सशस्त्रले मेटायो अघिल्लो वर्षको चोट, तर शरदलाई आफ्नै ब्याटिङले पिरोल्यो – Nepal Press

सशस्त्रले मेटायो अघिल्लो वर्षको चोट, तर शरदलाई आफ्नै ब्याटिङले पिरोल्यो

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटको फाइनलमा पुगेपछि सशस्त्र प्रहरीका कप्तान शरद भेषवाकर निकै सन्तुष्ट भावमा देखिए । नहुन् पनि किन, अघिल्लो संस्करणमा पुलिसबाटै भोगेको चोटमा मल्हमपट्टि लगाउन सफल भएको थियो सशस्त्र ।

गत वर्षको प्रधानमन्त्री कपमा निकै लज्जास्पदरुपमा पराजित भएको थियो सशस्त्र । पहिले ब्याटिङ गर्दै केवल ४१ रनमा समेटिएपछि पुलिसको जित केवल औपचारिकता बनेको थियो । यसपाली पनि सेमिफाइनलमै भेटिएका सशस्त्र र पुलिस ।

यसपटक पनि अघिल्लो वर्षकै इतिहास दोहोरिने नदेखिएको होइन । टस हारेर पहिलो ब्याटिङ गरेको सशस्त्रले १३ रनमा पहिलो विकेट गुमायो भने ४३ रन बनाउँदा चार ब्याट्यम्यान पेभिलियन फर्किएका थिए । तर, जसोतसो मध्येक्रमले दुई सय माथिको स्कोरमा टिमलाई धकेल्यो ।

प्रतियोगितामा पहिलोपटक खेलिरहेका शंकर रानाले संयमित ब्याटिङ गरे भने तल्लो मध्यक्रमका सन्दिप जोरा र भुवन कार्कीले टिमको स्कोर अलिकति उकासे । सशस्त्रले २०३ रन जोड्न सफल भयो, जुन पुलिसका लागि केटु हिमाल सावित भइदियो ।

पुलिसले १५ रनमा तीन विकेट गुमाएर दयनीय सुरुवात गर्यो । मध्यक्रमका कप्तान दिपेन्द्र सिंह ऐरी, अनिल साह र पवन सर्राफले टिमलाई सम्हाल्ने कोशिष गरे । आठौं नम्बरमा आएका रसिद खानले अन्तिम प्रयास गरे । तर, पनि पुलिसको केही जोर चलेन ।

शरद भन्छन्ः मिठो बदला लियौं

म्याचमा आफ्ना खेलाडीले धेरै गल्ति गरे पनि अन्त्यमा प्राप्त भएको जितले खुशी लागेको सशस्त्रका कप्तान भेषावकरले बताए । म्याचपछि पत्रकारसँग बोल्दै उनले यसलाई पुलिसविरुद्धको मिठो बदलाको संज्ञासमेत दिए ।

आजको खेलमा शरदको समिक्षा यस्तो छः

‘हामीले धेरै गल्ती गर्‍यौं । तर पनि खेल जित्यौं । खुशी छौं । तर, यस्तो खालको फिल्डिङले म्याच जित्न अलि गाह्रो नै हुन्छ । आगामी खेलमा सुधार्ने कोशिश गर्नेछौं ।

ब्याटिङतर्फ पनि टप अर्डरका ब्याट्सम्यानले फायर गर्न सकिरहेका छैनन् । फाइनलमा उत्कृष्ट प्रदर्शन गर्ने आशा गरिरहेको छु । फाइनलमा सिनियर खेलाडीहरूले जिम्मेवारी बहन गरेर खेल्नुपर्ने छ । बलिङ राम्रै भइरहेको छ ।

खेलाडीहरू सबै घाइते भइरहेकोले प्लेइङ इलेभेन निकाल्न पनि गाह्रो भइरहेको छ । त्यसैले गर्दा टप अर्डरमा एकरूपता छैन र चलिरहेको पनि छैन ।

