देशलाई अस्तव्यस्त बनाउने चलखेलविरुद्ध ताजा जनादेशमा जाने निर्णय : अर्थमन्त्री – Nepal Press

देशलाई अस्तव्यस्त बनाउने चलखेलविरुद्ध ताजा जनादेशमा जाने निर्णय : अर्थमन्त्री

रुपन्देही । नेकपा ओली पक्षका महासचिव तथा अर्थमन्त्री विष्णु पौडेलले विकासको गतिमा अगाडि बढेको सरकारलाई असफल बनाउनेगरी र देशलाई अस्तव्यस्त बनाउने चलखेल गरेकाले सरकारले ताजा जनादेशमा जाने निर्णय गरेको बताएका छन् ।

आफ्नै दलभित्रका नेताहरुको असहयोग भएका कारण प्रतिनिधिसभा विघटन भएको उनको भनाइ थियो ।

बुधबार बुटवलमा बेलहिया बुटवल सडकअन्तर्गतको राजमार्ग चौराह-चिडियाखोला सडक विस्तार आयोजनाको शुभारम्भ गर्दै अर्थमन्त्री पौडेलले जनताको चाहना, राष्ट्रको चाहनाविपरीत गतिविधि गर्नेलाई नेपाली जनताले सजाय दिने बताए ।

उनले भने, ‘आफ्नै दलभित्रैबाट अत्यन्तै अनपेक्षित गतिविधि भए, जुन अहिलेसम्म कल्पना गरिएको थिएन, प्रतिपक्षले समेत सरकारको काममा औंला ठडाउन नसकेको समयमा दलभित्रका साथीहरुको स्वार्थका कारण यस्तो समस्या आइलाग्यो ।’

निर्धारित समयमा चुनाव हुने बताउँदै अर्थमन्त्री पौडेलले त्यसको तयारीका लागि लाग्न सबैलाई आग्रह गरे । उनले भने, ‘चुनाव निर्धारित मितिमै हुन्छ तपाईंहरू तयारीमा लाग्नुहोस्, सरकार तयारीमा लागिसक्यो ।’ चुनावबाट भाग्ने अधिकार राजनीतिक दललाई नभएको पौडेलले बताए ।

सडक बिस्तार आयोजनालाई जतिसक्यो छिटो सम्पन्न गर्न निर्देशन दिदै उनले गुणस्तरमा ध्यान दिन आग्रह गरेका थिए । उनले विकासका काममा साझेदारी गर्न सबै राजनीतिक दललाई आग्रह गरेका छन् ।

कुल साढे ३ किलोमिटर सडकको ठेक्का द कन्चनजंगघा बिरुवा जेभीले पाएको छ । यो आयोजनाको ४७ करोड २७ लाख लागत लाग्ने आयोजना प्रमुख जयलाल मरासिनीले बताए । २०७९ बैशाख ३१ गतेसम्म निर्माण सम्पन्न गर्ने समय रहेकोमा सोभन्दा पहिले नै निर्माण सक्ने ठेकेदार सुविध श्रेष्ठले प्रतिवद्धता गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर