संरक्षक गुमाएपछि बिचल्ली परेका बालबालिकाको पीडा – Nepal Press

संरक्षक गुमाएपछि बिचल्ली परेका बालबालिकाको पीडा

धादिङ । मलिन अनुहार र मैलो देखिने एकसरो पातलो विद्यालय पोशाकमा हुन्छन् संधैभरी उनीहरू । साथीभाइसँग पनि धेरै बोल्दैनन्, पढाईमा भने ध्यान दिने गर्दछन् ।

माघको ठण्डीले कक्षा कोठामा चिसो महसुस गरिरहेका बालबालिका टिफिनको घण्टी बज्नासाथ कोठाबाट बाहिर निस्कन दौडधुप गर्दै थिए । सक्नेहरु दौडेर अरुलाई उछिन्दै आए, नसक्नेहरु बिस्तारै बाहिर निस्किए ।

चौरमा निस्किएपछि विद्यालय खाजा कार्यक्रममा सहभागी भए बिद्यार्थीहरु । लाइनमा पालो पर्खेर हातमा हलुवा राखेको प्लेट लिएर खाजा खाँदै थिए विद्यार्थी । यसरी खाजा खानेहरु कोही समूहमा थिए, कोही एक्लै एक्लै, त्यहि भिडमा दुईवटा समूह देखियो । पहिलो समूह ३ जनाको थियो, अलि पर दोश्रो समूह पाँच जनाको थियो ।

सोधिखोजी गर्दै जाँदा थाहा भयो ति दुवै समूहका बालबालिकाको बास्तविकता । ५ जना थिए आमा गुमाएर विचल्लीमा परेका र ३ जना बाबुआमा दुबै गुमाएर अभिभावक विहिन हुन पुगेका । कुनै फिल्मीकथा जस्तो लाग्ने उनिहरुको कथा व्यथा निकै पिडादायी र कारुणीक छ ।

दक्षिणी धादिङमा पर्ने बेनिघाटरोराङ गाउँपालिका वडा नम्बर ३ खानीगाउँ बरडाँडामा रहेको तिनकन्या वागेश्वरी आधारभुत विद्यालयमा पढिरहेका बालबालिका हुन् । राजमार्गको नजिकै रहेको यस बिद्यालमा गरिब, सिमान्तकृत बालबालिकाहरु पढ्दै आईरहेका छन् ।

एकसरो पातलो लुगामात्र लगाएका सिर्जन प्रजा ४ वर्षको भए । उनि अहिले इसिडिमा पढ्दैछन् । उनको बाबुले दुई वर्ष अघि घरमै झुण्डिएर आत्महत्या गरे । चितवनको लोथर मुलघर भएका चेपाङ थरका ति युवा ससुराली गाउँमै आएर घर वनाएर बसेका थिए । तरकारी खेती गरेर राम्रो कमाई गर्दै आईरहेका उनले कुनै दिन कोहीसँग झैझगडा गरेको, रिसईबी लिएको समेत थाहा नपाएका गाउँले उनको आत्महत्याले स्तव्ध भए ।

उनको मृत्युपछि राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणको सहयोगमा बनाउन थालेको नयाँ घर बनाउने काम रोकिन पुग्यो । केही महिना पछि वेनिघाटरोराङ गाउँपालिका माथिल्लो ओर्वाङका एक चेपाङ युवक घर वनाउने ज्यामी बनेर आएका थिए । तिनै युवाले तीन सन्तानकी आमालाई फकाएर मायाजालमा पार्न सफल भए । घर वनाउने काम नभ्याउँदै ज्यामीको श्रीमती बनेर वालबच्चालाई अलपत्र छाड्दै आमा हिंडेपछि तीन जना बालबालिकाको जिवनमा अध्याँरो छाएको हो ।

बाबुले अकालमा ज्यान फाले, आमाले अर्कैसंग घरजम गरिन् त्यसपछि ४ वर्षीय सिर्जन प्रजा, ६ वर्षीया आक्रेसी र ११ बर्षिया ११ वर्षीया आक्रोसी प्रजाको सहारा मावली घरका हजुरबुबा र हजुर आमा भएका छन् । बाबस आमा नभएपछि मामाघरका वृद्ध अवस्था भइसकेका हजुरबुबा हजुरआमाको संरक्षणमा रहेका चेपाङ बालबालिकाको अवस्था निकै दयनिय र कारुणीक छ ।

घरमा हुँदा हजुरबा, हजुरआमाले रेखदेख गरेपनि बिद्यालय आउँदा भाईबहिनीको अभिभावक ११ वर्षीया आक्रोसी हुन । कक्षा कोठामा बसेर पढिरहँदा पनि भाईबहिनीले कोही संग झैझगडा गर्छनकी, कक्षाबाट बाहिर निस्कँदा लडिपो हाल्छनी कि ? घाउचोट पो लाग्छ कि , कसैले पिट्ने पो हो कि भन्ने चिन्ता मनमा लागिरहने गरेको

‘विद्यालयमा गरिब विद्यार्थीहरु धेरै जना भएपनि यि चेपाङ बालबालिकाको अबस्था भने निकै कष्टकर रहेको छ । पढ्नमा भने उनीहरु अब्बल रहेको र विद्यालयको अनुशासित र उत्कृष्ठ विद्यार्थी रहेरपनि उनिहरुलाई सहयोग गर्न सकिएको छैन–विद्यालयका शिक्षक दुर्गा कार्कीले बताईन ।

कलिला बालबालिकालाई अभिभावक नभएको महसुस हुन नदिन मामाघरका हजुरबा, हजुरआमा, मामा माईजुले हरतरह कोशिष गरिरहेको भएपनि उनीहरुको पनि आफ्नै समस्या र वाध्यता भएकाले यि तिनै जनालाई उचित शिक्षालागि कसैले सहयोग गरिदिए राम्रो हुने शिक्षक कार्कीको आग्रह छ ।

सोही बिद्यालयको इसिडिमा पढ्ने ४ वर्षीय सानुकान्छा, ३ वर्षीया गंगा र जमुना कक्षा २ मा अध्यायन गर्ने दावा र कक्षा ३ मा पढ्ने गिता मगर मगर को आमाले पनि एक वर्षअघि झुण्डिएर आत्महत्या गरिन ।

पाँच सन्तानकी आमाले झुण्डिएर आत्महत्या गरेपनि ति बालवालिकाको संरक्षण, पालन पोषण गर्ने अभिभारा उनिहरुको बाबुको काँधमा एक्लै पर्‍यो । श्रीमतीको मृत्युपछि श्रीमान पियक्कड बन्न पुगे । ज्याला मजदुरी गरेर जिवन निर्वाह गरिरहेका ति युवाको पछिल्लो अवस्थाले पाँच सन्तान सहाराविहिन जस्तै बन्न बाध्य भएका छन् ।

चरम गरिबी झेलिरहेका उनीहरुको बाबु ज्याला मजदुरी गर्दछन । कहिलेकाँही मात्र घरमा खानेकुरा लिएर आउँछन । धेरै जसो घरमै आउँदैनन् । बुहारीले आत्महत्या गरेपछि छोरो पनि विक्षिप्त बनेर पियक्कड भएपनि उमेर ढल्किसकेका हजुरबुबा र हजुर आमाको काँधमा उनिहरुको स्याहार सुसार र पालनपोषणको जिम्मेवारी सरेको छ ।

आंफै पनि काम गर्न नसक्ने भईसकेका बुढा बा आमालाई नाति-नातिना पनि हुर्काउनुपर्ने भएपनि झनै समस्या थपिएको छ । घरमा खानेकुरा नभएको बेला उनिहरु धेरै जसोखाली पेट विद्यालय आउँछन, भोकै आएको दिन विद्यालयले खाजा खुवाउने समय कुरिरहेका हुन्छन् । खाजा तयारी भएको थाहापाउँदा उनिहरुको पछि न्याउरो अनुहारमा केही चमक देखिने बिद्यालयका एक शिक्षक बताउँछन् ।

आमाले आत्महत्या गरेपनि उनीहरुको बाबु छन तर खाना र लगाउन नै समस्या छ । मैलो र पुरानो कपडामा विद्यालयमा देखिएका उनिहरु गरिबीसंँग जुधेर भएपनि पढाइमा भने जुटेका छन् । विद्यालयले दिने खाजाका लागि नियमित विद्यालय आउने र पढाइमा समेत राम्रो भएका चेपाङ र मगर परिवारलाई केही सहयोग गर्न सके उनिहरुले प्रगति गर्न सक्ने विद्यालयका प्रधानाध्यापक जंगबहादुर लोहनीले बताए ।

चरम गरिवीले अभिभावकले आत्महत्या गरिदिंदा त्यस्को मारमा साना बालबालिका परेका हुन । एउटै टोलका ८ बालबालिकाको यो कारुणिक दृष्यले निकै पिडा दिने गरेको प्रधानाध्यापक लोहनीले बताए ।

संरक्षक नै गुमाएका बालबालिकाका लागि स्थानीय सरकार, शिक्षाका लागि काम गरिरहेका सहयोगीहरु र अन्य दाताहरुले उनिहरुको उद्धार गरि, आवासीय पठन पाठन गर्न सहयोग गरिदिए यि बालबालिकाले दुःख भोग्न नपर्ने उनको सुझाव छ ।

तिनकन्या वागेश्वरी आधारभुत विद्यालयमा ३० जना दलित, ७ जना चेपाङ, २९ जना जनजाती, अन्य समुदायका ३६ जना गरि १ सय २ जना बालबालिकाले अधययन गरिरहेको प्रधानाध्यापक लोहनीले बताए ।

केशव अधिकारी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

नेपाल अपडेट ट्रेन्डिङ