कोभिडले गर्दा सबै खेलाडीले धेरैपछि खेलिरहेका छन् । त्यसले गर्दा शरीरलाई सन्तुलनमा राख्न पनि गाह्रो भइरहेको छ । धेरै खेलाडीहरू घाइते भइरहेका छन् । खेलाडीलाई रोटट गरेर विश्राम दिँदै खेलाउने योजना थियो ।

तर, दुर्भाग्यवश त्यो पनि भइरहेको छैन । फाइनलमा सबैभन्दा बलियो टोली उतारेर जित्ने प्रयास गर्छौं ।

टप अर्डर नचलिरहेको भएर हामीले एक ब्याट्सम्यान थपेका थियौं । त्यसका कारण बलरको कमी भएर मैले पनि १० ओभर फालेँ । शंकर रानालाई थपिएको थियो र उनले साझेदारी गरेर राम्रो इनिङ पनि खेले ।

प्रतियोगितामा एपिएफ अहिलेसम्म अपराजित छ । फाइनलमा जुनसुकै टोली भए पनि हामीले जे गर्न सक्छौं त्यसमा विशेष ध्यान दिनुपर्छ । जो प्रतिस्पर्धि आए पनि राम्रो क्रिकेट खेल्नु प¥यो । फाइनल पुग्ने जुन टीम पनि राम्रो नै हुन्छ । त्यसैले हामीले हाम्रो बेस्ट दिनुपर्छ ।’

घरेलु क्रिकेटमा शरद निकै भाग्यमानी मानिन्छन् । उनले नेतृत्व गरेको टोली प्राय फाइनलमा पुगिरहेको हुन्छ । यसलाई उनले कसरी लिएका छन् रु

शरदको जवाफ यस्तो छः

‘म आफ्नो ‘इन्सटिङ्ट’ लाई फलो गर्छु । टीम पनि राम्रै परे जस्तो लाग्छ । अहिलेसम्म धेरैपटक फाइनलमा पुगेको छु । तर, लिडरको धेरै महत्वपूर्ण रोल पनि हुँदैन जस्तो लाग्छ मलाई ।

ब्याटिङ गर्दा पनि ब्याट्सम्यानले डिसिजन गर्ने हो । मैले भनेको फिल्डमा गएर बलिङ र फिल्डिङ परिवर्तन मात्रै गराउने हो । टीम राम्रो भयो भने कप्तानलाई सजिलो हुन्छ ।’

आजको म्याचमा सशस्त्रका खेलाडीहरुको सेलिब्रेसन पनि चर्चाको विषय बनेको थियो । अरु खेलको तुलनामा आज बढि सेलिब्रेसन गरेको विषयमा शरदे यस्तो प्रतिक्रिया दिए ‘आज नक आउट गेम भएर ‘सेलिब्रेसन’ धेरै भएको हो । नक आउटमा हरेक रन, विकेट महत्त्वपूर्ण हुन्छ । त्यो मुभमेन्टहरूमा सेलिब्रेसन ‘नेचुरल्ली’ नै हुँदो रहेछ ।

गत वर्षको बदला लिने सोचले सेलिब्रेसन धेरै भएको होइन । तर, खेलाडीलाई हामीलाई बदला लिने मौका छ भनेर चाहिँ भनेका थियौं । त्यो ‘स्वीट रिभेन्ज’ लिने मौका थियो र हामी त्यसमा सफल पनि भयौं ।’

आफ्नो प्रदर्शनमा भने शरद सन्तुष्ट देखिएनन् । उनको आत्मसमिक्षा यस्तो छः ‘ब्याटिङमा आफ्नो प्रदर्शनलाई लिएर आफैँ पनि हतोत्साहित छु । आफूलाई रिदम नै नआएको जस्तो फिल भइरहेको छ ।

मैले अन्तिम एकदिवसीय खेलेको भनेको गत वर्षको फेब्रुअरीमा हो । १०/१२ महिनाको ग्याप भयो । काठमाडौंमा लकडाउनको समयमा ब्याटिङ अभ्यास गर्ने ठाउँ नै भएन । त्यो ग्यापले गर्दा अप्ठेरो भइरहेको छ । फुल्ली रिदम आउन सकेको छैन । आगामी खेलमा आफ्नो बेस्ट दिने प्रयास गर्छु ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *