वाग्मतीलाई पराजित गर्दै आर्मी चौथो पटक फाइनलमा – Nepal Press

वाग्मतीलाई पराजित गर्दै आर्मी चौथो पटक फाइनलमा

काठमाडौं । वाग्मतीलाई ९४ रनले पराजित गर्दै विभागीय टोली त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ ।

समूह ‘ए’ को उपविजेताको रूपमा सेमिफाइनलमा प्रवेश गरेको आर्मीले समूह ‘बी’को विजेता वाग्मतीलाई सहजै पराजित गर्दै लगातार चौथो पटक फाइनल यात्रा तय गरेको हो ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २२९ रनको योगफल तयार पारेको थियो । फाइनल प्रवेशका लागि २३० रनको विजय लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको वाग्मतीले ४०.२ ओभरमा सबै विकेट गुमाएर १३५ रन मात्रै बनाउन सक्यो ।

टप अर्डर फ्लप भएसँगै दयनीय सुरुआत गरेको वाग्मतीले ६.२ ओभरमा १८ रन बनाउँदा ५ विकेट गुमाइसकेको थियो । त्यसपछि मध्य क्रमका ब्याट्सम्यानले इनिङ सम्हाल्ने कोशिश गरे पनि सफल हुन सकेनन् ।

वाग्मतीका लागि सर्वाधिक ४७ रन जोडेका ज्ञानेन्द्र मल्लले ६० बलमा ४ चौका प्रहार गरेका थिए । त्यस्तै, बिपिन आचार्य ४७ बलमा २३ रन जोडेर पेभेलियन फर्किँदा नन्दन यादवले २२ तथा अदिल खानले १० बाहेक अन्य ७ जना ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बलिङतर्फ आर्मीका लागि जितेन्द्र मुखियाले ८.२ ओभरमा २४ रन खर्चेर १ मेडनसहित ४ विकेट लिए । बिक्रम सोबले १० ओभरमा २५ रन खर्चेर ५ मेडनसहित ३ विकेट लिए भने सुशन भारीले १० ओभरमा ३६ रन खर्चेर १ मेडनसहित ३ विकेट चट्काए ।

पहिलो इनिङमा खराब सुरुआत गरेको आर्मीले ३.५ ओभरमा १७ रन बनाउँदा दुवै ओपनरसहित ३ विकेट गुमाएको थियो ।

आर्मीका लागि राजेशले ९१ बलमा ४ चौका र २ छक्कासहित ६५ रनको महत्त्वपूर्ण इनिङ खेलेका थिए । त्यस्तै, ६१ बलको सामना गरेका भीम सार्कीले ५ चौका र १ छक्कासहित ४० रन जोडेका थिए । ५८ बलमा ३ चौकासहित ३५ रन बनाएका बिक्रम सोब विकेटकिपर आकाश थापाको हातबाट क्याच आउट भए ।

त्यसअघि लोकेश बम २३ तथा कप्तान विनादे भण्डारी १० रन बनाएर पेभेलियन फर्केका थिए ।

वाग्मतीका लागि गौतम केसीले १० ओभरमा ६१ रन खर्चेर १ मेडनसहित ५ विकेट लिए । उनले आर्मीका सुरुआती ती ब्याट्सम्यानलाई पेभेलियन फर्काएका थिए । बिपिन आचार्य, रामनरेश गिरी, नन्दन यादव र तिलक भण्डारीले १० ओभर बलिङ गर्दै एक/एक विकेट लिए ।

आर्मीले शनिबार हुने फाइनलमा उपाधिका लागि विभागीय प्रतिद्वन्द्वी एपिएफ क्लबको सामना गर्नेछ । एपिएफ बुधबार भएको पहिलो सेमिफाइनलमा साविक विजेता नेपाल पुलिस क्लबलाई पराजित गर्दै फाइनलमा पुगिसकेको छ ।

एपिएफ समूह ‘ए’को विजेताको रूपमा सेमिफाइनलमा आइपुगेको थियो भने नेपाल पुलिस क्लब समूह ‘बी’को उप विजेता बन्दै अन्तिम चारमा स्थान बनाएको हो ।

प्रधानमन्त्री कपको चौथो संस्करणसम्म आइपुग्दा अहिले सम्म गैरविभागीय टोलीले फाइनल खेलेका छैनन् । तर, आज आर्मीलाई पराजित गरेर वाग्मती पहिलो पटक फाइनल पुग्ने प्रदेश स्तरीय टोली बन्ने मौका थियो । तर, ब्याटिङ कोल्याप्स भएसँगै वाग्मती ऐतिहासिक फाइनल प्रवेशबाट वञ्चित हुनुपर्‍यो ।

पछिल्लो पटक २०१९ मा त्रिभुवन आर्मीलाई पराजित गर्दै नेपाल पुलिस क्लबले उपाधि जितेको थियो । त्यस्तै, २०१८ मा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै उपाधि उचालेको थियो ।

२०१७ मा भएको पहिलो संस्करणको फाइनलमा वर्षाका कारण नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले उपाधि बाँडेका थिए ।

जारी सिजनको विजेताले १० लाख तथा उपविजेताले ५ लाख प्राप्त गर्नेछन् । त्यस्तै सेमिफाइनलबाट बाहिरिने दुई टोली- वाग्मती र नेपाल पुलिस क्लबले ५०/५० हजार प्राप्त गर्नेछन् ।

प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५० हजार तथा उत्कृष्ट बलर र ब्याट्सम्यानले २५/२५ हजार रूपैयाँ प्राप्त गर्नेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *