लयमा फर्कियो लिभरपुल, टोटनह्याममाथि प्रभावशाली जित – Nepal Press

लयमा फर्कियो लिभरपुल, टोटनह्याममाथि प्रभावशाली जित

एजेन्सी । कठिन प्रतिद्वन्द्वी टोटनह्याममाथि ३–१ गोलको प्रभावशाली जित दर्ता गर्दै साविक विजेता लिभरपुलले प्रिमियर लिगमा आफ्नो गुमेको लय फिर्ता ल्याएको छ ।

लिभरपुलले प्रिमियर लिगमा पछिल्ला ५ खेल जित्न सकेको थिएन । तीमध्ये चार खेलमा त गोल गर्न पनि सकेको थिएन । तर कमजोर देखिएको टोटनह्याममाथिको जितपछि उसले पुनः शीर्ष चारभित्र स्थान बनाउन सफल भएको छ ।

टोटनह्यामले पहिलो हाफमा मुख्य स्ट्राइकर ह्यारी केनलाई गोलीगाँठाको चोटका कारण गुमाएको छ । पहिलो हाफमै अर्का स्ट्राइकर सन ह्युङ मिनको गोललाई रेफ्रीले अफसाइड करार गरेपछि टोटनह्यामले अग्रत बनाउन चुकेको थियो ।

पहिलो हाफको इन्जूरी समयमा लिभरपुलले ८ सय ८२ मिनेटपछि प्रमियर लिगमा गोल गरेको हो । ब्राजिलियन स्ट्राइकर रोबर्टो फिर्मिनोले साडियो मानेको क्रसमा क्लोज रेन्जबाट गोल गरेका थिए । टोटनह्यामका गोलरक्षक ह्युगो लोरिस र डिफेण्डर एरिक डायरबीच सन्तुलन अभावमा लिभरपुलले अवसर सृजना गरेको थियो ।

विश्व विलेता फ्रान्सेली गोलरक्षक लोरिसले दोस्रो हाफको दोस्रो मिनेटमा पनि अर्को गल्ती गरे । साडियो मानेको प्रहार पन्च गरेपनि पछिपछि आइरहेका राइट ब्याक ट्रेन्ट अलेक्जान्दर आर्नोल्डले शानदार गोल गरे ।

त्यसलगत्तै पिएर्रे इमिली हजवर्गले २० यार्डबाट आकर्षक गोल गरी टोटनह्यामको आशा जीवित पारेका थिए । तर दोस्रो हाफको अधिकांश समय लिभरपुलले नियन्त्रणमा राखेको थियो ।

६५ औं मिनेटमा आर्नोडको पासमा मानेले गोल गरेपछि लिभरपुलले खेल ३–१ गोलले जित्यो ।

जितसँगै २० खेलबाट ३७ अंकसहित लिभरपुल चौथो स्थानमा छ । १ खेल कम खेलेको शीर्ष स्थानको म्यानचेस्टर सिटीभन्दा ४ अंकले पछाडि छ । १९ खेलबाट ३३ अंकसहित टोटनह्याम छैटौं स्थानमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर