वामदेवको अभियानः नेकपा एकता कि छुट्टै पार्टी निर्माण ? – Nepal Press

वामदेवको अभियानः नेकपा एकता कि छुट्टै पार्टी निर्माण ?

काठमाडौं । आफूलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विभाजन विरुद्ध रहेको बताइरहेका उपाध्यक्ष वामदेव गौतमले बुधबार ‘नेकपा एकता राष्ट्रिय अभियान’ घोषणा गरे ।

राजनीतिक रुपमा दुई पक्षमा विभाजित भइसकेको नेकपालाई पुनः एकताको डोरीमा ल्याउने कस्तो सूत्र गौतमले सार्वजनिक गर्लान् भन्ने चासो सर्वत्र थियो, कार्यक्रम हुनुअघिसम्म ।

बुधबार ललितपुरस्थित धोबिघाटमा कार्यक्रम आयोजना गरेर गौतमले सार्वजनिक गरेको एकताको अवधारणा पत्र र उनले व्यक्त गरेको विचारपछि भने उनले नेकपा एकताका लागि हो कि छुट्टै पार्टी निर्माणका लागि अभियान संचालन गर्न खोजेका हुन् भन्ने प्रश्न उब्जिएको छ ।

पार्टीको जस्तो संगठन संरचना
गौतमले सार्वजनिक गरेको अवधारणा पत्रमा एकता अभियानको संगठनात्मक संरचनाबारे उल्लेख गरिएको छ, जुन बेग्लै पार्टीमा हुने संरचनासँग मिल्दोजुल्दो छ ।

अवधारणापत्र अनुसार केन्द्रमा अधिकारसम्पन्न केन्द्रीय समन्वय समिति हुनेछ । यो अधिकतम ६५१ सदस्यीय हुनेछ । त्यसमध्ये १७५ जनाको कार्यसम्पादन अर्थात् कार्यकारी समिति हुनेछ ।

प्रदेशमा पनि प्रदेश समन्वय समिति रहनेछ । त्यसमा प्रदेश अन्तर्गत रहेका केन्द्रीय सदस्य र जिल्ला समितिका संयोजकहरू पदेन सदस्य रहने छन् ।

प्रदेश समितिमा पनि आवश्यक संख्याको सचिवालय रहनेछ । प्रत्येक जिल्लामा पालिकाहरूको समेत प्रतिनिधित्व रहने गरी जिल्लामा ७५ जनाको समन्वय समिति रहनेछ। त्यस्तै पालिका र वडाहरूमा समेत समिति बन्नेछन्।

अवधारणा पत्रमा बैठक बस्ने अवधिसमेत तोकिएको छ । केन्द्रीय समन्वय समिति ६ महिनामा बस्नेछ । प्रदेश समन्वय समितिको बैठक तीन र जिल्ला समन्वय समितिको दुइ महिनामा बस्नेछ । त्यस्तै पालिका समितिको एक र वडा समितिको महिनामा दुइ पटक बैठक बस्नेछ ।

पार्टी नबनाउने जवाफमै पार्टीको परिकल्पना
आफ्नो सम्बोधनका क्रममा गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीसँग सम्बन्धित एउटा गुनासो सार्वजनिक गरे । आफूले छुट्टै पार्टी बनाउन थालेको भनेर ओलीले भनेको भन्दै उनले गुनासो व्यक्त गरे ।

‘कतिपय साथीहरूले तपाईंले त पार्टी बनाउन थाल्नु भएन भन्नुभयो’ उनले सुनाए, ‘त्यो पनि केपी कमरेडले भन्नुभए छ । वामदेवतिर जाउ भन्नुको कुनै अर्थ नै भएन, उहाँले त अर्कै पार्टी बनाउन थाल्नुभएछ ।’

आफूलाई त्यस्तो प्रश्न अरु पनि धेरैले सोधेको भन्दै जवाफ दिए–अहिले हामीले पार्टी बनाइराखेका छैनौं।

तर, उनले लगत्तै ती संगठित सदस्यहरूलाई कम्युनिष्ट बनाइराख्न पनि संगठन चाहिने भन्दै पार्टी नै बनाइरहेको संकेत गरे । लामो समय पार्टी एकता नभएको खण्डमा पार्टी नै चाहिने उनको भनाइ थियो।

यस्तो थियो उनको भनाइ :
हामीसित आउने जति पनि हाम्रा साथीहरू छन् ती सबै कमरेडहरू हुन् । पार्टी सदस्य हुन् । यो पार्टी एकता कहिलेसम्म गर्न सकिएला  ? एक महिनासम्म गर्ने भए, दुई महिनासम्म गर्ने भए,तीन महिनासम्म गर्ने भए बैठकमा नगए पनि सदस्यता कायम हुन्छ । लगातार तीन पटकसम्म अनुपस्थित भएपछि पार्टी सदस्यता पनि जाने भन्ने हाम्रो विधानमै छ ।
तर, ठेगान छैन । यो त तीन वर्षसम्म पनि जान सक्छ । त्यसो भएर ती संगठित सदस्यहरूलाई कम्युनिष्ट बनाइरहनका निम्ति एउटा संगठनको आवश्यकता पर्छ । हामी कम्युनिष्ट हौं, संगठित भएर मात्रै हाम्रो सदस्यता रहन्छ ।

गौतमको ‘६ महिना भित्र ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ तिर लागेका कार्यकर्तालाई ल्याएर साँच्चिकै शक्तिशाली पार्टी बनाउँछु’ भन्ने भनाइमा पनि छुट्टै पार्टीमा जोड दिएको पाइन्छ।

यस्तो छ गौतामको भनाइ :

म भन्न चाहन्छु कि ठूला नेता पनि आए पनि दोस्रो तहका र त्यो भन्दा तलतिरका, हामी अब पहिलो पुस्ताका भएका छौं । किनकि हामी भन्दा पुराना मान्छे छैनन् । अब हामी विदा हुँदैछौं । दोस्रो र तेस्रो पुस्तालाई यो हस्तान्तरण गर्नुपर्छ । यसमा आउ साथी हो, म संयोजन गर्छु । तपाईंहरूलाई अगाडि बढाउँछु । म त्यो शक्तिलाई संगठित गर्छु र साँच्चिकै शक्तिशाली पार्टी बनाउँछु । प्रचण्डतिर भएका कार्यकर्ता पनि ल्याउने, केपी ओलीतिर भएका कार्यकर्ता पनि ल्याउने र उहाँहरू बाँचिरहनुभयो भने पनि एक्लै बाँचिरहनुहुन्छ । त्यो ठाउँमा पुर्‍याउने संकल्प मैले गरेको छु । मैले ६ महिनाको समय दिएको छु । तर, त्योभन्दा पहिले नै त्यो अवस्था आउन सक्छ ।

आफ्नो सम्बोधन टुंग्याइसकेका गौतम एउटा कुरा छुटेछ है साथीहरू भन्दै पुनः मञ्चमा आए । उनले आफ्नो पार्टीको वैचारिक गन्तव्य कस्तो हुन्छ भन्ने छुटाएका रहेछन् । अन्तिममा उनले त्यसलाई पनि प्रष्ट पारे ।

समाजवाद निर्माण गरिछाड्ने आफ्नो पार्टीकाे लक्ष्य हुने भन्दै गौतमले भने– हामीले शक्ति आर्जन गर्छौं । हामी कता जान्छौं भन्दा हामी समाजवादमा जान्छौं । समाजवाद निर्माण गर्छौं । मेरो विचारमा पार्टी विभाजनको पनि अनुभव लिएर अब कुन कम्युनिष्ट पार्टी निर्माण हुनेछ देशमा भने त्यो मार्क्सवादी पार्टी हुनेछ । मार्क्सवादी पनि कम्युनिष्ट पार्टी मात्रै छैनन् । मजदुर पार्टी, श्रमिक पार्टी, किसान पार्टी छन् । हाम्रो एउटा पार्टी हुनेछ, जसले समाजवादको निर्माण गरेरै छोड्नेछ ।

संयुक्त सरकार र चुनावी तालमेलका कुरा
गौतमले अहिलेको सरकारको सट्टामा विवाद मिलाउने शर्तमा संयुक्त सरकार बनाउनुपर्ने विचार अवधारणा पत्रमा उल्लेख गरेका छन् । त्यस्तै उनले निर्वाचनमा सामेल हुने र कार्यगत एकताका कुरा पनि गरेका छन् । अवधारणा पत्रमा भनिएको छ–‘प्रतिनिधिसभा पुनःस्थापना भएमा वा निर्वाचन भएमा दुवै अवस्थामा भिन्न–भिन्न केन्द्र अन्तर्गत पार्टी सञ्चालन र कार्यगत एकताको आधारमा निर्वाचनमा सामेल हुने, सरकार संचालन गर्ने अवसर प्राप्त भएमा संयुक्त सरकार संचालन गर्ने प्रक्रिया अवलम्बन गरिनेछ ।’

चुनावमा जानुपरेको खण्डमा कांग्रेस, राप्रपा लगायतकालाई भोट हाल्दै नहाल्ने र नेकपाभित्रका असल र आफ्नो पक्षमा लाग्न तयार हुनेलाई भोट हाल्नुपर्ने धारणा गौतमको छ । ‘वैशाख १७ र २७ मा चुनाव भयो भने पनि हामी एकताको कुरा गर्दै त्यहाँ भोट हाल्नै पर्छ भने हामीले मन पराएका उम्मेदवार कहाँ छन् त्यही हो भेट हाल्ने’ गौतमको भनाइ थियो, ‘त्यसमा पनि हामीतिर आउने उम्मेदवार जो—जो छन्, तिनलाई हाल्ने हो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर