ओलीको नेतृत्वमा धेरै सदस्य समेट्ने पूर्वलडाकुको कसरत – Nepal Press

ओलीको नेतृत्वमा धेरै सदस्य समेट्ने पूर्वलडाकुको कसरत

तीन विकल्पबारे छलफल जारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँगको छलफलपछि नेपाल कम्युनिष्ट पार्टी(ओली पक्ष)मा समाहित हुन सहमत भएका पूर्वलडाकु पार्टीमा पाउने स्थानबारे आन्तरिक छलफलमा जुटेका छन् ।

१० माघमा प्रधानमन्त्री ओलीसँगको छलफलपछि तत्कालीन माओवादीका लडाकुहरुको संगठन पूर्वजनमुक्ति सेना र बहिर्गमित बाल सैनिकको संगठनले ओली नेतृत्वको नेकपामा समाहित हुने अनौपचारिक सहमति जनाएका थिए ।

प्रधानमन्त्रीसँगको छलफलपछि दुवै संगठनका नेतृत्वकर्ता ओली नेतृत्वको पार्टीमा आफूहरुले पाउने स्थानकबारे छलफलमा जुटेका हुन् । उनीहरुबीच कसलाई कुन तहका लागि सिफारिस गर्ने भन्नेबारे दुईपटक छलफल भइसकेको छ ।

प्रधानमन्त्रीसँग छलफल भएको भोलिपल्ट र सोमबार गरी दुईपटक उनीहरू आन्तरिक छलफलमा जुटेका हुन् ।

पूर्वलडाकुको संयोजन गर्ने जिम्मेवारी पाएका केन्द्रीय सदस्य लिलबहादुर थापाका अनुसार कम्तिमा पनि १०/१५ जनालाई केन्द्रीय कमिटीमा पार्ने गरी छलफल भइरहेको छ । र, त्यो लगभग टुंगिइसकेको उनको भनाइ छ ।

‘केन्द्रीय सदस्य कसलाई राख्ने, प्रदेशमा कसलाई राख्ने भन्ने विषय करिब–करिब टुंग्याएका छौं,’ नेपाल प्रेससँग थापाले भने, ‘मैले अधिकार पाएअनुसार त्यसलाई ‘सर्ट लिस्टिङ’ गरेर एक ठाउँमा जान्छ र अन्तिम निर्णय हुन्छ । त्यो निर्णय भएपछि केन्द्रीय सदस्यलाई अध्यक्ष एवम् प्रधानमन्त्री ओलीलाई शपथ ग्रहण गराउनुहुन्छ । सकेसम्म एकमुष्ट गराउनुहुन्छ ।’

ओली पक्षले केन्द्रीय कमिटीलाई विस्तार गर्दै महाधिवेशन आयोजक समितिका रुपमा १९ सय बनाउने निर्णय गरेको छ । त्यसमा करिब ४ सय सदस्य नियुक्त गर्न बाँकी नै छ । बाँकी स्थानमा पूर्व माओवादीबाट ओली पक्षमा लागेका रामबहादुृर थापा ‘बादल’, टोपबहादुर रायमाझी र पूर्वलडाकुका केहीलाई नियुक्त गर्ने ओली पक्षको तयारी छ ।

कम्तिमा एक हप्ताभित्र लडाकुहरूलाई केन्द्रीय कमिटीमा नियुक्त गरेर शपथ खुवाउने तयारी भइरहेको छ । बालुवाटारको तर्फबाट नेता सुवास नेम्वाङले नवआगन्तुकलाई भित्र्याउने कामको जिम्मेवारी पाएका छन् ।

माओवादीका पूर्व बालसैनिकको संयोजन भने लेनिन विष्टले गरिरहेका छन् । पूर्व लडाकुलक्षित केही कार्यक्रम सरकारबाट घोषित भइसकेको र थप ‘राजनीतिक सेटलेमेन्ट’को विषयलाई टुंग्याएपाछि पार्टी प्रवेशको टुंगो लाग्ने विष्टको भनाइ छ ।

‘लोकतान्त्रिक योद्धा घोषणा गर्ने भनिएको छ, त्यो राम्रैै भयो,’ विष्ट भन्छन्, ‘घाइतेको उपचार गर्ने भनेको छ । त्यो पनि राम्रै हो । अन्य केही राजनीतिक ‘सेटलमेन्ट’ गर्ने भनेको छ, त्यो पनि राम्रै छ । त्यो टुंगिएपछि प्रवेशबारे सोचिन्छ ।’

कार्यदलसँग पनि छलफल

पूर्वलडाकुले परराष्ट्रमन्त्रीको संयोजकत्वको कार्यदलसँग पनि छलफल गरेको छ ।

११ माघमा बसेको मन्त्रिपरिषद् बैठकले ‘लोकतन्त्रका योद्धा’को सम्मान एवं परिचयपत्रको व्यवस्था गर्न परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको थियो ।

कार्यदलले विगतका शान्तिपूर्ण र सशस्त्र आन्दोलन, जनसंघर्ष, विद्रोह र विभिन्न आन्दोलनमा जीवन उत्सर्ग गरी संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा महत्वपूर्ण योगदान गर्ने सहिद परिवार, घाइते, बेपत्ता, अंगभंग भएकाको सम्मान एवं परिचयपत्रको व्यवस्थाबारे अध्ययन गरी सिफारिस गर्ने क्षेत्राधिकार पाएको छ ।

कार्यदलसँग सोमबार भएको छलफलमा पूर्वलडाकुको व्यवस्थापनबारे छलफल भएको र सुझाव दिइएको थापाले जानकारी दिए ।  ‘हिजो प्रधानमन्त्री कार्यालयमा कार्यदलसँग छलफल भयो,’ थापा भन्छन्, ‘छलफलका क्रममा केही विज्ञप्ति निकाल्नुपर्छ भन्ने कुरा हामीले राख्यौं । व्यवस्थापनबारे सुझाव दिएका छौं ।’

पूर्वलडाकुले सोचेका तीन विकल्प

ओली नेतृत्वको नेकपाका समाहित हुँदा पूर्वमाओवादी लडाकुको व्यवस्थापन कसरी होला ? भन्नेमा धेरेको चासो छ ।

थापाका अनुसार आन्तरिक छलफलका क्रममा पूर्वलडाकुले आफूहरूको व्यवस्थापनबारे तीन विकल्प अघि सारेका छन् ।

पहिलो विकल्प– पार्टीकै विभिन्न कमिटीमा लडाकुलाई व्यवस्थापन गर्ने । लडाकुको क्षमता हेरेर तहगत जिम्मेवारी दिने ।

दोस्रो विकल्प– पार्टी भित्रै पूर्वसैनिक संगठन बनाउने । संगठन बनाएर सबै लडाकुलाई व्यवस्थापन पनि गर्न सकिने ।

र, तेस्रो विकल्प– अर्धसैनिक बलमा भर्ना गरेर निकुञ्ज, वन संक्षरणलगायतका काममा लागाउने ।

यी विकल्पमाथि छलफल जारी रहे पनि ओली पक्षले भने ठोस धारणा व्यक्त गरेको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर