‘कोरोना खोप लगाइयो, अब त बाँचिएला नि !’ – Nepal Press

‘कोरोना खोप लगाइयो, अब त बाँचिएला नि !’

पोखरा । अन्नपूर्ण गाउँपालिका–२ की बालिका सुवेदी पेशाले स्वस्थ्य स्वयम् सेविका हुन् । कोरोना महामारी चरम अवस्थामा पुगेका बेला पनि उनी आफ्नो जिम्मेवारीमै व्यस्त हुनुपर्यो । कोरोना ‘फ्रन्टलाइनर’मध्येकी एक सुवेदी बुधबार भने खुसी देखिइन् ।

उनको खुसीको कारण थियो, कोभिशिल्ड खोप । सरकारले हालैमात्र भारतबाट झिकाएको कोरोनाविरुद्धको खोप पहिलो चरणमै लगाउन पाएपछि उनी खुसीसँगै निर्धक्क देखिएकी हुन् । खोप लगाइसकेपछि खुसी बाँडिन्, ‘पहिले अलि डर थियो । अहिले खोप पनि लगाइयो, बाँचिएला नि अब त !’

बुधबार सुवेदीजस्तै कास्कीका करिब १ हजार स्वास्थ्यकर्मीले कोरोनाविरुद्धको खोप पाउनेछन् । गण्डकी प्रदेशमा भने पहिलो खोप पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति बुद्धिबहादुर थापाले लगाएर सुरु गरे । उनले आफूमा कुनै ‘साइड इफेक्ट’ नदेखिएकाले सबैलाई ढुक्क भएर लगाउन आग्रह गरेका छन् ।

‘खोप लगाएको २ घन्टा भयो । सामान्य रुघाखोकी, टाउको दुख्ने भनिएको थियो । तर, केही भएको छैन,’ थापाले कोरोना खोप लगाइसकेपछि प्रतिक्रिया दिँदै भने, ‘९० प्रतिशत इफेक्टिभ भनिएको छ । यो भन्दा राम्रो खोप अहिले पाइँदैन । सबैले ढुक्क भएर लगाए हुन्छ ।’

उपकुलपति थापाले खोपले नकारात्मक असर पार्छ भन्ने कुरा भ्रम नराख्न आम जनतालाई आग्रह गरे । ‘महामारी सुरु भएको १ वर्ष भयो । खोप भर्खरै पत्ता लाग्यो । यति छिट्टै पाउनु भनेको हाम्रो लागि खुुसीको खबर हो । आम जनतामा नकारात्मक असर पर्छ भन्ने भ्रम छ, त्यो गलत हो,’ उनले भने । उनले अमेरिकाको भ्याक्सिन भने नेपालमा ल्याउन सक्ने वातावरण नरहेको बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सुरु गरेको पहिलो चरणको कोरोना खोप गण्डकी प्रदेशका १७ हजार जनाले लगाउने छन् । पहिलो चरणमा स्वास्थ्यकर्मी, शववाहन, एम्बुलेन्स चालक, शव व्यवस्थापक, सरसफाइकर्मीले आदिले लगाउनेछन् ।

गण्डकी प्रदेशको ११ वटै जिल्लाबाट सुरु भएको खोप कार्यक्रममा कास्कीका ४ वटा अस्पतालबाट खोप लगाउने कार्यक्रम भइरहेको गण्डकी स्वास्थ्य निर्देशनालयका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिए । कास्कीमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानसहित पोखराको गण्डकी मेडिकल कलेज, मणिपाल मेडिकल कलेज र संक्रामक तथा सरुवा रोग अस्पताल गरी ४ ठाउँमा पहिलो चरणको खोप कार्यक्रम सुरु भएको छ ।

‘आज कास्कीका निजी तथा सरकारी अस्पतालमा कार्यरत करिब १ हजार जना स्वास्थ्यकर्मीले खोप लगाउनुहुनेछ,’ डा शर्माले भने, ‘अबको १ महिनापछि फेरि उहाँहरुले दोस्रो पटकको खोप लगाउनुहुनेछ ।’ उनले अहिले खाप लगाएका स्वास्थ्यकर्मीले नै दोस्रो चरणमा समुदायमा खोप लगाउने भएकाले तयारी अवस्थामा राखेको बताए ।

डा शर्माले समुदायस्तरमै जाने गरी दोस्रो चरणको खोप कार्यक्रमको लागि पनि प्रदेश तयारी अवस्थामा रहेको जानकारी दिएका छन् । उनले खोप आएमा आफूहरु तत्काल समुदायस्तरमै जानेगरी जनशक्ति तयार पारिसकेको बताए । ‘अब अर्को भ्याक्सिन कहिले आउँछ भन्ने केन्द्र सरकारले भन्ने कुरा हो । प्रदेश तवरबाट हामी पूरा तयारी अवस्थामा छौं,’ उनले भने ।

गण्डकी प्रदेशमले ३९ हजार १ सय ३९ डोज कोभिशिल्ड प्राप्त गरेको थियो । ११ गते प्रदेशले प्राप्त गरेको खोप सोमबार साँझसम्म गण्डकीका ११ वटै जिल्लामा पठाइसकिएको आपूर्ति व्यवस्थापन केन्द्र, गण्डकीका निर्देशक खिमबहादुर खड्काले जानकारी दिए ।

खड्काले एक जना खोप कार्यकर्ताले एक दिनमा १ सय २५ जनासम्मलाई खोप लगाउन सक्ने जानकारी दिए । उनले भने, ‘कास्कीका ४ वटै ठाउँबाट एक दिनमा करिब २ सय ५० जनालाई खोप लगाउने लक्ष्य राखेका छौं । तर, पहिलो दिन भएर यो संख्या अलि कम पनि हुन सक्छ ।’

कोरोना खोपले नकारात्मक असर देखाउने जनतामा भ्रम फैलिएकाले सुरुमा स्वास्थ्यकर्मीले पनि नाम दिन नमानेको खड्काले बताए । ‘सुरुमा त लक्षित वर्गले पनि आफ्नो नाम दिन मानेका थिएनन् । तर, अहिले भने सबै स्वास्थ्यकर्मीले आफ्नो नाम टिपाउन थालेका छन्,’ उनले भने ।

भारतको सेरम इन्स्टिच्युट कम्पनीले उत्पादन गरेको कोभिशिल्ड खोप नेपालले अनुदानमा प्राप्त गरेको हो । बुधबारबाट सुरु भएको कोरोना खोप कार्यक्रमको पहिलो दिन देशभरिका करिब १२ हजार जनाले कोरोना खोप लगाउने स्वास्थ्यमन्त्रालयले जनाएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर