प्रधानमन्त्री कप फाइनल: एपिएफले टस जितेर फिल्डिङ रोज्यो – Nepal Press

प्रधानमन्त्री कप फाइनल: एपिएफले टस जितेर फिल्डिङ रोज्यो

काठमाडौं । प्रधानमन्त्री कप एकदिवशीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा सशस्त्र प्रहरी बलको एपिएफ क्लबले त्रिभुवन आर्मी क्लबविरुद्ध टस जितेर फिल्डिङ रोजेको छ ।

त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजे सुरु हुने खेलमा एपिएफका कप्तान शदर भेसावकरले टस जितेर पहिले बलिङ गर्ने निर्णष गरेका हुन् । आज आर्मी एपिएफसँग २०१८ को फाइनलमा हारेको बदला लिन चाहन्छ । अर्कातिर समूह चरणदेखि अपराजित रहेको एपिएफ फाइनल जित्दै दोस्रो पटक उपाधि उचाल्ने तयारीमा छ ।

पछिल्लो पटक २०१९ मा त्रिभुवन आर्मीलाई पराजित गर्दै नेपाल पुलिस क्लबले उपाधि जितेको थियो । त्यस्तै, २०१८ मा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै उपाधि उचालेको थियो ।

२०१७ मा भएको पहिलो संस्करणको फाइनलमा वर्षाका कारण नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले उपाधि बाँडेका थिए ।

जारी सिजनको विजेताले १० लाख तथा उपविजेताले ५ लाख प्राप्त गर्नेछन् । त्यस्तै सेमिफाइनलबाट बाहिरिने दुई टोली( वाग्मती र नेपाल पुलिस क्लबले ५०÷५० हजार प्राप्त गर्नेछन् ।

प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५० हजार तथा उत्कृष्ट बलर र ब्याट्सम्यानले २५/२५ हजार रूपैयाँ प्राप्त गर्नेछन् ।

आर्मीको फाइनल यात्रा

उद्घाटन खेलमा गण्डकीलाई ९८ रनले पराजित गर्दै प्रतियोगिताको सुरुआत गरेको आर्मीले समूह ‘ए’को दोस्रो खेलमा कर्णाली प्रदेशलाई ८० रनले पराजित गरेको थियो ।

तेस्रो खेलमा प्रदेश १ लाई ४ विकेटले हराएको आर्मीले समूह चरणको अन्तिम खेलमा एपिएफसँग ६ रनको पराजय बेहोरेको थियो । सेमिफाइनलमा वाग्मतीलाई ९४ रनको फराकिलो अन्तरले पराजित गरेको आर्मी लगातार चौथो पटक प्रधानमन्त्री कपको फाइनलमा आइपुगेको हो ।

पहिलो संस्करणको फाइनलमा नेपाल पुलिससँग उपाधि बाँडेको आर्मी दोस्रो फाइनलमा एपिएफ र तेस्रो फाइनलमा पुलिससँग पराजित भएको थियो ।

एपिएफको फाइनल यात्रा

पहिलो खेलमा प्रदेश १ लाई १३५ रनको अन्तरले पराजित गरेको एपिएफले दोस्रो खेलमा गण्डकीलाई ६ विकेटले हराएको थियो । प्राय सबै खेलमा एकतर्फी नतिजा निकालेको एपिएफले समूह चरणको तेस्रो खेलमा कर्णालीलाई ७१ रन तथा अन्तिम खेलमा विभागीय प्रतिद्वन्द्वी आर्मीविरुद्ध ६ रनको झिनो जित हासिल गरेको थियो ।

सेमिफाइनलमा विभागीय प्रतिद्वन्द्वी तथा साविक उपविजेता नेपाल पुलिस क्लबलाई ३० रनले पराजित गरेको एपिएफ दोस्रो पटक फाइनलमा पुगेको हो । यसअघि २०१८ को जुनमा भएको प्रधानमन्त्री कपको फाइनलमा आर्मीलाई ६ विकेटले पराजित गर्दै एपिएफ च्याम्पियन बनेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *