यसरी मनाइयो शहीद दिवस (तस्बिरहरु) – Nepal Press
यसरी मनाइयो शहीद दिवस  (तस्बिरहरु)
विजय गजमेर २०७७ माघ १६ गते १०:२७
२०७७ माघ १६ गते १०:२७

काठमाडौं । प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी शहीद दिवस मनाइएको छ ।

दिवसका अवसरमा शुक्रबार बिहान शान्तिवाटिका रत्नपार्कबाट शहीद स्मारक लैनचौरसम्म प्रभातफेरी गरिएको छ । प्रभातफेरीमा प्रधानमन्त्री, मन्त्री, सरकारका उच्चपदस्थ अधिकारी, जनप्रतिनिधि सहभागी थिए ।

सुरक्षा निकायको ब्याण्ड टोली र मार्चपास टोलीसहितको प्रभातफेरी शहीद स्मारक लैनचौर पुगी ज्ञातअज्ञात शहीदप्रति श्रद्धाञ्जली अर्पण गरेको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले लैनचौरस्थित शहीद स्मारकमा माल्यार्पण गरी श्रद्धाञ्जली व्यक्त गरे ।

वीर शहीदहरुको स्मरणमा विक्रम संवत् २०१२ देखि काठमाडौं महानगरपालिकाको संयोजनमा साताव्यापी रुपमा माघ १० देखि १६ गतेसम्म ‘शहीद सप्ताह’ मनाउने गरिएको छ ।

साताव्यापी कार्यक्रमको अन्तिम दिन शुक्रबार शहीद उद्यान लैनचौरमा विशेष श्रद्धाञ्जलीसभा आयोजना गरिएको हो ।