३६ दिन लामो बैठकपछि संसद पुनःस्थापनाको पक्षमा कांग्रेसको कित्ता ‘क्लियर’ – Nepal Press

३६ दिन लामो बैठकपछि संसद पुनःस्थापनाको पक्षमा कांग्रेसको कित्ता ‘क्लियर’

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलित रहने र ‘संसद पुनःस्थापना’को एजेण्डामा सकरात्मक रहँदै नेपाली कांग्रेस केन्द्रीय समितिको ३६ दिन लामो बैठक सकिएको छ ।

पुस ७ गते सुरु भएको कांग्रेस केन्द्रीय समितिको मंगलबार सम्पन्न बैठकले प्रतिनिधिसभा विघटनविरुद्ध तेस्रो चरणको आन्दोलन घोषणा समेत गरेको छ ।

कांग्रेसभित्र प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन चर्काउने र संसद पुनःस्थापनाको एजेण्डाको अगुवाई गर्ने विषयमा भिन्न मत रहँदै आएको थियो । बैठक सकिदासम्म पार्टीको एजेण्डाका विषय देखिएको अन्यौल हटेको नेताहरुले दावी गरेका छन् ।

‘कांग्रेस हिजो पनि प्रतिनिधिसभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध आन्दोलित थियो, आज पनि छ र भोली पनि रहनेछ । संसद विघटनविरुद्ध आन्दोलनलाई प्रभावकारी बनाउने विषयमा पार्टीभित्र भिन्न मत छैन’, बैठकपछि प्रवक्ता विश्वप्रकाश शर्माले पत्रकारहरुसंग भने ।

प्रतिनिधिसभा विघटनसंगै प्रधानमन्त्रीका पछिल्ला अभिव्यक्ति समेत लोकतन्त्र र विधिको शासन विपरीतको रहेकोले सरकारविरुद्ध देशको हरेक कुरामा आन्दोलन पुर्‍याउन कांग्रेस तयार रहेको शर्माले बताए ।

मंगलबार कांग्रेस केन्द्रीय समितिको बैठक सुरु हुन केही ढिलाई भयो । सभापति शेरबहादुर देउवा बैठकबाट लिने निर्णयका विषयमा साझा धारणा बनाएर मात्रै बैठक सुरु गर्न चाहन्थे । बैठकअघि देउवाले आफ्ना निकटस्थसंग छलफल गरे भने वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष छुट्टै छलफलमा जुट्यो । दुवै पक्षको छलफलपछि सभापति देउवाको चेम्बरमा भएको छलफलमा आन्दोलनका कार्यक्रम निरन्तर राख्ने र महाधिवेशनको तयारीलाई पनि तीव्रता दिने सहमति बन्यो ।

सहमतिपछि सुरु भएको केन्द्रीय समितिको बैठकको प्रारम्भमै सभापति देउवाले पार्टीको बैठकबाट लिनुपर्ने निर्णयहरु प्रस्तुत गर्न महामन्त्री पूर्णबहादुर खड्कालाई समय दिए । खड्काले माघ १९ , २४ र ३० गते संसद विघटनविरुद्ध प्रदर्शन गर्ने, म्याद सकिएका भ्रातृसंस्थाहरुको म्याद थप्ने, समायोजनसम्बन्धि विवाद मिलाउने जिम्मा पुनः निर्वाचन समितिलाई नै दिने लगायतका प्रस्ताव पेश गरे । ती सबै प्रस्ताव केन्द्रीय समितिले सर्वसहमत रुपमा पारित गर्‍यो ।

बैठकमा सभापति देउवाले राजनीतिक विषयका खास धारणा राखेनन् । वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति देउवासंग समय मागेर राजनीतिक विषयमा पार्टीले लिनुपर्ने नीतिबारे धारणा राखेका थिए । सो क्रममा पौडेलले ‘मोही माग्ने ढुंग्रो लुकाउने’ काम गर्न नहुने भन्दै संसद विघटन असंवैधानिक भएकोले संसद पुनःस्थापना नै पार्टीको एजेण्डा रहेको बताए । ‘हामीहरुले संसद विघटन असंवैधानिक र अलोकतान्त्रिक हो भनिसकेका छौं । जनता र कार्यकर्तालाई हामीले अलमलमा राख्नु हुँदैन । असंवैधानिक कदम सच्याउने भनेकै संसद पुनःस्थापना हो । मैले पहिले पनि यही कुरा भनेको छु अहिलेपनि यही भन्छु , संसद पुनःस्थापना नै कांग्रेसको एजेण्डा हो ।’, बैठकमा पौडेलले भने । पौडेलको भनाई सकिएपछि सभापति देउवाले बैठक सम्पन्न भएको घोषणा गरे ।

बैठकपछि प्रतिक्रिया दिदैं वरिष्ठ नेता पौडेलले संसद पुनः स्थापनाको एजेण्डामा केन्द्रीय समितिले समर्थन जनाएको बताए । ‘मैले संसद पुनःस्थापना नै कांग्रेसको एजेण्डा हो भने । त्यसमा सबै साथीहरुको मौन समर्थन रह्यो ।’, पौडेलले नेपाल प्रेससंग भने ।

कांग्रेस केन्द्रीय सदस्य गगन थापाले पनि संसद पुनःस्थापनाबारे पार्टीमा विवाद नरहेको बताए । ‘असंवैधानिक कदम भनेर हामीले भनिसकेका छौं । त्यसैले असंवैधानिक कदमलाई सच्याउनुपर्छ । सच्याउने भनेकै संसद पुनःस्थापना हो ।’, थापाले पत्रकारहरुसंग भने ।

भ्रातृसंस्थालाई आन्दोलन गराउन म्याद थप

कांग्रेस केन्द्रीय समितिको बैठकले म्याद सकिएका पार्टीका भ्रातृसंस्थाहरुको म्याद ६ महिनाका लागि थप गरेको छ । नेपाल विद्यार्थी संघ , नेपाल तरुण दल, नेपाल महिला संघसहित ११ वटा भ्रातृ संस्थाको म्याद ६ महिना थप गरिएको हो । पार्टीले आन्दोलन घोषणा गरेपनि महाधिवेशन गर्न नसकेका भ्रातृसंस्थाहरु आन्दोलन अगावै अवैधानिक हुने भएपछि कांग्रेसले पहिला म्याद थपेर आन्दोलनको कार्यादेश दिएको हो । कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध माघ १९ गते देशव्यापी प्रदर्शन गर्न भ्रातृसंस्थाहरुलाई जिम्मेवारी दिएको छ । त्यस्तै कांग्रेसका शुभेच्छुक संस्थाहरुले माघ २४ गते प्रदर्शन गर्नेछन् भने जिल्ला समितिको आयोजनामा माघ ३० मा देशव्यापी प्रदर्शन हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर