वाग्मतीलाई फाइनल पुग्न २३० रनको लक्ष्य, आर्मीका राजेशले बनाए अर्धशतक – Nepal Press
पीएम कप सेमिफाइनल

वाग्मतीलाई फाइनल पुग्न २३० रनको लक्ष्य, आर्मीका राजेशले बनाए अर्धशतक

काठमाडौं । राजेश पुलामी मगरको अर्धशतक प्रेरित त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एकदिवशीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा बाग्मती प्रदेशलाई २३० रनको लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २२९ रनको योगफल तयार पारेको हो । खराब सुरुआत गरेको आर्मीले ३.५ ओभरमा १७ रन बनाउँदा दुवै ओपनरसहित ३ विकेट गुमाएको थियो ।

आर्मीका लागि राजेशले ९१ बलमा ४ चौका र २ छक्कासहित ६५ रनको महत्त्वपूर्ण इनिङ खेले । त्यस्तै, ६१ बलको सामना गरेका भीम सार्कीले ५ चौका र १ छक्कासहित ४० रन जोडेका थिए । ५८ बलमा ३ चौकासहित ३५ रन बनाएका बिक्रम सोब विकेटकिपर आकाश थापाको हातबाट क्याच आउट भए ।

त्यसअघि लोकेश बम २३ तथा कप्तान विनादे भण्डारी १० रन बनाएर पेभेलियन फर्केका थिए ।

बाग्मतीका लागि गौतम केसीले १० ओभरमा ६१ रन खर्चेर १ मेडनसहित ५ विकेट लिए । उनले आर्मीका सुरुआती ती ब्याट्सम्यानलाई पेभेलियन फर्काएका थिए । बिपिन आचार्य, रामनरेश गिरी, नन्दन यादव र तिलक भण्डारीले १० ओभर बलिङ गर्दै एक/एक विकेट लिए ।

प्रधानमन्त्री कपको चौथो संस्करणसम्म आइपुग्दा अहिले सम्म गैरविभागीय टोलीले फाइनल खेलेका छैनन् । तर, आज आर्मीलाई पराजित गरेर बाग्मती पहिलो पटक फाइनल पुग्ने प्रदेश स्तरीय टोली बन्न सक्ने छ । आजको विजेताले शनिबार हुने फाइनलमा विभागीय महारथी एपिएफको सामना गर्नेछ ।

 तस्वीर : क्यान ।

एपिएफ बुधबार भएको पहिलो सेमिफाइनलमा साविक विजेता नेपाल पुलिस क्लबलाई पराजित गर्दै फाइनलमा पुगिसकेको छ ।

आर्मी समूह ‘ए’को उपविजेताको रूपमा सेमिफाइनलमा आइपुगेको हो भने बाग्मती समूह ‘बी’को विजेता हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर