डेढ महिनादेखि गाउँपालिका ठप्प, जनप्रतिनिधिको हानथापले गाउँसभा अनिश्चित – Nepal Press
स्थानीय तहमा बेथिति

डेढ महिनादेखि गाउँपालिका ठप्प, जनप्रतिनिधिको हानथापले गाउँसभा अनिश्चित

कर्मचारीले तलब पाएनन्, विकास निर्माण शून्य

जनकपुरधाम । जनप्रतिनिधिहरूको प्रतिष्ठाको लडाइँले धनुषाको धनौजी गाउँपालिका डेढ महिनादेखि ठप्प छ । चालु आर्थिक वर्षको करिब ६ महिना बित्न लाग्दा कुनै पनि विकास निर्माणको काम शुरू हुन सकेका छैन । तलब नपाएपछि कर्मचारीहरु कार्यालय आउनै छाडेका छन् ।

प्रमुख प्रशासकीय अधिकृत कन्हैयाकुमार मिश्रले आर्थिक वर्ष २०७७/७८ को शुरूदेखि नै तलब नपाएपछि कार्यालय जान छाडेको बताए । उनले भने, ‘करिब ४०/४५ दिनदेखि अत्यावश्यक बाहेक सबै काम ठप्प छ । कुनै पनि कर्मचारी कार्यालय आउन मानेका छैनन् ।’ तलब निकासा नभएसम्म कार्यालय ठप्प रहने उनको भनाइ छ ।

अधिकृत मिश्रले कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) ले तलब निकासा नदिएको बताए । ‘कोलेनिकाले तलब रोकेको छ’, उनले भने, ‘बहुमत जनप्रतिनिधिले तलब रोक्न निवेदन दिएको कुरा कोष प्रमुखले भन्नुभएको छ ।’ गाउँसभा नभएसम्म तलब निकासा नदिन बहुमत जनप्रतिनिधिले कोलेनिकामा निवेदन दिएको मिश्रले जानकारी दिए ।

‘५औं गाउँसभा सम्पन्न भइसकेको छ’, उनले भने, ‘तर त्यो गाउँसभामा सबै नीति तथा कार्यक्रम पेश नभएपछि स्वीकृत हुन सकेन । त्यसैले ६ औं गाउँसभा गर्नुपर्छ । जनप्रतिनिधिबीचको विवादका कारण सहमति बनेको छैन ।’ छैटौं गाउँसभा नहुँदा गाउँपालिकाको सबै कामकाज प्रभावित भएको उनले बताए ।

स्रोतका अनुसार जनप्रतिनिधिबीच आ-आफ्नो क्षेत्रमा धेरै बजेट लैजाने होडबाजीका कारण गाउँपालिकामा विवाद बढेको हो । ‘मेयरले आफ्नो पक्षको वडाध्यक्षलाई प्राथमिकता दिनेगरेको भन्दै एक-अर्कामा नै विवाद छ’, स्रोतले भन्यो

शिक्षक र स्वास्थ्यकर्मी पनि आन्दोलित

तलब नपाएपछि शिक्षक र स्वास्थ्यकर्मी पनि आन्दोलित बनेका छन् । आर्थिक वर्ष २०७७/७८ शुरू भएदेखि तलब नपाएको धनौजी गाउँपालिका ४ स्थित राप्राविका प्रधानाध्यापक अनिलकुमार साहले बताए । उनले भने, ‘महिनौ दिनदेखि आन्दोलन जारी राखेका छौं । तर तलब पाएका छैन ।’

गाउँसभा नभएको बहाना बनाएर तलबबाट वञ्चित गरेको प्रधानाध्यापक साहले बताए । मंगलवार कोष तथा लेखा नियन्त्रक कार्यालय जनकपुर आइपुगेका उनले भने, ‘यहाँको हाकिम साहेवले केही जनप्रतिनिधिले तलब निकासा नगर्न निवेदन दिएको भन्नुभयो ।’

अधिकृत मिश्रले ५ औं गाउँसभा सम्पन्न भइसकेको दाबी गरेपनि बहुमत जनप्रतिनिधि ५ औं गाउँसभा गर्नुपर्ने माग गरेको र गाउँसभा नभएसम्म तलब निकासा नगर्न कोलेनिकामा निवेदन दिएको प्रधानाध्यापक साहले बताए । तलबका लागि गाउँपालिका प्रमुखले पटक-पटक आश्वासन दिएपनि नपाएकाले परिवार चलाउन गार्‍हो भएको उनको गुनासो छ ।

गाउँपालिकामा ६ आधारभूत र २ मावि गरी ८ सामुदायिक विद्यालय छन् । कोरोना महामारीका कारण गत चैत दोस्रो सातादेखि बन्द भएका यहाँका विद्यालयहरू अझै संचालन भएको छैन । गाउँपालिका ठप्प भएपछि विद्यालय सञ्चालनबारे निर्णय नभएको बताइएको छ ।

विद्यालयमा गत आर्थिक वर्षको पाठ्यपुस्तक, छात्रवृत्ति, एसआईपी, मसलन्द, बुक कर्नर, लेखा परीक्षणलगायतका शीर्षकका बजेटसमेत निकासा हुन नसकेको शिक्षकहरु बताउँछन् । उधारो पाठ्यपुस्तक खरिद गरेर विद्यार्थीहरुलाई उपलब्ध गराएको प्रधानाध्यापक साहले बताए ।

गाउँपालिकामा ४ स्वास्थ्य चौकी र एक सामुदायिक क्लिनिक छन् । यी स्वास्थ्य संस्थामा कार्यरत ६५ स्वास्थ्यकर्मीले पनि तलब नपाएको गुनासो गरेका छन् । सि.अहेब उमेर साहले जनप्रतिनिधिको लापरबाहीले स्वास्थ्य संस्था लथालिङ्ग बनेको बताए ।

गाउँपालिका प्रमुख नै उदासीन

गाउँपालिका कार्यालय डेढ महिनादेखि ठप्प रहेपनि समाधानतर्फ उदासीन रहेको भन्दै प्रमुख बद्रीनारायण सिंह आलोचना बढेको छ । कुनै मतलव छैन । गाउँसभा नहुँदा कर्मचारीहरू तलबविहीन भएको स्वीकार्दै सिंहले गाउँसभा गर्ने सहमति बनिसकेको बताए । तर मितिबारे केही बोलेनन् ।

गाउँपालिकाकी उपप्रमुख रामवती मण्डल गाउँसभा नहुनुमा सबै जतप्रतिनिधिको गल्ती देखाउँन नहुने बताउँछिन् ।

‘गाउँसभा अब कहिले गर्ने कुरा गाउँपालिका प्रमुखलाई नै थाहा होला,’ उनले नेपालप्रेससँग भनिन्, ‘विवाद किन भएको कुरा मलाई थाहा छैन । तर सबै आ-आफ्नै अडानमा छन् । गाउँपालिका प्रमुखलाई पनि कुनै मतलब छैन । अनि कसरी सहमति बन्छ ।’

कर्मचारी नआएपछि कुनै काम हुँदैन, त्यसैले आफू पनि कार्यालय जान छाडेको छु- उनले सुनाइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर