भीडको मनोविज्ञान र दुरुपयोगको जोखिम – Nepal Press

भीडको मनोविज्ञान र दुरुपयोगको जोखिम

‘भीड’ भन्ने बित्तिकै यसले आँखा देख्दैन र कसैको भाषा बुझ्दैन भन्ने आम बुझाइ छ । हाम्रो जस्तो चेतनाको स्तर र विकासका पूर्वाधारका हिसाबले पछौटे समाजमा भीड केवल सडक तताउन र सीमित राजनीतिक उद्देश्य पूर्तिहेतु प्रयोग गरिंदै आएको यथार्थ पनि हो । तर, पश्चिमा मुलुकहरूमा भने भीडकोे सर्वाङ्गीण महत्वबारे अठारौं शताब्दीयता निकै गहन रूपमा अध्ययन भएको पाइन्छ ।

अठारौं शताब्दीको अन्त्यतिर भएको सफल फ्रान्सेली क्रान्ति होस् या ‘ग्रेट रिभोलुसन’ नाम दिइएको बेलायती क्रान्ति, जारसत्ता निर्मूल पार्न गरिएको रूसी क्रान्ति होस् या चेग्वेभारा-क्यास्ट्रोको ल्याटिन अमेरिकी क्रान्ति । २००७, २०४६ वा २०६२/६३ को नेपालकै जनआन्दोलन किन नहोस्, हरेक क्रान्ति वा आन्दोलनको सफलता भनेको भीडको बलमा नै टिकेको थियो र हुन्छ ।

जब भीडको सङ्केत बुझ्न शासन चुक्छ र भीडको सन्देशको बेवास्ता गर्दै यसलाई भड्काउने कार्यमा सत्ताको दुरुपयोग गर्छ, तब त्यो शासकको पतन निश्चित छ । कुनै शासकको शक्ति, न कुनै तानाशाहको क्रूरता वा कुनै सत्ताको समीकरणले उक्त भीडको सामु टिक्ने सामर्थ्य राख्दैन र यसको एकीकृत शक्तिलाई नष्ट गर्न सक्दैन । सोझो अर्थमा, भीडको तागतलाई रोक्न सक्ने अर्को तागत कहीं कोहीसँग हुन्न ।

हाम्रा सडकमा पनि यस्तै भीड देखिन थालेको छ र भीडको ध्वनिको गुञ्जन ठूलो बन्दै गरेको अवस्था छ । यसरी जम्मा हुँदै गरेको भीडलाई एकातिरबाट सत्ताइतर शक्ति अगुल्टो ठोसेर ज्वालामुखीमा रूपान्तरण गर्न दत्तचित्त भएर लागेको छ । अर्कातिर सत्ता र शक्तिमा भएकाहरू खिसीटिउरीमा उत्रिएका छन् । यसरी भीडलाई गिज्याउनु अन्ततः सत्ताका निम्ति प्रत्युत्पादक बन्छ भन्ने तथ्यलाई सत्ताधारी र तिनका आसेपासेहरूले नजरअन्दाज गरेको देखिन्छ ।

शासक जति-जति क्रूर बन्दै जान्छ, भीड त्यति त्यति कठोर बन्दै जाने उदाहरणका रुपमा इजिप्टको क्रान्तिलाई लिन सकिन्छ । राज्यको कठोरताका कारण कसरी भीडले आफूलाई राज्यबाट टाढा ठान्छ र राज्यविरुद्ध विद्रोह छेड्छ भन्ने बुझ्न वर्षौंदेखि चल्दै आएको सिरियाको गृहयुद्धलाई हेरे पुग्छ ।

एक ३० वर्षीय युवा सडक व्यापारी मुहामद बाउअजीले आफूउपर नगरपालिकाका कर्मचारीहरूले गरेको असभ्य व्यवहार र आफ्नो गरिखाने पेशालाई खिल्ली उडाएको विरुद्धमा आत्मदाह गरेपछि त्यसले उत्पन्न गरेको प्रदर्शनको ज्वारभाटाले सन् २०११ मा गोरा अफ्रिकीहरूको बाहुल्य रहेको ट्युनिसियाले कल्पनाभन्दा बाहिरको नतिजा बेहोर्नुपर्‍यो । एक युवाले गरेको आत्मदाहको ज्वालामुखी यसरी भीडका रूपमा विस्फोट भयो कि यसले ट्युनिसियाली सरकार नै ढालिदियो । यति मात्र हैन, यो विरोध संक्रमणका रूपमा अधिकांश अरब राष्ट्र र कतिपय अफ्रिकी मुलुकहरूमा समेत फैलिई ‘जस्मिन क्रान्ति’ हुँदै ‘अरब स्प्रिङ’ का नामले प्रख्यात भयो । यसले कर्णेल गद्दाफी, होस्नी मुबारक, अली सलेह जस्ता शासक र तानाशाहहरूको अप्रत्यासित अन्त्य समेत गर्‍यो ।

मानव र भीडको सम्बन्धका बारेका दार्शनिक रुसो भन्छन्- मानवउपरको खास अध्ययन तबसम्म पूरा हुँदैन जबसम्म भीडको अध्ययन गरिंदैन । भीडको अध्ययनविनाको मानवबारे बुझाइ अधुरो र अपूरो हुन्छ । भीड मनोविज्ञानका पिता भनेर चिनिने फ्रान्सेली मनोवैज्ञानिक ले बोनको भनाइमा जबसम्म मानिसको अध्ययन भीडका रूपमा गरिंदैन, तबसम्म इतिहास र मानवीयताको समग्र अध्ययन भएको मान्न सकिंदैन ।

ले बोन भन्छन्- कोही पनि व्यक्ति एकल रूपमा भन्दा भीडमा रहँदा आफूले अँगालेको सिद्धान्त र बुझाइ स्थापित गराउन मृत्युको चुनौती सहर्ष स्वीकार्छ । यस अर्थमा हाम्रोतिर रहेको प्रचलित सर्वमान्य नेता गणेशमान सिंहको ‘काठमाडौंका जनता भेडा रहेछन्’ भन्ने भनाइले पनि सार्थकता पाउँछ । सो भनाइको एउटा आशय के पनि हो भने भीडको भाषा, जात, धर्म आदि केही हुँदैन । छोटकरीमा भन्दा भीड सत्ता एउटा सत्ताविरोधी समूह हो ।

भीडलाई एक साझा विचारधाराले बाँधेको हुन्छ, तर यस्तो विचारधारा सतही मात्र हुन्छ । यद्यपि यही सतही विचारधारा बोक्ने भीडको एक पात्र कुनै अदृश्य शक्तिसँग एकाकार हुन पुग्छ, जसले आफूखुशी चल्न थाल्छ । अधिकांश प्रदर्शनकारीहरू प्रदर्शनको मूल मर्म नबुझिकनै भीडको एक हिस्सा भइसकेका हुन्छन् । भीडको सुखदुःखलाई आफ्नो सुखदुःखका रूपमा अंगीकार गरिसकेका हुन्छन् । त्यसैले होला, मानिस प्राकृतिक रूपमा नै आन्दोलनकारी हुन्छ भनेर जर्मन इतिहासकार रोजेन्स्टक हसीले दावा गरेको छ ।

पङ्तिकार स्वयम् जानी-नजानी २०६२-६३ को जनआन्दोलनको कुनै न कुनै रूपको साक्षी र भागीदार हो । कोही पनि व्यक्ति कसरी भीडको हिस्सा हुन पुग्छ र कसरी भीडको आवाजले विस्तारै उसको आवाजको प्रतिनिधित्व गर्दछ भन्ने पङ्तिकार आफैंले महसूस गरेको छ । यस विषयमा अधिकांश संरचनावादीहरूको एकमत पाइन्छ । उनीहरूको बुझाइमा भीड एउटा निश्चित उद्देश्यतर्फ उद्यत रहे तापनि भीडको माग भने समयक्रमसँगै बदलिंदै जाने र यसको अन्तिम माग शुरुका मागभन्दा बिल्कुल अलग रहने प्रचुर सम्भावना रहन्छ । त्यसैले कतिपय अवस्थामा अधिकांश भीडका सदस्यहरू आफूलाई जानकारीमा नभएको माग प्रदर्शन वा विरोधका दौरान आएको भनी सोही नयाँ परिवर्तनका विरुद्ध पुनः विरोधका लागि जम्मा भएका उदाहरण पनि छन् ।

फ्रान्सेली क्रान्तिको सफलतापश्चात् एड्मण्ड बर्कले आफू फ्रान्सेली जनतालाई बधाई दिन चाहेनन् । क्रान्तिपश्चातको परिवर्तन चाँडै पश्चात्तापमा परिणत हुनसक्ने र मानिसको उत्साह सजिलै पीडामा रूपान्तरण हुने अत्यधिक सम्भावना रहने हुँदा सो बधाईले भोलि आम सर्वसाधारणलाई चिमोट्छ भन्ने उनको तर्क रहेको थियो । नेपालको परिवेशमा पनि २०६२-६३ ले जन्माएको र संस्थागत हुने क्रममा रहेको संघीयता, गणतन्त्र र धर्मनिरपेक्षता आज सडकमा विरोधको विषय बन्दै गएको छ । आम चुलो-चौतारोको बहसको विषय हुन पुगेको छ । यसले बर्कको तर्कलाई थप पुष्टि गरेको गर्छ ।

यसका अलावा शासकले बुझ्न नचाहने सत्य के पनि हो भने भीड जति दबाउन खोजिन्छ, त्यति नै भीडमा बढी टाउका थपिंदै जान्छन् । कतिपय विद्वान्हरू त जबसम्म सत्ताले भीड नियन्त्रणका नाममा दमनको नीति लिंदैन, तबसम्म सडकमा उभार नआउने बताउँछन् । जब भीडउपर शक्ति प्रयोग गरिन्छ त्यसपछि भीड अझ नियन्त्रणबाहिर जाने उनीहरूको तर्क छ । २०६२-६३ को जनआन्दोलनको सम्झना गर्दा पनि जब कलंकी, गोंगबुलगायतका क्षेत्रमा केही आन्दोलनकारीले सहादत प्राप्त गरे, अनि बल्ल भीडको आकारमा उल्लेख्य वृद्धि भएको थियो ।

भीडलाई एक साझा विचारधाराले बाँधेको हुन्छ, तर यस्तो विचारधारा सतही मात्र हुन्छ । यद्यपि यही सतही विचारधारा बोक्ने भीडको एक पात्र कुनै अदृश्य शक्तिसँग एकाकार हुन पुग्छ, जसले आफूखुशी चल्न थाल्छ । अधिकांश प्रदर्शनकारीहरू प्रदर्शनको मूल मर्म नबुझिकनै भीडको एक हिस्सा भइसकेका हुन्छन् ।

शासक जति-जति क्रूर बन्दै जान्छ, भीड त्यति त्यति कठोर बन्दै जाने उदाहरणका रुपमा इजिप्टको क्रान्तिलाई लिन सकिन्छ । राज्यको कठोरताका कारण कसरी भीडले आफूलाई राज्यबाट टाढा ठान्छ र राज्यविरुद्ध विद्रोह छेड्छ भन्ने बुझ्न वर्षौंदेखि चल्दै आएको सिरियाको गृहयुद्धलाई हेरे पुग्छ ।

त्यसो भए के भीडले सधैं परिवर्तन ल्याउँछ त भन्ने प्रश्न गहन बन्न पुग्छ । भीडले सधैं सत्ता वा शासक परिवर्तन गराउँछ नै भन्ने हैन । कतिपय अवस्थामा भीडका केही भावना समेटेर सामान्य सुधारका प्रतिबद्धतासहित भीड साम्य पार्न सकिन्छ । तर यदि भीडलाई अराजक जत्थाका रूपमा मात्र लिने, भीडउपर केवल खिसीटिउरी गर्ने र भीडको भावना विपरीतका कार्य सत्ताले गर्दै जाने हो भने सोही भीड क्रान्तिको औजार बन्न पुग्छ ।

‘मानिस किन विद्रोह गर्दछन् ?’(ह्वाई मेन रिबेल ?) नामक पुस्तकमा अमेरिकी लेखक तथा राजनीतिशास्त्रका प्राध्यापक टेड गुर दावा गर्छन् कि निराशाले मानिसलाई आक्रामक बनाउँछ । साथै, जति-जति मानिसले आफ्नो अवस्थाको तुलना अरूसँग गर्छन् र आफूलाई दयनीय अवस्थामा पाउँछन्, त्यति त्यति उभित्र विद्रोही चरित्र हावी हुँदै जाने गर्छ ।

भीडको एउटा क्रूर सत्य के पनि हो भने यसलाई सजिलै दुरुपयोग गर्न सकिन्छ । सडकमा पोखिएको भीडलाई दुरुपयोग गर्न देशभित्रका आन्तरिक शक्तिहरू मात्र नभई बाह्य ताकतहरूले प्रयत्न गर्ने दृष्टान्त विश्वभर भएका क्रान्तिमा देखिन्छ । अधिकांश सडक आन्दोलनदेखि ठूलाठूला गृहयुद्ध र जातीय नरसंहारमा विदेशीको हात रहेको बारेमा प्रशस्त पुस्तकहरू प्रकाशित भइसकेका छन् । चाहे नेपालको माओवादी द्वन्द्वको परिदृश्य होस् या अफगानिस्तानको दशकौं लामो हिंसा, चाहे रुवाण्डाको हुतु-तुत्सी द्वन्द्व होस् या युक्रेनको अरेन्ज क्रान्ति, हरेकका पछाडि वैदेशिक शक्तिहरूको स्वार्थको टकरावले कत्रो भूमिका खेलेको छ भन्ने बारे कैयन् लेख रचना सार्वजनिक भएका छन् ।

भीडलाई वैदेशिक शक्तिले कुन रूपमा प्रयोग गर्न सक्छन् भन्ने बुझ्न अमेरिकी समाजशास्त्री थेडा स्कोकपोल र बेलायती इतिहासविद् एरिक हब्सबनको भनाइ अति पेचिलो छ । उनीहरूका अनुसार सडकमा देखिने भीड खतरनाक र महत्वपूर्ण भए पनि खास अर्थमा त्यो भीडको निर्देशक, संरक्षक र उत्पादक को हो भन्नेले विशेष महत्व राख्छ । यस्ता तत्वहरूमा आन्तरिकसँगै बाह्य शक्ति हुनसक्ने उनीहरूको स्पष्ट संकेत छ ।

यस्तो अवस्थामा राजनीतिक दलहरूको दलगत स्वार्थ, औंलामा गन्न सकिने केही नेताहरूको पदलोलुपता, स्वेच्छाचारिता, परिवारवाद, नाता-कृपावाद आदि अराजक र अनैतिक दुर्गुणहरू राज्यको चरित्र जस्तो देखिन गएको तितो यथार्थ छ । आम नागरिक भने न्यूनतम सेवा-सुविधा र अधिकारबाट बञ्चित हुँदै जाने चक्र चलिरहे अहिले सडकमा देखिएको भीड भोलि सत्ता र शासकका लागि भारी पर्न सक्छ ।

राज्य उसको प्राथमिकताबाट भड्किएर भीरको बाटो कुदिरहेको यो अराजक बेथितिमा जनताले सडकलाई आफ्नो डेरा बनाउने मनसाय बनाए आजको भीड भोलिको क्रान्तिको बिगुल बन्नेमा कुनै शंका छैन । त्यसैले इतिहासबाट पाठ सिकेर भीडको भाषा, मनोविज्ञान र सन्देशलाई आत्मसात् गर्नुको विकल्प छैन । नत्र इतिहासले कसैलाई कुर्दैन र कोही व्यक्ति आफू नभए सबै सखाप हुन्छ भन्ने भ्रमको पर्दा चिरिन अधिक समय कुर्नु पर्दैन ।


प्रतिक्रिया

One thought on “भीडको मनोविज्ञान र दुरुपयोगको जोखिम

  1. Nepal and Nepalese have to be known as the worst politician means they know more than the world knows . We acknowledge more because we try to show the way even though we don know it much better . Clear fact is that we are all Mr. know All . If we know all dear writer and editor , we are far better than you expect . Thank you .

Leave a Reply

Your email address will not be published. Required fields are marked *