१८ सय योगदानकर्ताले सामाजिक सुरक्षा सुविधा पाउँदै, समयमै रकम जम्मा गर्न कोषको आग्रह – Nepal Press

१८ सय योगदानकर्ताले सामाजिक सुरक्षा सुविधा पाउँदै, समयमै रकम जम्मा गर्न कोषको आग्रह

काठमाडौं । सामाजिक सुरक्षा कोषले नियमित र निर्धारित समयमा नै योगदान रकम जम्मा गर्न सम्पूर्ण रोजगारदातालाई आग्रह गरेको छ । सयममा नै योगदान रकम कोषमा जम्मा नभएका कारण योगदानकर्ता सुविधाबाट बन्चित हुने स्थिति आएको कोषका प्रवक्ता समेत रहेका उप–कार्यकारी निर्देशक विवेक पन्थीले नेपाल प्रेससँग बताए । उनका अनुसार त्यसको जिम्मेवारी स्वयं रोजगारदाता नै हुनुपर्ने छ ।

योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ को दफा ४ को उपदफा ४ मा हरेक महिना समाप्त भएको १५ दिनभित्र योगदान रकम जम्मा नगरेमा ऐनबमोजिमका सामाजिक सुरक्षा सुविधा प्राप्त नगर्ने व्यवस्था ऐनको दफा ३ मा उल्लेख छ ।

२०७५ कात्तिक २६ बाट सूचीकरण सुरु भइ औपचारिक रुपमा २०७६ साउन १ गतेबाट योगदान रकम संकलन सुरु भएको सामाजिक सुरक्षा कोषमा अहिलेसम्म १३ हजार १ सय ४० रोजगारदाता र १ लाख ८७ हजार १ सय ७ श्रमिक सूचिकृत भइसकेका छन् । अहिलेसम्म ८३ हजार ७ सय ६४ योगदानकर्ताले नियमित रुपमा योगदान रकम जम्मा गरिरहेका कोषले जनाएको छ ।

योगदानकर्ताबाट ३ अर्ब ८१ करोड ८२ लाख ७० हजार १ सय ३१ रुपैयाँ योगदान संकलन भइसकेको छ । कोषले सञ्चालन गरेका विभिन्न सुविधा योजना अन्तरगत १ हजार ७ सय ८६ योगदानकर्ता र तिनका आश्रित परिवारका सदस्यलाई करिव ३ करोड ९ लाख रकम दावी भुक्तानीसमेत भइसकेको छ ।

जसमा सबैभन्दा बढी १ हजार ४ सय योगदानकर्ताले औषधि उपचार, स्वास्थ्य तथा मातृत्व दावी भुक्तानी, २ सय ३३ योगदानकर्ताले आश्रित परिवार सुरक्षा दावी भुक्तानी, ८७ योगदानकर्ताले दुर्घटना तथा अशक्तता सुरक्षा दावी भुक्तानी र ६६ योगदानकर्ताले उपदान दावी भुक्तानी लिइसकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर