अख्तियारको छापापछि जनकपुर यातायातमा लाइसेन्सको परीक्षा स्थगित – Nepal Press
चालक अनुमतिपत्र वितरणमा लेनदेन

अख्तियारको छापापछि जनकपुर यातायातमा लाइसेन्सको परीक्षा स्थगित

जनकपुरधाम । सवारी चालक अनुमति पत्र वितरणमा रकम लेनदेन बढ्न थालेपछि जनकपुरस्थित यातायात व्यवस्था कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ ।

आयोगको टोलीले कार्यालय सहयोगी र एक बिचौलियालाई पक्राउ गरेपछि कार्यालयले लाइसेन्स परीक्षा स्थगित गरेको छ ।

कार्यालयका निमित्त प्रमुख विरेन्द्र साहले सूचना निकालेर ०७७ माघ १४ देखि १६ सम्म लिइने सम्पूर्ण लिखित तथा प्रयोगात्मक परीक्षाहरु स्थगित गरिएको जनाएका छन् । कार्यालयको कार्यव्यस्तताको कारणले अर्को सूचना प्रकाशित नहुन्जेल सम्मका लागि परीक्षा स्थगित गरिएको सूचनामा भनिएको छ ।

मंगलवार साँझ अख्तियार बर्दिबासको टोलीले कार्यालयमा छापा मारेर घुस रकमसहित कार्यालय सहयोगी भागेन्द्र कापर र बिचौलिया राजकिशोर भगतलाई पक्राउ गरेको थियो । अख्तियारका प्रवक्ता मनिराज ज्ञवालीका अनुसार कार्यालय सहयोगीलाई बिचौलियाबाट छैठौं तहका कर्मचारी तेजेन्द्र भनिने अनिल गिरीले घुस लिन भनेका थिए ।

कार्यालय सहयोगी २ लाख २३ हजार ८२० रुपैया र दलाल भगत ५० हजार रुपैयासहित पक्राउ परेपनि कर्मचारी गिरी फरार छन् । उनी बुधवार कार्यालयमा समेत उपस्थित भएका छैनन् । अख्तियारको टोली आएको सुइँको पाउनेवित्तिकै उनी भागेका थिए ।

अपरान्ह ४ बजे कार्यालय प्रवेश गरेको अख्तियार टोली राति १० बजे फर्केको थियो । घुस रकमसहित पक्राउ परेका कार्यालय सहयोगी र बिचौलियालाई अनुसन्धान तथा कारबाहीका लागि अख्यिारको हिरासतमा राखिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर