स्ट्रेचरमा बाहिरिएका आरिफ जब खुट्टो खोल्चाउँदै मैदानमा फर्किए….. – Nepal Press

स्ट्रेचरमा बाहिरिएका आरिफ जब खुट्टो खोल्चाउँदै मैदानमा फर्किए…..

काठमाडौं । त्रिवि क्रिकेट मैदानमा मंगलबार प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको पहिलो सेमिफाइनल चलिरहेको थियो । दुई उपाधि दाबेदार नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बलको एपिएफ क्लबबीचको भिडन्तमा रमाइरहेका थिए दर्शक ।

टस जितेर फिल्डिङ रोजेको पुलिसले एपिएफलाई कम रनमा रोक्ने प्रयास सुरुदेखि नै गरिरहेको थियो । ४५औं ओभरको दोस्रो बलमा पुलिसका राशिद खानले बल फाले ।

सो ललाई बाउन्ड्री कटाउने सुरले एपिएफका कमलसिंह ऐरीले कडा प्रहार गरे । तर, पुलिसका खेलाडी आरिफ शेखले बल रोके । तर, त्यो बाउन्ड्री बचाउने क्रममा उनी घाइते भए ।

डाइभ हान्दा ‘एन्कल ट्वीस्ट’ भएर मैदानमै लडेका आरिफलाई ‘स्ट्रेचर’ मा राखी बाहिर लगियो । टिमका महत्वपूर्ण ब्याट्सम्यान यसरी बाहिरिँदा पुलिसलाई ठूलै संकट पर्यो ।

अब उनी मैदान फर्केलान् भन्ने कमैले सोचेका थिए । दोस्रो इनिङमा २ सय ४ रनको लक्ष्य लिएर पुलिस ब्याटिङमा आयो । सशस्त्रका बलरले पुलिसका ब्याट्सम्यानलाई टिक्न दिएनन् । लक्ष्य परै छँदा पुलिसले आठ विकेट गुमायो ।

त्यसपछि एकाएक मैदानमा देखिए आरिफ सेख । ४७औं ओभरको पहिलो बलमा राशिद खान आउट भएसँगै आरिफ खुट्टो खोच्याउँदै, ब्याट टेक्दै क्रिजमा उत्रिए । उनको प्रवेशले त्यहाँ उपस्थित सम्पूर्ण दर्शकबाट हुटिङ पाएका थिए । बाउन्ड्री लाइन बाहिरबाट समर्थकहरू ‘आरिफ… आरिफ’ भनेर कराइरहेका थिए ।

एक पाटो झुकाएरै पिचमा उभिएका आरिफले १४ बल खेले । एपिएफका स्टार स्पिनर भुवन कार्कीले फालेका सुरुआती ४ बलमा कुदेर १÷२ रन लिने अवसर नभएको होइन । तर, उनी कुद्न सकेनन् ।

पाँचौं बलमा जसोतसो पल्लो विकेटसम्म आरिफ लम्किए र एक रन बटुले । ४८ औं ओभरका सुरुआती तीन बलसम्म पनि चुप रहेको आरिफको ब्याट चौथो बलमा ६ रनका लागि गर्जियो ।

त्यसपछि फेरि एक डट बल र ओभरको अन्तिम बलमा स्ट्राइक लिनका लागि एक रन घिस्रिए । ४९ औं ओभरमा अविनाश बोहराले तीब्र गतिमा फालेका दुई बललाई चौकामा परिणत गरेका आरिफको तेस्रो प्रहार आफ्नै भाइ आशिफ शेखको हातमा पर्‍यो ।

उनी आउट हुँदासम्म पनि समर्थकको हुटिङ रोकिएको थिएन । आफ्नो विकेट गुमाएर क्रिजबाट पेभेलियनसम्म आउन नसकेका आरिफलाई फिजियोले सहारा दिए र डगआउटसम्म ल्याए ।

आरिफको आजको त्यो साहसको विपक्षी टोलीका स्पीनर भुवन कार्की, कप्तान शरद भेसावकर र आफ्नै कप्तान मन्जित श्रेष्ठले मुक्त कण्ठले प्रशंशा गरे । एपिएफका कप्तान शरद भेसावकरले आरिफको त्यो प्रयासलाई दुई तर्फबाट हेर्न सकिने बताए ।

‘यसलाई दुई तिरबाट हेर्न सकिन्छ । एकातिर उसको यति लामो करियर छ । अझै धेरै घाइते हुन सक्ने जोखिम थियो,’ उनले भने, ‘किनकी मार्चको गेम (त्रिदेशीय सिरिजकालागि राष्ट्रिय टोलीको कुवेत टुर) गेम आउँदै छ र ऊ राष्ट्रिय टोलीको एक महत्त्वपूर्ण सदस्य हो ।’

‘अर्को पक्षबाट उसले टिमको लागि देखाएको ‘इफोर्ट’ पनि तारिफ योग्य छ,’ शरदले भने । त्यस्तै पुलिस टोलीलाई पराजित गर्दा एपीएफबाट म्यान अफ दी म्याच बनेका भुवन कार्कीले पनि आरिफको प्रयासको तारिफ नै गरे ।

‘त्यो एप्रोच देखाउनु भनेको एकदमै ठूलो कुरा हो । त्यसरी घाइते भएर नसक्दा नसक्दै पनि टिमलाई जिताउन सक्छु भन्ने भावना चाहिँ एकदमै राम्रो लाग्यो,’ भुवनले भने ।

पुलिसका कप्तान मन्जित श्रेष्ठले टोलीको ब्याटिङ नचलिरहेका बेला आरिफलाई एकदमै धेरै मिस गरेको बताए । ‘आरिफलाई धेरै मिस गरियो । नेपालका उत्कृष्टमध्ये एक ब्याट्सम्यान हो,’ कप्तान मन्जित श्रेष्ठले भने, ‘हाम्रा दुई खम्बा हुन्, दिपी (दिपेन्द्रसिंह ऐरी) र ऊ (आरिफ) । तर, उ खेल्न नसक्दा फरक परिहाल्यो ।’

‘उसको इन्जुरी अलि सिरियस नै छ । देखिहालियो ग्राउन्डमा उभिन सकिरहेको थिएन’ कप्तान श्रेष्ठले भने, ‘तर, डाक्टरले भने अनुसार तीन/चार दिनमा फिट हुन्छ रे ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर