर एकाएक कसरी सम्पर्कविहीन भइन् थाहै छैन ।’
यी दुई घटना त उदाहरण मात्र हुन् । श्रीमान् विदेशमा भएका बेला श्रीमती अन्य व्यक्तिसँग भाग्ने समस्या विकराल बन्दै गएको छ । यसले समाजमा विकृति बढाएको छ । वैदेशिक रोजगारीले महिलाबाट अधिक संख्यामा पुरुषहरू पीडित बनिरहेका छन् ।

समाजसेवी शैलेन्द्र चोरबार भन्छन्, ‘वैदेशिक रोजगारले कैयौंको घर बर्बाद मात्र भएको छैन, समाज नै विकृतमय बनेको छ । यो वैदेशिक रोजगारको साइड इफेक्ट हो ।’ वैदेशिक रोजगारका कारण अपराध समेत बढेको भन्दै देशभित्रै रोजगारीको व्यवस्था नभए समाजमा विकृतिको अवस्था भयावह बन्ने उनको जिकिर छ ।

धनुषाका प्रहरी प्रवक्ता डीएसपी मकेन्द्र मिश्र वैदेशिक रोजगारले ठूलै समस्या निम्त्याएको बताउँछन् । भन्छन्, ‘अधिकांश त सम्पत्ति लिएर श्रीमती भागेको भन्दै उजुरी लिएर आउँछन् । अहिले यसैसँग सम्बन्धित ४० प्रतिशत उजुरी कार्यालयमा पर्ने गरेको छ ।’

रोजगारी नपाएर विदेश पुग्नुपर्दा श्रीमती अन्य पुरुषसँग भाग्ने गरेको बताउँदै डीएसपी मिश्रले भने, ‘देशभित्रै रोजगार पाएपछि त कम्तीमा हप्ता १५ दिनमा त घर पुग्छन्, अनि त उम्किनै पाउँदैनन् नि ! अर्को कुरा समाजमा शिक्षाको पनि कमी देखिन्छ । यसबारे सम्बन्धित निकायले सोच्न जरूरी देखिन्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर