सधैं भकुण्डो बनेका वामदेवको ‘निर्णायक गोल सपना’ – Nepal Press

सधैं भकुण्डो बनेका वामदेवको ‘निर्णायक गोल सपना’

थोमस हार्डीको कविताका अन्तिम पात्रको जस्तै वामदेवको यात्रा

काठमाडौं । उनका सबैभन्दा निकटस्थहरु नै भन्ने गर्छन्–वामदेव भैंसेपाटी घरबाट निस्किंदा एउटा लाइन हुन्छ, नख्खु खोला तर्दासम्म अर्कै भइसक्या हुन्छ । उहाँलाई सबैले भकुण्डो बनाएर खेलाउँछन् मात्र, गोल गर्ने चान्स कहिल्यै हुन्न’।

वामदेव गौतम कसरी भकुण्डो बन्दै आए भन्ने प्रसंग जोड्नुअघि बुधबार धोबिघाटमा उनले आफ्नो ‘गोल्डेन गोल’ को सपना कसरी सुनाए ? पहिला गौतमको दाबी हेरौं ।

आज ठूला नेताहरु विभाजित भएका छन् तर सेकेण्ड र थर्ड जेनेरसनका नेताहरु अत्यन्त चिन्तित छन् । यिनीहरुले दुःख पनि गरे । रगतपसिना पनि बगाए । तर तिनीहरुले दुःख गरेर बनाएको बाटोमा हामी नयाँ पुस्ता अघि बढ्छौं र अझ राम्रो नेपाल बनाउँछौं भनेर लागेकाहरु त अब हामी कहिल्यै उठ्न नसक्ने गरी पछारियौं भनेर उनीहरुलाई चिन्ता छ । त्यसैले ठूला नेता नआए पनि सेकेण्ड र अझ तलतिरका धेरै नेता कार्यकर्ता आउँछन् ।

हामी त फस्ट जेनेरेसनका भयौं अब दोस्रो र तेस्रोलाई हस्तान्तरण गर्नुपर्छ भनेर म संयोजन गर्छु र साँच्चिकै शक्तिशाली पार्टी बनाउनुपर्छ भनेर दुवैतिर भएका कार्यकर्ताहरुलाई त्यो ठाउँमा ल्याउने संकल्प गर्छु । पार्टी एकता भएर छाड्छ, बरु नयाँ किसिमले हुन्छ । सिंगै-सिंगै नहोला । मैले ६ महिनाको टाइम दिएको छु, त्योभन्दा अघि नै त्यो अवस्था हुनसक्छ । उनीहरुलाई बाध्य गराएर छाड्छौं । प्रचण्डतिरका कार्यकर्तालाई पनि ल्याउँछौं, केपी ओलितिरकालाई पनि ल्याउँछौं । उहाँहरु बाँचिरहनुभयो भने एक्लै-एक्लै हुनुहोला ।

वामदेवले यसो भनिरहँदा सिद्धार्थ कटेजको मञ्चमा नेकपाका दोस्रो र तेस्रो पुस्ताका एकजना पनि नेता थिएनन् । यतिसम्म कि ४४१ सदस्यीय साविक नेकपाको केन्द्रीय कमिटीका सदस्य हरि पराजुली मात्र थिए उनीसँग ।

ब्रम्हाण्डमा जबज, ६ महिने डेडलाइन

वामदेव गौतम जोशिला र कार्यकर्तालाई उत्साहित पार्न सक्ने नेता हुन् । भाषण गर्दागर्दै उनी निकै अघि बढ्ने गर्छन् । कुनै जमानामा ब्रम्हाण्डमा पनि जनताको बहुदलीय जनवाद लागू गर्ने भने जस्तै बुधबारको भेलामा पनि उनले नेकपा एकताले अमेरिकामा पनि कम्युनिष्ट आन्दोलन उठ्न लागेको बताइहाले ।

महत्वाकांक्षी योजना सार्वजनिक गर्ने वामदेवले ६ महिनाभित्र पार्टी एकता गर्न नसके केपी ओली र प्रचण्डतिर लागेका सबै नेता कार्यकर्तालाई आफूतिर तानेर नयाँ ढंगले पार्टी पुनर्गठन गर्छु भन्नुलाई ‘गफै त हो’ भनेर अर्थ्याउन सकिन्छ ।

२५ वर्षदेखि पार्टीमा भकुण्डाे बन्दाबन्दै पहिलो, दोस्रो, तेस्रो र नवयौवना पुस्ताका सहयोद्धाहरु एकपछि अर्को गुमाउँदै आएका गौतमले यसपटक गोलपाेस्टमा निर्णायक गोल छिराउन सक्छन् भनेर पत्याइदिने नेकपामा कोही छैनन् । यही नै उनको आजको सबैभन्दा ठूलो दुःख हो ।

उन्नाइसौं शताब्दीका महान् उपन्यासकार थोमस हार्डीले आफ्नो चर्चित कविता ‘द फाइभ स्टुडेन्ट्स’ मा उल्लेख गरेका पात्र जस्तै बनेका छन् अहिले वामदेव । उनले निर्णायक राजनीतिको २५ वर्षको यात्रामा हार्डीको कविताका पात्र जस्तै आफ्ना सहयोद्धाहरु गुमाउँदै एक्लो यात्री बनेका छन् ।

कुनै बेला तत्कालीन एमालेका शक्तिशाली महासचिव माधव नेपाल र प्रभावशाली नेता केपी ओलीको भन्दा ठूलो नेतृत्व पंक्तिसहित माले गठन गरेर बाहिरिएका वामदेव चार वर्षपछि एमालेमा फर्किंदा युद्ध हारेर फर्केको जर्नेल जस्ता थिए ।

उनी एमालेमा फर्किंदा २० प्रतिशत कार्यकर्ता पंक्ति उनीबाट छुटेर माओवादीतर्फ लागिसकेका थिए । पार्टी विभाजन गर्दाका प्रमुख सहयोद्धा सीपी मैनाली पनि त्यसैबेला छुटे र अरु धेरै नेताहरुले वामदेवलाई छाड्दै छाड्दै गएपछि २०७१ को नवौं महाधिवेशनसम्म आउँदा उनले आफ्नो पछि लाग्नेहरुलाई भने–अब जहाँ राम्रो हुन्छ त्यतै लाग्नू, मेरो पछि लाग्नु पर्दैन ।

साँच्चै नै आज आइपुग्दा हिजो वामदेवलाई जस्तोसुकै अवस्थामा साथ दिने नेता कार्यकर्ता बाँकी रहेनन् । घनश्याम भुसाल, योगेश भट्टराईसहितको ठूलो हिस्सा यसअघि नै उनलाई छाडेर माधव नेपालतिर लागिसकेको थियो । किरण गुरुङ, रघुवीर महासेठ हुँदै पद्मा अर्यालदेखि गणेश ठगुन्नासम्मका नेता केपी ओलीको साथमा पुगिसकेका थिए ।

फरवार्ड, मिडफिल्ड, डिफेन्सदेखि गोलकिपरसम्मको रहरलाग्दो र भरलाग्दो पंक्ति हुँदा त गोल गर्न नसकेका वामदेवले विना खेलाडी कसरी पार्टी एकतारुपी निर्णायक गोल गर्न सक्लान् ?

वामदेवले माले फुटाएर एमाले फर्किएपछि पार्टीभित्र गुट बनाएनन् । आफ्नो बेग्लै गुट नबनाउनु नै आज उनी एक्लो बन्नुको कारण हो । वामदेवको संरक्षण नहुने भएपछि उनलाई साथ दिएकाहरुले आआफ्नो छहारी खोज्नु स्वाभाविक थियो । त्यसैले आज उनले पार्टी विभाजनको विपक्षमा उभिन आह्वान गर्दा पनि परिचित अनुहारहरु उनको साथमा रहेनन् ।

फरवार्ड, मिडफिल्ड, डिफेन्सदेखि गोलकिपरसम्मको रहरलाग्दो र भरलाग्दो पंक्ति हुँदा त गोल गर्न नसकेका वामदेवले विना खेलाडी कसरी पार्टी एकतारुपी निर्णायक गोल गर्न सक्लान् ? तलदेखि माथिसम्म गुटको धाँजामा विभाजित कार्यकर्ता पार्टी एकता हुनुपर्छ भन्दाभन्दै पनि वामदेवको टिमबाट खेल्ने जोखिम मोल्न चाहँदैनन् ।

फाइभ स्टुडेन्ट्समा हिउँको बाटोमा हिंड्दा हिंड्दै एक एकजना साथी छुटे जस्तै राजनीतिको यात्रामा वामदेवले अन्तिममा बलराम बास्कोटा, केशवलाल श्रेष्ठ जस्ता नेकपाकै नेताहरुको भाषामा भन्नु पर्दा ‘वामदेवका दुःख’हरुले पनि साथ छाडे । तर पनि हरेश नखाई विभाजनविरुद्धको अभियानमा उभिनु वामदेवको आत्मविश्वास हो ।

नखुलेको त्यो एमाले पंक्ति

रुपमा नेकपा फुटे पनि सारमा एमाले विभाजित भएको हो । वामदेवलाई थाहा छ, उनले गुट नबनाएकै कारण पार्टीमा उनका मान्छे सबै भए तर उनी कसैका भएनन् । एमालेको वडादेखि केन्द्रसम्मको पंक्ति ओली र माधव नेपाल गुटमा विभाजित थियो र अहिले फुटेको पनि त्यही हो ।

गुटको भवनमा सिमेन्टेड भएका नेता कार्यकर्ता वामदेवको पार्टी एकतारुपी ‘पवित्र मिसन’ मा कति लाग्लान् ? यसको उत्तर पनि उनीसँगै छ । हो अहिले नेकपा विभाजनपछि सबैभन्दा निराशा पूर्व एमाले पंक्तिमै छाएको छ । जिल्ला तहमा पुग्दा जनप्रतिनिधि र कार्यकर्ताको एउटा राम्रै पंक्ति दुवै पक्षमा खुलेको छैन ।

पार्टी विभाजनप्रतिको असहमति, सूर्य चिह्न र पार्टीको आधिकारिकताको अन्योल र सर्वोच्च अदालतको फैसला के आउँछ जस्ता कुराले पनि धेरै पूर्व एमालेहरुलाई दुवै पक्षमा खुलाएको छैन । तर ती सबै वामदेवको एकता अभियानमा छन् त ? त्यो पनि देखिंदैन ।

भोलि वामदेव ओली वा प्रचण्ड कता लाग्छन् उनके पछि हिंड्ने पंक्ति पनि त्यो होइन । अहिले नखुलेकाहरु पनि कुनै न कुनै रुपमा हिजोको एमालेको गुटमा विभाजित नेता कार्यकर्ता नै हुन् । फरक यति हो तल्लो तहसम्म पुग्दा पूर्व माओवादी पंक्ति प्रचण्ड पक्षमै उभिएपछि पूर्व एमाले पंक्तिको सबैभन्दा तल्लो तहको हिस्सा ओलीतिर लाग्न सक्छ ।

अहिले नखुलेको पूर्व एमालेको त्यो पंक्ति पार्टी विभाजनले कानूनी मान्यता पाइसकेपछि आआफ्नो बाटो लाग्न बाध्य हुनेछ । किनकि राजनीति गरिसकेपछि भावनात्मक कुराले अर्थ राख्दैन । फरक यति हो सूर्य चिह्न जसले पाउँछ अहिले नखुलेको समूहको अधिकांश हिस्सा उतै लाग्न सक्छ ।

वामदेवको आत्मविश्वास र एकता अभियानको शक्तिको स्रोत तिनै कार्यकर्ता हुन् वा नेतृत्व पंक्तिमै रहेकाहरुको ग्रीन सिग्नलबाट उनले दृढतासाथ ६ महिने डेडलाइन तोकेर तेस्रो धार निर्माण गरेका हुन् ? यसबारे अझै प्रष्ट हुन बाँँकी छ । तर तत्काल उनले ओली वा प्रचण्ड दुवैतिर नजाने कुरा प्रष्ट पारेका छन् ।

जो पटक पटक भकुण्डो बने

अब एकछिन चर्चा गरौं वामदेव कसरी भकुण्डाे बनिरहे ? यो प्रसंग छुटाउनु उनीमाथिको अन्याय हुनजान्छ ।

२०७७ वैशाख १९ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकमा प्रचण्डले भनेका थिए–म बल्ल बुझ्दैछु यो पार्टीमा वामदेवलाई कसरी भकुण्डो बनाउँदै ल्याइएको रहेछ भनेर ।

त्यतिबेलासम्म केपी ओलीलाई प्रधानमन्त्रीबाट हटाउन प्रचण्ड र माधव नेपाल पक्षको गठबन्धन भइसकेको थियो । वामदेव पनि त्यो गठबन्धनमा लागेपछि त्यसलाई भैंसेपाटी गठबन्धन भनिएको थियो । भैंसेपाटी गठबन्धन टुटाउन ओलीले वामदेवलाई प्रधानमन्त्री बनाउने प्रस्ताव राखेपछि प्रचण्डले उनलाई भकुण्डो बनाइएको प्रसंग झिकेका थिए ।

ओलीले भनेपछि वामदेव पल्टिए र त्यसबेला प्रचण्ड–माधव पक्ष सचिवालयमा अल्पमतमा पर्यो । आखिर वामदेव भकुण्डो नै बने त्यसपटक पनि । वामदेव आफ्नै सोझो र हौसिने स्वभावका कारण एकपटक होइन पटक पटक भकुण्डो बनेका छन् पार्टीभित्रको समीकरणको खेलमा ।

यो पंक्तिकारले यसअघि पनि वामदेव कसरी भकुण्डो बन्दै आए भनेर चर्चा गर्दै आएको प्रसंग यहाँ पुनः स्मरण गर्नु उपयुक्त हुने देखिएकाले विगततिर फर्काउन खोजिएको हो ।

२०५३ सालमा वामदेव गौतमसँग तत्कालीन एमालेको केन्द्रीय कमिटीको बहुमत शक्ति थियो । माधव नेपाललाई महासचिवबाट हटाउन उनले जुटाएको बहुमत काम लागेन ।

२०५१ सालमा एमालेले पहिलो पटक अल्पमतमा सरकार बनाएपछि तत्कालीन अध्यक्ष मनमोहन अधिकारी प्रधानमन्त्री र महासचिव माधवकुमार नेपाल उपप्रधानमन्त्री भए । वामदेव गौतमलाई उपमहासचिव बनाएर पार्टी काममा लगाइयो ।

सरकारबाट एमाले हटेपछि विधान विपरीतको उपमहासचिव पद खारेज गर्ने भन्दै नेपाल पक्षले वामदेवलाई हटायो । त्यतिञ्जेल पार्टीमा वामदेवको शक्ति निकै बढिसकेको थियो । तर, उपमहासचिवबाट हटाएर उनलाई भकुण्डो बनाउने क्रम शुरु भएको थियो ।

असन्तुष्ट वामदेवलाई भकुण्डो बनाएर सीपी मैनाली, झलनाथ खनालहरुले माधव नेपालसँग बदला लिन खोजे । त्यसबेला माधव नेपाल हटाएर झलनाथलाई महासचिव बनाउन वामदेवको साथले बहुमत पनि जुटेको थियो । तर महासचिव नेपालले माइन्युट बोकेर हिंडेको केही दिनमा बहुमत नै गुम्यो ।

२०५४ मा एमाले विभाजनपछि तत्कालीन एमालेमा माधव नेपाल र केपी ओलीको गुटबन्दी चर्किदै थियो । दुवै पक्षलाई वामदेवको खाँचो पर्यो । वामदेव पनि शून्य सिटमा खुम्चिएको माले चाँडो मूलघरमा बुझाउन चाहन्थे । एमालेमा फर्किएपछि पनि उनलाई भकुण्डो बनाउन छाडिएन ।

एमाले फुटाएर माले बनाएपछि वामदेवलाई कहिले गिरिजाप्रसाद कोइराला त कहिले तत्कालीन विद्रोही माओवादीका नेता प्रचण्डले आआफ्नो पायक पर्ने अवस्थामा भकुण्डो बनाएकै हुन् । यतिसम्म कि तत्कालीन राजा वीरेन्द्रले पनि वामदेवलाई प्रयोग गर्न खोजेका हुन् ।

पार्टी विभाजनप्रतिको असहमति, सूर्य चिह्न र पार्टीको आधिकारिकताको अन्योल र सर्वोच्च अदालतको फैसला के आउँछ जस्ता कुराले पनि धेरै पूर्व एमालेहरुलाई दुवै पक्षमा खुलाएको छैन । तर ती सबै वामदेवको एकता अभियानमा छन् त ?

२०५४ को छैटौं महाधिवेशनमा माधव र केपीसँग असहमत भएर पार्टी फुटाएका वामदेव २०५९ को सातौं महाधिवेशनसम्म पुग्दा केपी ओलीको पक्षमा उभिए । यद्यपि उनीसँगै एमाले फर्किएका अधिकांश तत्कालीन मालेका नेताहरु माधव नेपालको पक्षमा लागेदेखि नै उनको गुट छिन्नभिन्न भयो ।

त्यसबेला वामदेवसँग छुटेको प्रसंग सम्झिंदै योगेश भट्टराई अहिले पनि भन्ने गर्छन्–उहाँले माधव नेपालसँगै मिलेर जाने हो केपीसँग लागेर उनले जित्ने होइनन्, भोलि माधवले फेरि डण्डा बर्साउँछन् भन्नुभयो । अन्तिममा उहाँले त लौ म चाहिं केपीतिर लागें भनेपछि हामीले उहाँलाई साथ दिन सकेनौं ।

ओलीलाई महाधिवेशनमा साथ दिएर जनकपुरबाट काठमाडौं नफर्किदै उनी फेरिइसकेका थिए । त्यसबीचमा नेपालमा धेरै राजनीतिक घटनाक्रम भए । वामदेव कहिले माओवादीसँग वार्ता गर्न रोल्पा, कहिले दिल्ली पुगे । उनी धेरै ठाउँमा प्रयोग भए तर प्रयोग गर्नेले निर्णायक बेलामा बोकेनन् ।

२०६५ सालको आठौं महाधिवेशनमा उनी झलनाथलाई अध्यक्ष बनाउन उभिए । नवौं महाधिवेशनमा आउँदा केपी ओलीको पक्षमा उभिए । २०७४ को स्थानीय चुनावपछि माओवादीसँग सके पार्टी एकता नसके कार्यगत एकताको प्रस्ताव पनि सबैभन्दा पहिले उनैले राखे ।

प्रचण्ड र केपी ओलीले वामदेवलाई आआफ्नो पायक पर्ने गरी यसबीचमा भकुण्डो बनाएकै हुन् । वामदेवले यो कुरा स्वीकार पनि गरेका छन् । त्यसैले उनले पार्टी विभाजनमा दुवै अध्यक्षको बराबर भूमिका देखेका छन् ।

प्रष्ट कुरा बोल्ने, मनमा लागेको कुरा नलुकाउने र एउटा अभियानमा लागेपछि लागिरहने उनको स्वभावले पटक पटक भकुण्डो बनायो । उनलाई भकुण्डो बनाएर धेरै नेताले गोल गरे तर आज वामदेव यस्तो मैदानमा छन् जुन मैदान त खाली छ तर खेलाडीहरु मैदान बाहिर टच लाईनमा वार्मअप गर्न हिंडिसकेका छन् ।

बलराम बास्कोटाकाे भनाइ सापट लिएर भनौं– वामदेवमा राजनीतिक इमानदारी छ । तर एक दुई दिनपछि के हुन्छ भन्ने पनि नसोची पाइला चाल्ने अस्थिर चरित्र पनि । अहिले गौतम आफूले निकै मिहिनेत गरेर बनाएको नेकपा विभाजनबाट भावविह्वल छन् ।

तर के गर्ने, मायाले संसार चल्दैन भने जस्तै वामदेवको भावनाले नेकपा विभाजन रोकिने ठाउँ दुवै पक्षले राखेका छैनन् । वामदेवको यात्रा सायद केही समय थोमस हार्डीको कविताका अन्तिम पात्रको जस्तै हुनेछ ।

वामदेव भावविह्वल हुनुहुन्छ, मेरो शुभकामना

बलराम बास्कोटा, नेकपा नेता

वामदेव गौतमलाई मैले सधैं साथ दिएको हुँ । तर यसपटक तपाईंले नचाहिने काम गर्दै हुनुहुन्छ, तपाईंको कदमले प्रतिगमनलाई नै फाइदा पुग्छ भनेर मैले उहाँलाई छाडेको हो । तपाईंलाई तैपनि शुभकामना छ भनेको छु ।

वास्तवमा वामदेवमा इमानदारी छ । हुन्छ भनेपछि लाग्ने,एक्लै भने पनि हिंड्ने । एक दुई दिनपछि नहुने कुरा पनि हुन्छ भनेर हिंड्ने अस्थिर क्यारेक्टर हो उहाँको । अहिले उहाँ पार्टी विभाजनबाट भावविह्वल भएरै हो एकता अभियानमा लागेको ।

निकै जोडबलबाट गरेको एकता भंग भएकोमा उहाँलाई चोट परेको छ । तर अब त्यो फेजआउट भइसक्यो । अब मलाई लाग्छ उहाँ तत्काल दुवै पक्षमा लाग्नु हुन्न । राष्ट्रियसभामा ६ वर्ष हुनुहुन्छ, संसदीय गतिविधिमा उहाँ देखिने कुरा भैगयो ।

चुनावमा दुवै समूहको लज्जास्पद हार हुन्छ । त्यसपछि धुलो टक्टक्याउँदै मिल्नेछ्न् भन्ने उहाँको विश्वास होला । अब जुटे पनि पश्चिम बंगालको र पूर्वी युरोपको जस्तो अवस्था हुने हो नेपाल कम्युनिष्ट पार्टीको ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर