भयावह बन्दै आत्महत्या, दैनिक तीन जनाले ज्यान गुमाउँछन् – Nepal Press
प्रदेश १

भयावह बन्दै आत्महत्या, दैनिक तीन जनाले ज्यान गुमाउँछन्

विराटनगर । पछिल्लो समय प्रदेश– १ मा आत्महत्या गर्नेको दर बढेको तथ्यांक छ । प्रहरीका अनुसार पछिल्लो छ महिनामा ६७३ जनाले आत्महत्या गरेका छन् ।

आत्महत्या गर्नेमा ३ सय ८५ पुरुष, २ सय १० महिला, ४३ बालक र ३५ बालिका छन् । प्रदेश–१ मा सबै भन्दा बढी मोरङ जिल्लाका एक सय १८ जनाले आत्महत्या गरेका छन् । यसले औसतमा दैनिक तीन जनाले आत्महत्या गरेको देखाउँछ ।

प्रहरीको तथ्यांकअनुसार झापामा १०७, सुनसरीमा ९१, इलाममा ४४, उदयपुरमा ५२, ओखलढुंगामा ३३, खोटाङमा ३९, धनकुटामा २७, पाँचथरमा २७, सोलुखुम्बुमा ३५, भोजपुरमा ४, तेह्रथुम, ३१, संखुवासभामा २९ र ताप्लेजुङमा ३६ जनाले आत्महत्या गरेका छन् ।

प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक विपिन रेग्मीका अनुसार अघिल्ला वर्षको यो अवधिमा प्रदेशमा दैनिक एक–दुई जनाले मात्रै आत्महत्या गर्थे ।

प्रहरीले विवाहेत्तर सम्बन्ध, आर्थिक अभाव र पारिवारिक झगडा कारण आत्महत्याको दर बढेको निष्कर्ष निकालेको छ । त्यस्तै, कोरोनाका कारण भएको लकडाउनले पनि आत्महत्याको दर बढाएको प्रहरीको बुझाइ छ ।

१ सय ८२ दिनमा ७८ बालबालिका गरे आत्महत्या

प्रदेश १ मा १ सय ८२ दिनमा ७८ जना बालबालिकाले आत्महत्या गरेका छन् । जसमा ४३ बालक र ३५ बालिका छन् । मोरङमा ९ जना बालक र ४ जना बालिका गरी १३ जनाले आत्महत्या गरेका छन् ।

प्रहरीको तथ्यांकअनुसार ६२ जना बालबालिकाले आत्महत्या गरेका छन् । जसमा विष सेवान गरी आत्महत्या गर्ने बाटो रोज्नेको संख्या १६ छ । धेरैजसो बालबालिकाले सनकमा आत्महत्याको गरेको प्रहरीको बुझाइ छ ।
घरमा अभिभावकसँग सामान्य भनाभन भएकै कारण आत्महत्या गर्ने बालबालिका धेरै भएको रेग्मीको भनाइ छ ।

बालअधिकारको क्षेत्रमा कार्यरत गैरसरकारी संस्था फरेनका कार्यक्रम संयोजक नवराज निरौलाले अभिभावकबीचमा हुने बेमेलका कारण पनि बालबालिका पीडित भएको बताए । अभिभावकले बालमनोविज्ञान बुझ्न नसकेका कारण समस्या बढिरहेको उनको ठम्याइ छ ।

निरौलाले भने– समय परिवर्तनसँगै विद्यालय र अभिभावकले मरामर्श दिन आवश्यक छ । उनीहरुको मनस्थिति बुझेर व्यवहार गर्नु पर्दछ । यसले बालआत्महत्यालाई न्यूनीकरण गर्न सक्छ ।

कोरोना प्रकोपका कारण भएको लकडाउनको समयमा धेरैले आत्महत्या गरेको तथ्यांक छ । प्रदेश–१ मा असार १५ देखि भदौ १५ सम्म अर्थात् दुई महिनामा २ सय ८९ ले आत्महत्या गरेका छन्न् । गएको चैत ११ देखि असार १५ सम्मको अवधिमा प्रदेशभर ३ सय ८६ जनाले आत्महत्या गरेका थिए । पछिल्लो दुई महिनाको अवधिमा ६ सय ७५ ले आत्महत्य गरेको गरेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

गएको आर्थिक वर्षमा प्रदेशभर एक हजार दुई सय ३७ जनाले आत्महत्या गरेको प्रहरीको तथ्यांक छ ।

डिप्रेसन नै मुख्य कारण– चिकित्सक

कोरोना भाइरसको प्रभाव कम भएपनि त्यसपछिका दिनमा उत्पन्न समस्यालाई ठीक तबरले समाधान गर्न नसक्दा आत्महत्याको घटना बढेको चिकित्सकको भनाइ छ ।

कोशी अस्पतालका मानसिक रोग विषेशज्ञ डा. नितेशराज भण्डारीका अनुसार कोरोना र लकडाउनका कारण उत्पन्न समस्याले मानिसलाई निराश बनाएको छ । जसकारण मानसिक रोगीको सङ्ख्या पनि बढेको छ । मानसिक समस्या भएकाहरुले नै आत्महत्या गर्ने डा. भण्डारीको भनाइ छ ।

भण्डारी भन्छन्– आत्महत्या गर्ने अवस्थामा पुग्नुका पछाडि धेरै कारण भएपनि ९० प्रतिशत मानसिक रोग नै हो । कोरोना त्रास र लकडाउन अवधिमा मानसिक समस्या उत्पन्न भएर आत्महत्या रोज्नेको मात्रा बढेको हो ।
भण्डारीका अनुसार आत्महत्याका घटना रोक्न लक्षण पहिचान गरी समयमै उपचार तथा परामर्श गर्नुपर्दछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *