नेपालसँग पहिलोपटक सडकमार्गबाट जोडियो सिक्किम – Nepal Press

नेपालसँग पहिलोपटक सडकमार्गबाट जोडियो सिक्किम

इटहरी । भारतको हिमाली राज्य सिक्किम सडक सञ्जालबाट पहिलोपटक नेपालसँग जोडिएको छ । नेपाललाई सिक्किमसँग जाड्ने गरी खोलिएको ट्रयाक यही साताबाट सञ्चालनमा आएको हो ।

गत शनिबार दिउँसो तीन बजे सिक्किमबाट स्थानीय नेता–कार्यकर्ता, ठेकेदार र पत्रकारको एक समुहले पहिलोपटक नेपाली सिमा चिवाभञ्ज्याङ् टेकेको सिक्किमका पत्रकार केएन शर्माले बताए । शर्माका अनुसार गत वर्षको डिसेम्बरमै सम्पन्न हुनुपर्ने सडक यो साता मात्रै सञ्चालनमा आएको हो ।

पश्चिम बंगालको अखबार दि टेलिग्राफका अनुसार पश्चिम सिक्किमको उत्तरबाट २५ करोड भारु लागतमा चिवाभञ्ज्याङ्सम्म सडक ट्रयाक खोल्ने काम सुरु भएको थियो । सिक्किम सरकार अन्तर्गतको सिक्किम सडक तथा पुल विभागले सडक निर्माण गरेको हो । सिक्किमबाट हालसालै मात्रै नेपाल आउने सडक खोलिएकोमा नेपालतर्फबाट भने निकै अगाडि सिमासम्म सडक निर्माण भएको थियो ।

पाँचथरको चिवाभञ्ज्याङ् उद्गम भएको मध्यपहाडी राजमार्ग निर्माणकै क्रममा सडक सिक्किमसम्म जोडिएको थियो ।

समुद्र सतहबाट १० हजार २ सय ९९ फिट उचाइमा रहेको चिवाभञ्ज्याङ् प्रदेश १ को सुन्दर हिल स्टेसन हो । सिक्किमतर्फ पनि चिवाभञ्ज्याङ्बाट करिब ३८ किलोमीटर दुरीमा पेलिङ नामक प्रसिद्ध पर्यटकीय क्षेत्र रहेको छ । प्रदेश १ र सिक्किम सडक सञ्जालले जोडिएपछि दुवै क्षेत्रमा पर्यटन चहलपहल बढ्ने प्रदेश १ का पर्यटनमन्त्री जगदीशप्रसाद कुसियत बताउँछन् । उनी भन्छन्- ‘प्रदेश १ मा आउने पर्यटन सिक्किम जान र सिक्किम आउने पर्यटक प्रदेश १ आउन यो सडक सञ्जाल महत्वपूर्ण हुनेछ ।’

भारतीय अखबार दि टेलिग्राफका अनुसार नेपाल र सिक्किमको सिमा १०० किलोमीटर छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *