करोडौं लगानीका फिल्म निःशुल्क यूट्यूबमा देखाउन मरिहत्ते, यसरी कहिले उँभो लाग्ने ? – Nepal Press
चलचित्र बहस

करोडौं लगानीका फिल्म निःशुल्क यूट्यूबमा देखाउन मरिहत्ते, यसरी कहिले उँभो लाग्ने ?

काठमाडौं । नेपालमा एउटा फिल्म निर्माण गर्न औसत एकदेखि डेढ करोड रुपैयाँ खर्च हुन्छ । ती फिल्म हलमा लगाएर नाफा कमाउन कम्तीमा पाँच करोडको व्यापार गर्नुपर्छ, जुन सौभाग्य वर्षमा एकाध फिल्मले मात्रै पाउँछन् । बाँकी फिल्मले लगानी उठाउन सक्दैनन् । त्यसमा पनि केही फिल्मले त हलबाट पोस्टर खर्च समेत उठाउन सक्दैनन् ।

जुन फिल्म सिनेमा हलमा पत्तासाफ हुन्छन्, तिनीहरूको आम्दानीको अन्तिम स्रोत बन्न पुग्छ यूट्यूब । करोडौं लगानीका फिल्म दुई–चार लाख आम्दानीका लागि यूट्यूबमा निःशुल्क देखाउन बाध्य बन्छन् निर्माता । तर, यो ट्रेन्डले नेपाली चलचित्र क्षेत्रलाई भने दीर्घकालसम्म क्षति पुर्‍याइरहेको छ ।

दर्शक नेपाली यूट्यूबमा निःशुल्क हेर्न बानी परेका छन् । पछि यूट्यूबमा आइहाल्छ, किन हलमा गएर पैसा खेर फाल्ने ? दर्शकको यही मनोभावनाले नेपाली चलचित्रको व्यापार सुकिरहेको छ ।

हलमा नचलेका फिल्म यूट्यूबमा देखाउनुको अर्को प्रयोजन भनेको कम्तीमा आफूहरूले गरेको दुःख दर्शकसम्म पुगोस् भन्ने आकांक्षा पनि हो । यूट्यूबमा राम्रा प्रतिक्रिया आए निर्माता-निर्देशक र कलाकारलाई कम्तीमा मानसिक सन्तोष मिल्छ । कतिपय राम्रा फिल्मले हलमा दर्शक नपाएको तर यूट्यूबमा वाह्वाही पाएको देखिएको छ । यही प्रशंसाको भोकले गर्दा हलमा रिलिज भएको केही समयमै यूट्यूबमा रिलिज गर्ने क्रम बढेको छ । हलमा दर्शक तानेका फिल्महरू पनि यूट्यूबमा आइरहेका छन् ।

दीपकराज गिरी छक्का पञ्जा २ मा अभिनय गर्दै ।

हाम्रो छिमेकमा विश्वकै दोस्रो ठूलो चलचित्र उद्योग बलिउड छ । त्यहाँ वर्षेनि सयौं फिल्म निर्माण हुन्छन् । तर, कुनै पनि फिल्म दर्शकले यसरी यूट्यूबमा निःशुल्क हेर्न पाउँदैनन् । यूट्यूबमा हिन्दी फिल्म खोज्यो भने पुराना–पुराना मात्रै भेटिन्छन् ।

०००

‘छक्का पञ्जा’ नेपालमा सबैभन्दा बढी व्यावसायिक रूपमा सफल फिल्म सिरिज हो । यस सिरिजका तीनैवटा फिल्मलाई यूट्यूबमा राखिसकिएको छ । तीनवटैले एक करोडभन्दा बढी भ्यूज बटुलेका छन्, जसमध्ये पहिलो र दोस्रो सिक्वेललाई १ करोड ८० लाख पटक हेरिएको छ ।

मल्टिप्लेक्स टिकट दरलाई आधार मान्दा छक्का पञ्जाको पहिलो भागलाई ५ लाख जनाले हेरे । तर, यही फिल्म यूट्यूबमा आउँदा १ करोड ८० लाखले हेरेका छन् । ५ लाखले हलमा हेर्दा छक्का पञ्जाले झन्डै १५ करोडको कारोबार गरेको थियो ।

निर्माता दीपकराज गिरीले फिल्मको डिजिटल राइट १ करोड रुपैयाँमा हाइलाइट्स नेपाललाई बेचेका थिए । त्यसैले यसले यूट्यूबबाट कमाएको पैसा दीपकले पाउँदैनन् । यस्तै, उनले ‘छ माया छपक्कै’ को राइट १ करोड १५ लाखमा बेचेका थिए । यो फिल्म पनि यूट्यूबमा आइसकेको छ । अहिलेसम्म करीब ४० लाख भ्यूज पाएको छ ।

धुर्मुस–सुन्तलीले निर्माण गरेको फिल्म ‘सेन्टी भाइरस’ को डिजिटल राइट १ करोड १६ लाखमा बिक्री गरियो । यो फिल्मले हलबाट अपेक्षित रेभेन्यु चाहिं बटुल्न सकेन । यो डिजिटल राइटको मूल्य फिल्मको कुल लगानीको झन्डै ७० प्रतिशत हो । यूट्यूबले स्वेदश मात्र हैन, विदेशमा समेत बजारको खोजी गर्‍यो । निर्माताले डिजिटल राइटबाटै लगानी सुनिश्चित गर्न थाले ।

हल र यूट्यूबमा फिल्म हेर्ने आँकडाबीचको असमानताले दर्शकीय चाहना र माध्यमगत रुचिलाई दर्शाउँछ । छक्का पञ्जा, कबड्डी, ए मेरो हजुरलगायतका फिल्म सिरिजले प्लेटफर्मको खोजी मात्र गरेनन्, दर्शकलाई यूट्यूबमा प्रतीक्षा गर्न अभ्यस्त तुल्याए । कालान्तरमा, यूट्यूबभन्दा हलको बक्स अफिस ग्राफ ओरालो लाग्न थाल्यो ।

बक्स अफिसभन्दा यूट्यूबमा कमाइ बढ्न थालेपछि निर्माताको ध्यान डिजिटल राइट सुनिश्चित गर्नतर्फ केन्द्रित भयो । राम्रा फिल्म होल्ड गर्न डिजिटल कम्पनीले पनि करोडौं लगानी दाउमा पार्न थाले । दर्शकले तारिफ गरेका केही ठूला फिल्मबाट डिजिटल कम्पनीले करोडौं कमाए । तर, समीक्षा नकारात्मक आउन थालेपछि भने करोडौं लगानी धरापमा पनि परेको स्थिति छ ।

सुहाना थापा र अनमोल केसी ए मेरो हजुर २ मा ।

२०७० सालको मध्य र शुरुआत यूट्यूब प्लेटफर्ममा नेपाली फिल्म खुबै चले । जायजेथा बेचेरै केही सांगीतिक रेकर्ड कम्पनीले यूट्यूब राइट खरीदमा होड गरिरहेका थिए । तर, २०७६ सालपछि परिस्थितिले साथ दिएन । ठूला लगानीका फिल्म नेगेटिभ समीक्षाले फ्लप हुन थालेपछि त्यसको असर यूट्यूबमा पर्‍यो । अन्ततः केही डिजिटल कम्पनीका सञ्चालकले हात झिके भने केहीले देश छाडेरै जानुपर्‍यो ।

उँचाइमा पुगेको फिल्मको यूट्यूब आम्दानी र प्लेटफर्म ओरालो लाग्नुमा वर्ड अफ माउथ र पाइरेसी मुख्य कारण रहे । हाइलाइट्स नेपालले झन्डै १ करोड रुपैयाँमा खरीद गरेको छक्का पञ्जा कुनैबेला पाइरेसी भएपछि लगानीकर्ताले घाटा ब्यहोर्नु मात्र परेन, अन्तर्राष्ट्रिय बजारमा समेत धक्का लाग्यो । यस्तो प्रवृत्ति बढेपछि डायस्पोराको बजार मात्र खुम्चिएन, यूट्यूब लगानीमा डिजिटल कम्पनीले चासो देखाउन छाडे ।

फलस्वरुप, निर्माताले आफ्नै कम्पनीको यूट्यूब प्लेटफर्ममा फिल्म रिलिज गर्ने ट्रेन्ड बढ्यो । यूट्यूबमा फिल्म रिलिज नगर्ने भनेर बसेका निर्माता पनि दर्शकको उच्च दबाबपछि रिलिज गर्न बाध्य भए । दीपकराज गिरी एउटा उदाहरण हुन् जसले छक्का पञ्जा सिरिजलाई यूट्यूबमा रिलिज नगर्ने वचन दिएका थिए । तर, व्यापक दबाबपछि उनले यूट्यूबमै फिल्म रिलिज गर्न बाध्य हुनुप¥यो ।

आफ्नै यूट्यूब च्यानल
कुनै बेला आफ्नो फिल्म डिजिटल कम्पनीलाई निर्धक्क दिने निर्माता त्यतिबेला सचेत भए जब कम्पनीले सय वर्षसम्मको कपिराइट दाबी गर्न थाले । बेचिएको मूल्यभन्दा बढी रकम कम्पनीले कमाएको देखेपछि निर्माताले आफ्नै यूट्यूब प्लेटफर्म सिर्जना गर्न थाले ।

दीपकराज गिरीले आफ्नो पछिल्लो फिल्म ‘छ माया छपक्कै’ लाई आमा अग्निकुमारी मिडिया च्यानलबाट रिलिज गरे । यो च्यानल केदार घिमिरे उर्फ माग्ने बुढाले चलाउँछन् ।

निर्देशक दीपेन्द्र के. खनालले आफ्नो कम्पनी डीएस डिजिटलबाट बन्ने सबै फिल्मको राइट आफैंमा राखेका छन् । निर्माता सुवास गिरीले पनि सुवास इन्टरटेनमेन्टबाट बन्ने फिल्मको राइट आफ्नै प्लेटफर्ममा रिलिज गर्छन् ।

प्रियंका कार्कीको आफ्नै युट्युव च्यानल । जुन उनले लकडाउनको समयमा संचालनमा ल्याएकी थिइन् ।

गायक राजेशपायल राई, अभिनेता विल्सनविक्रम राईले पनि यूट्यूबलाई नै आम्दानीको स्रोत बनाएका छन् । जसले गर्दा डिजिटल कम्पनीको महत्वमा ह्रास आएको छ । यो प्रवृत्ति पछ्याउने निर्माताको सूची लामो छ ।

पाइरेसी र नकारात्मक समीक्षाको प्रहार
प्रारम्भिक दिनमा डिजिटल कम्पनीले स्टारडम र उनीहरूको बजार मागको आधारमा फिल्ममाथि लगानी गर्न थाले । यस्तो दिन पनि आयो कि, ठूला डिजिटल कम्पनी फिल्म निर्माताको रूपमा रूपान्तरित हुन थाले । हाइलाइट्स नेपालले दयाहाङ राई, दीपकराज गिरी, अनमोल केसीलगायतका कहलिएका स्टारमाथि करोडभन्दा बढी खन्याउन थाल्यो ।

तर, पाइरेसी र नेगेटिभ वर्ड अफ माउथको असर लगानीमा सीधा प¥यो । डिजिटल राइट नै नउठ्ने अवस्था आएपछि हाइलाइट्सले लगानी बन्द गर्‍यो ।

जति यूट्यूब प्लेटफर्म सजिलो छ, उत्तिकै डरलाग्दो पनि । विदेशबाट पाइरेसी हुने फिल्मका अपराधीलाई कानूनी दायरामा ल्याउन प्राविधिक रूपले अप्ठ्यारो हुने भएपछि पाइरेसीलाई नियन्त्रण गर्न कठिन भयो । फलस्वरुप, लगानी टाइटानिक जहाजजस्तै डुब्न थाल्यो ।

यूट्यूबको आम्दानी कति ?
यूट्यूबले केही सूचकको आधारमा कन्टेन्ट निर्मातालाई पैसा दिन्छ । यदि १ करोड भ्यूज भएको खण्डमा झन्डै ४० लाख रुपैयाँ निर्माताले पाउने सम्भावना हुन्छ । यसमा पनि केही पूर्वशर्त र आधारहरू छन् ।

अमेरिका, युरोप र अष्ट्रेलियाबाट भिडियो हेर्दा प्राप्त हुने पैसाको आधाभन्दा पनि कम निर्माताले प्राप्त गर्छन् । भन्नुको अर्थ, नेपालमा यूट्यूब रिलिजको बजार स्वदेशमा हैन, विदेशी दर्शकको मनोविज्ञान र मागमा निर्भर गर्छ । कबड्डी, लुट र जात्रालगायत सिरिजका विदेश मागसँगै ती फिल्म हेर्ने दर्शकीय भ्यूज पनि उच्च थियो ।

यूट्यूबले कन्टेन्टको गुणस्तर, समीक्षा, इन्गेजमेन्ट, भ्यूज प्राप्त हुने देश र लम्बाइको आधारमा रेभेन्यु तय गर्छ । यूट्यूब संचालकका अनुसार सबैभन्दा बढी रेभेन्यु नोभेम्बर, डिसेम्बर र जनवरीमा प्राप्त हुन्छ । यो समयमा धेरै पर्व पर्ने र अन्तर्राष्ट्रिय विज्ञापन पनि प्राप्त हुने भएकाले कमाइ राम्रो हुने बताइन्छ । डलरको भाउ घटबढ हुँदा पनि यसको सीधा असर नेपालमा आउने यूट्यूबको कमाइमा पर्छ ।

यूट्यूबमा देखिने विज्ञापन र ती विज्ञापनमा हुने क्लिकको आधारमा रेभेन्यु प्राप्त हुन्छ । हाइलाइट्स नेपालका ओम गुरुङका अनुसार जतिसुकै भ्यूज प्राप्त भए पनि स्थानीय विज्ञापन नभएसम्म व्यावसायिक नाफा हुँदैन । विज्ञापन नै प्रमुख आयस्रोत रहेको गुरुङको भनाइ छ ।

नेपाली फिल्मले पाँच करोडको व्यापार गर्न सक्यो भने त्यसलाई हिट मान्न सकिन्छ । चलचित्र विकास बोर्डको एउटा तथ्यांक अनुसार नेपालको कुल जनसंख्याको २.५ प्रतिशतले मात्र हलमा गएर फिल्म हेर्छन् । तर, अनलाइनमा भने फिल्म कुर्नेको संख्या बढ्दो छ । प्रायः नेटिजन निःशुल्क फिल्म हेर्ने पर्खाइमा बसेका हुन्छन् । यो यूट्यूब प्रवृत्ति नै फिल्मको प्रदर्शनलाई चुनौती बनेको छ ।

ओटीटी प्लेटफर्म थ्रेट
पछिल्लो समय निःशुल्क यूट्यूब प्लेटफर्मका लागि सशुल्क प्लेटफर्म ओभर दी टप (ओटीटी) चुनौती बनेको छ । डिसहोम, नेटटिभी, चलचित्र घरलगायतका एपले पैसा तिरेर हेर्न मिल्ने ओटीटी सेवा दिन थालेका छन् । डिसहोमले लकडाउनअघि रोज राणाको एक फिल्म ‘मेरो पैसा खोइ’ लाई ३० लाख रुपैयाँ राइट दिएको थियो । ऋचा शर्मा, खगेन्द्र लामिछानेलगायतका सेलिब्रिटीले पनि ओटीटी प्लेटफर्म लन्च गरेका छन् ।

लकडाउनको कालखण्ड नेटफ्लिक्स, एचबीओ म्याक्स, अमेजन प्राइमसहित नेपाली एप मौलाउने समय बन्यो । नेटफ्लिक्सजस्ता ठूला स्ट्रिमिङ जायन्टले कमाउने मामिलामा अरूलाई उछिने । लकडाउन अवधिभर नेपालका केही डिजिटल कम्पनीले यूट्यूबमा फिल्म रिलिज त गरे तर, अपेक्षित उपलब्धि हासिल गर्न सकेनन् । यसो हुनुमा ओटीटीसामु बढेको दर्शकीय पहुँच र विकास भएको स्कूल अफ थट्सलाई कारण मान्न सकिन्छ ।

निर्माता-निर्देशक भन्छन् : वाध्यता छ
निर्माता–निर्देशक पनि युट्युवमा फिल्म हाल्नु आफूहरुको रहर नभएको बताउँछन् । दर्शकहरुको आग्रह र दवावमा परेर फिल्म युट्युवमा हाल्नुपरेको उनीहरुको स्वीकारोक्ति छ ।

निर्माता तथा अभिनेता दिपकराज गिरी र निर्माता–निर्देशक दीपेन्द्र के खनालको भनाइ यस्तो छः

दीपकराज गिरी

मैले मेरा फिल्म युट्युवमा हाल्दिँन भनेर बसेको थिएँ, तर विदेशमा बस्ने दर्शकले चित्त दुखाए । युट्युवमा फिल्म हाल्नुपर्छ भन्ने पक्षमा म छैन । ४० लाख दर्शकले मसँग चित्त दुखाएपछि बाध्यताले फिल्म हाल्नुपरेको हो ।

युट्युवमा हाल्दा बाहिर बस्ने दर्शकलाई राम्रो हुन्छ । अरुले हाल्ने तर, मैले नहाल्ने गर्दा मलाई राम्रो ठानिएन । मलाई आउने गालीमध्ये किन फिल्म हालिएन भन्ने धेरै हुन्थे ।

युट्युवलाई प्लेटफर्मको रुपमा लिएर ९० प्रतिशत निर्माताले फिल्म हाल्छन् । मेरो विचार तत्कालै हाल्नु चाहिँ हुँदैन । डेढ–दुई वर्षपछि मात्र युट्युवमा हाल्दा ठीक हुन्छ । हाल्दिँन भन्दा न्याय हुँदैन, तर केही समयको ग्याप गरेर हाल्दा सान्दर्भिक हुन्छ ।

दीपेन्द्र खनाल
युट्युवमा फिल्म हाल्ने कुराको विपक्षमा म छु । अरु प्लेटफर्म नभएर बाध्यताले हाल्नुपरेको हो । बरु ओटीटी प्लेटफर्मलाई युट्युवको विकल्पमा खोज्नुपर्छ ।

युट्युवमा फिल्म हाल्दा दर्शकको मनोविज्ञान सस्तोजस्तो हुन्छजस्तो लाग्छ । हलमा गएर हेर्ने कल्चर विकास हुँदैन । दुई–चार महिनामै फिल्म युट्युवमा आउँछ भनेर हल नजाने प्रवृत्तिको विकास हुन्छ । यदि हाल्ने हो भनै सबैतिर प्रदर्शृन सक्किएपछि मात्रै युट्युवमा हाल्नुपर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित खवर