९३ लाख दिएर तीन करोड असुलेका मन्टु अदालतमा – Nepal Press
मिटर ब्याजी धन्दा

९३ लाख दिएर तीन करोड असुलेका मन्टु अदालतमा

विराटनगर । विराटनगरका चर्चित मिटरब्याजी मन्टु भनिने सञ्जयप्रसाद रौनियारले १७ सर्वसाधारणलाई करीब ९३ लाख रुपैयाँ ऋण दिएर तीन करोड रुपैयाँ असुली गरेको खुलेको छ ।

प्रहरीका अनुसार उनले ९२ लाख ८८ हजार रूपैयाँ ऋण दिएर दुई करोड ७० लाख ३१ हजार रुपैयाँ असुली गरेका हुन् । उनले अझै एक करोड ३८ लाख ९८ हजार ४०० रुपैयाँ थप रकम दावी गरेका छन् ।

रौनियारले १० वर्षयता मिटरब्याजमा दिएको ऋण भन्दा पाँच गुणा बढी रकम असुल गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

मिटरब्याजमा लगानी गर्ने मन्टुले सर्वसाधारणको जग्गा नामसारी गरी कपाली तमसुक बनाएर ऋण दिने गरेका थिए । मन्टुले ऋण दिएपछि सर्वसाधारणसँग ६/६ महिना भित्र तिरेमा सयकडा ३ का दरले अर्थात् वार्षिक ३६ प्रतिशत ब्याज लिने गरेको पाइएको छ ।

६ महिना भन्दा बढी लगाएमा प्रत्येक प्रति ६ महिनामा सयकडा ५ अर्थात् ५६ प्रतिशत ब्याज लिने गरेको राैनियारविरुद्ध अदालतमा दायर अभियोगपत्रमा उल्लेख छ ।

मन्टुविरुद्ध सरकारी वकिलको कार्यालयले जिल्ला अदालत मोरङमा ‘ठगी र अापराधिक लाभ लिएको’ मुद्दा दर्ता गरेको छ । सो मुद्दामा सरकारी वकिलको कार्यालयले १ करोड ९२ लाख ८५ हजार २२६ रूपैयाँ क्षतिपूर्ति माग दावी गरेको छ ।

मन्टुले विभिन्न व्यक्तिका ६० कित्ता जग्गाको तमसुक गरी ५० करोड भन्दा बढी रकम असुलेको प्रहरी अनुसन्धानबाट खुलेको छ । जसमा ४० कित्ता सञ्जयको नाममा देखिएको छ भने उनकी श्रीमती ज्योतिको नाममा २० कित्ता जग्गा राजीनामा पास गराइसकेको खुलेको छ ।

मन्टुविरुद्ध मुद्दा दर्ता, बयान शुरु

जिल्ला सरकारी वकिलको कार्यालय मोरङका सहायक जिल्ला न्यायाधिवक्ता मुकुन्दप्रसाद रेग्मीका अनुसार मन्टुविरुद्ध फरक–फरक १७ वटा मुद्दा दर्ता भएका छन् ।

सोमबार र बुधबार दर्ता भएको मुद्दामा प्रतिवादी मन्टुको मोरङ अदालतको ५ नम्बर इजलासमा बयान भइरहेको छ ।

गैरकानूनी मानिएको मिटरब्याजमा लगानी गरी सर्वसाधारण ठगेको आरोपमा उनलाई २९ मंसिरमा मोरङ प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो ।

महिनैपिच्छे ब्याजलाई साँवामा जोड्दै साँवा बढाउँदै

पीडितहरूका अनुसार साहुकार रौनियारले दिएको ऋण तोकिएको चार महिनाभित्र ब्याजसहित चुक्ता गर्न नसकेमा हरेक महिना थप एक अंक बढाएर ब्याज दिनुपर्ने नियम बनाएका थिए । उनले चार महिनाको भाका दिएर मान्छे हेरी सयकडा ३ देखि १० सम्म मासिक ब्याजमा ऋण लगाउँथे ।

ऋण दिँदा उनले घरजग्गा धितोबापत पहिल्यै आफू, श्रीमती ज्योति र परिवारका अन्य सदस्यको नाममा राजीनामा पास गराउँछन् । साथमा, ऋणीलाई झुक्याएर ऋणभन्दा तेब्बर, चौबर बढीको कपाली तमसुक पनि बनाउँछन् ।

चार महिनाको भाका नाघेपछि ब्याजदर पनि हरेक चार–चार महिनामा थप एक अंकले बढाउँदै लैजान्छन् । र, चार महिनामा तिर्न नसकेपछि जम्मा भएको ब्याजको रकम पनि साँवामा थप्दै जान्छन् ।

जति–जति साँवा र भाका बढ्दै जान्छ, त्यति नै पछिल्लो एकमुष्ठ साँवाअनुसार बढी अंकले ब्याज असुल्छन् । समयमै साँवा, ब्याज बुझाउने ऋणीलाई पनि उनले धेरै ऋणको झूठो कपाली तमसुक देखाएर थप ब्याज तिर्न बाध्य बनाउने गरेका थिए ।

सम्पत्ति शुद्धीकरणको माग गर्दै उजुरी

गैरकानूनी ढंगले अकुत सम्पत्ति आर्जन गरेको र मिटरब्याजमा लगानी गरी मोरङका ग्रामीण क्षेत्रका सर्वसाधारणलाई ‘टाट’ पल्टाएको भन्दै तीन जनाले २०७७ मंसिर ७ गते रौनियारविरूद्ध सम्पत्ति शुद्धीकरण विभागमा उजुरी दर्ता गराएका छन् ।

मिटर ब्याजबापत करीब ५० करोड रुपैयाँ उनले आर्जन गरेको पनि उजुरीमा उल्लेख छ ।

अवैध आर्जनबापतको रकम भारत साहिरागन्ज, टावरचोक, मुजफ्फरपुरस्थित ससुरालीमा पुर्याएर लुकाएको पनि उजुरीमा उल्लेख छ ।

‘रौनियारको घरमा गैरकानूनी ढंगले आर्जन गरेको १० केजी भन्दा बढी सुन तथा ५० केजी भन्दा बढी चाँदी छ । विभिन्न कम्पनीमा करोडौं रुपैयाँ बराबरको शेयर रकम रहेको छ,’ सम्पत्ति शुद्धीकरण विभागमा दर्ता गरेको उजुरी पत्रमा उल्लेख छ ।

मन्टुसँग मोरङको धनपालथान, जहदा, रंगेली, सुनवर्षी विराटनगरका विभिन्न गाउँका वासिन्दाले वैदेशिक रोजगारीे, घरायसी समस्या वा छोरा–छोरीलाई पढाउन पैसा आवश्यक पर्दा ऋण लिने गर्थे । तर मन्टुले गलत तरिकाले ती स्थानीयवासीलाई ठगी गर्न थालेको उनीहरू बताउँछन् ।

मन्टुले मिटरब्याजमा ऋण दिएपछि गाउँ–गाउँमा एजेन्ट परिचालन गर्ने गरेको पीडितहरूले बताएका छन् । पीडितका अनुसार मिटरब्याजमा लगानी गरेको पैसा उठाउन एजेन्ट गाउँमा खटाउने गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *