जसले राजा महेन्द्रमाथि बम फालेका थिए – Nepal Press
दुर्गानन्द झा स्मृति दिवस

जसले राजा महेन्द्रमाथि बम फालेका थिए

जनकपुरधाम । नेपाली कांग्रेसले आज प्रजातान्त्रिक आन्दोलनका योद्धा तथा शहीद दुर्गानन्द झाको ५७औं बलिदानी दिवस मनाएको छ । धनुषाको नगराइन नगरपालिकामा पर्ने जटहीमा उपसभापति विमलेन्द्र निधिको उपस्थितिमा शहीद झाको सम्झनामा कांग्रेसले बलिदानी दिवस मनाएको हो ।

तात्कालीन राजा महेन्द्रमाथि जनकपुरमा बम प्रहार गरेपछि आजकै दिन २१ वर्षकै उमेरमा दुर्गानन्द झाले मृत्युदण्डको सजायँ पाएका थिए । त्यतिबेला नै झाले संघीय गणतन्त्र ल्याउने सपना देखेका थिए ।

देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि उनको सपना त पूरा भयो तर जनताले गणतन्त्रको अनुभूति गर्न पाएका छैनन् । झालाई ५२ वर्षपछि २०७२ फाल्गुन १९ गते सरकारले शहीद घोषणा ग¥यो । तर जटहीवासी उनको योगदानको कदर नभएको बताउँछन् ।

झा प्रथम गणतान्त्रिक शहीद भएकाले उनको नामले हुलाकी राजमार्गको नामकरण गर्नुपर्ने कांग्रेस उपसभापति निधि बताउँछन् । हुन त उनी आफैं सरकारमा पटक–पटक मन्त्री बनेका छन् । तर विडम्बना आफू सरकारमा पुग्दा बिर्सिन्छन् ।

तात्कालीन राजा महेन्द्रले २०१७ पुस १ मा संसद भंग गरेर देशमा निरंकुश शासन लागू गरेपछि देशभर विरोध शुरु भयो । मधेशमा पनि आन्दोलन चर्कियो । त्यतिबेला दुर्गानन्द झा २१ वर्षका मात्र थिए । जानकारहरू भन्छन्, झा शहीद भगत सिंहबाट प्रेरित थिए ।

देशभर विरोध भइरहेको बेला राजा महेन्द्र मधेश भ्रमणमा निस्केका थिए । जनकपुर आएका बेला जानकी मन्दिर नजिकै उनी सवार गाडीमा झाले बम फाले । जीप क्षतिग्रस्त बने पनि राजा महेन्द्र बाँच्न सफल भए । घटनापछि झा भारत पुगे । तत्कालीन सरकारले भने उनलाई ‘मोस्टवान्टेड’को सूचीमा राखेर पक्राउ आदेश जारी गर्यो ।

झालाई सहयोग गरेको निहुँमा जटहीका ५६ जनालाई समातेर सेनाले चरम यातना दियो । त्यसपछि झाले भारतबाटै सरकारलाई चिट्ठी लेखे । उनी गिरफ्तारी दिन तयार भए । निडर स्वभावका उनले गिरफ्तारी दिएपछि प्रशासनले एक रात जलेश्वर जेलमा राख्यो । भोलिपल्ट बिहान उनलाई सेनाको हेलिकोप्टरबाट काठमाडौं लगियो ।

मुलुकी ऐनमै संशोधन गरी मृत्युदण्ड

घटनाको छानबिन गर्न एक विशेष अदालतको गठन गरिएको थियो । उनलाई माफी मागी बिन्तीपत्र लेख्न भन्यो, तर मानेनन् । त्यसपछि २०१९ भदौ १९ मा उनलाई मृत्युदण्डको सजाय सुनाइयो । ब्राह्मण भएका कारण मुलुकी ऐन संशोधन गरी २०२० साल माघ १५ गते मध्यरातमा केन्द्रीय कारागारमा पञ्चायत सरकारले उनलाई मृत्युदण्ड दिएको थियो ।

झाको नाममा अस्पताल बन्दै

शहीद झाका लागि संघीय सरकारले त केही गरेन नै प्रदेश–२ सरकारले भने ५० शय्याको ‘शहीद दुर्गानन्द झा स्मृति अस्पताल’ निर्माण गरिरहेको छ । धनुषा–३ बाट निर्वाचित सांसद तथा जसपा वरिष्ठ नेता राजेन्द्र महतोले अस्पताल निर्माणका लागि गत आर्थिक वर्षमा आफ्नो संसदीय विकास कोषबाट ५० लाख र प्रदेश सरकारबाट ९० लाख बजेट उपलब्ध गराएपछि अस्पताल निर्माणाधीन अवस्थामा छ ।

चालु आर्थिक वर्षमा पनि प्रदेश सरकारले दुई करोड रुपैयाँ छुट्याएको छ । जसपाका वरिष्ठ नेता महतोका स्वकीय सचिव किशोर गुरु भन्छन्, ‘अस्पताल निर्माणका लागि बाउन्ड्री वाल र चारकोठे भवन निर्माण भएको छ । चालु आर्थिक वर्षमा प्रदेश सरकारले उपलब्ध गराएको बजेटले इमर्जेन्सी र प्याथोलोजी ल्याबको भवन निर्माण हुनेछ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर