बल्खु तरकारी बजारमा क्यूआर कोड शुरु – Nepal Press

बल्खु तरकारी बजारमा क्यूआर कोड शुरु

काठमाडौं । बल्खु तरकारी बजारमा क्यूआर कोड सेवा शुरु भएको छ । शुक्रबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले क्यूआर कोड भुक्तानीको उद्घाटन गर्दै सेवाको शुरुवात गरेका हुन् । एनएमबी बैंक लिमिटेडले बल्खु तरकारी बजारमा क्यूआर कोडमार्फत् भुक्तानी शुरु गरेको हो ।

गभर्नर अधिकारीले आफू पैसामा हस्ताक्षर गर्ने व्यक्ति भएपनि आफूले हस्ताक्षर गरेको नोटको प्रयोग कम भए हुन्थ्यो जस्तो लागेको बताए । नगदको प्रयोग कम हुँदा, देश, बैंक, व्यवसायी र सर्वसाधारण सबैलाई फाइदा पुग्ने उहाँको भनाइ छ । यस्तै नगदको प्रयोग सकेसम्म कम गरेर दैनिक कारोबार गरी आफ्नो व्यवसायलाई व्यवस्थित बनाउन सकिने पनि गभर्नर अधिकारीले बताए ।

विद्युतीय भुक्तानीलाई प्रोत्साहन गर्ने कदमअनुरुप क्यूआर कोर्डमार्फत कारोबार शुरु गरिएको हो । अब नगदबाट नगदरहित कारोबारतर्फ समाजलाई रूपान्तरणको दिशामा उन्मुख भएको बैंकले बताएको छ ।

कार्यक्रममा बोल्दै एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले वर्तमान परिवेश र सुरक्षाका मापदण्डलाई मध्यनजर गर्दै बैंकले आगामी दिनहरुमा आफ्ना ग्राहकलाई विभिन्न किसिमका नगदरहित भुक्तानी सेवा उपयोग गर्न प्रोत्साहन गर्ने बताए ।

त्यस्तै, कृषि तथा सहुलियतपूर्ण कर्जा सहजताको लागि थप कार्यक्रम गर्नेमा प्रतिबद्धता समेत उनले व्यक्त गरे । बैंकले सो बजारका बुढाथोकी भेजिटेबल सप्लायर्स र सजनी भेजिटेबल सप्लायर्सलाई सहुलियतपूर्ण कर्जाको प्रस्ताव पत्र समेत दिएको जानकारी गराएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर